शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

लागू औषध नेपालमा गम्भीर समस्याका रुपमा देखा पर्‍यो : गृह मन्त्रालय

बुधबार, २३ चैत २०७८, १७ : ४३
बुधबार, २३ चैत २०७८

गृह मन्त्रालयले लागू औषध नेपालमा गम्भीर समस्याको रुपमा देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताएका हुन् ।

उनले लागू औषधका कारण विभिन्न अपराधिक घटनाहरु भइरहेको र त्यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न कार्ययोजना बनाइरहेको पनि बताए । गृहसचिव पाण्डेले लागू औषधका कारण अवैध कारोबारमा प्रोत्साहन भइरहेको र युवा जनशक्तिको सिर्जनशीलतामा पनि असर पारिरहेको बताए । लागू औषधकै कारण अपराधिक घटनाहरु पनि बढ्दै गएको र राष्ट्रिय सुरक्षामा नै चुनौति सिर्जना भएको उनले बताए । उनले यसलाई नियन्त्रण गर्नका लागि सरकारले तीनै तहका सरकारी र गैर सरकारी क्षेत्रमा दीर्घकालीन सोच, नीति, कार्यक्रम क्रियाकलाप र बजेट तर्जुमा गर्नु पर्ने पनि बताए ।

यस्तै गृहमन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागू औषधका प्रयोगकर्ता रहेको बताए । उनले उक्त प्रयोगकर्तामध्ये महिलाको संख्या ८ हजार ३७१ रहेको बताए । त्यस्तै नेपालको कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये कार्तिक २०७८ सम्मको तथ्यांकअनुसार २१ प्रतिशत कारागारका कैदीबन्दीहरु लागू औषधकै मुद्धामा रहेको बताए ।

उपसचिव उपाध्यायले नेपालमा लागू औषध कारोबारमा २०७७÷०७८ मा ४ हजार ६२६ जना पक्राउ परेकाहरुमा ३ हजार १३ जनालाई मुद्धा चलाइएको र त्यसमध्ये १४७ जना विदेशी नागरिकहरु रहेको बताए । सो अवसरमा लागु औषध कारोबार हुने मुख्य ५ जिल्लामा काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा रहेको पनि जानकारी गराइएको थियो । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप