बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

हुम्लाका नागरिकलाई घरपुग्न सकस, टिकट भाडा २१ हजार

बुधबार, २३ चैत २०७८, १६ : ३४
बुधबार, २३ चैत २०७८

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् । हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन् ।

हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या भएको छ । उडान प्रभावित हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान तथा जिल्ला पुग्न थप समस्या भएको हो । सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका हुन् ।

नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको उनीहरुको दाबी छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भएपनि त्यसलाई उल्लङ्घन गरी उडान ठप्प गरेको बताइएको छ ।

निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि हुम्लामा उडान हुन नपाएको  बताइएको छ । हुम्लीहरूले अहिले नेपालगञ्ज–सुर्खेतमा रहेका होटलहरुमा चर्को भाडा तिरेर टिकटका लागि भौँतारिरहेका छन् । कहिले महँगो भाडा तथा कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नौलो होइन । यहाँको बिरामीलाई समेत उपचार गर्न जिल्लाबाहिर जानसमेत समस्या भएको छ । हुम्लामा उडान नहुँदा सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै हुम्ली नागरिकले आक्रोश व्यक्त गरेका छन् । 

     नेपालगञ्ज–हुम्लाको २१ हजार भाडा

सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम, नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि २१ हजार ५०० यात्रुबाट हवाई भाडा लिएको छ । सहुलियत उडान कम गरिरहेको नेपाल एअरलाइन्सले हुम्लाका लागि चाटर उडान भर्दै एकजना यात्रुबाट १६ हजारदेखि २१ हजार ५०० टिकट भाडा लिने गरेको यात्रुको भनाइ छ । नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि सहुलियतमा पाँच हजार ६०० लिँदै आएको भए पनि पछिल्ला केही दिनयता अन्य निजी एअरलाइन्सले उडान नगर्दा चार्टर्ड उडान भर्दै चर्को टिकट भाडा लिने गरेको हो । 

नेपालगञ्जदेखि अन्य निजी एअरलाइन्सले चार्टर्ड उडान भर्दा ११ हजार ६०० सम्म भाडा लिने गरेका थिए । तर नेपाल एअरलाइन्सले एक्कासि भाडादर बढाउँदा हुम्लाका नागरिक मारमा परेका छन् । यसरी चर्को टिकट भाडाले गर्दा गरिब, निमुखालाई थप समस्या बनाएको छ । राज्यले हुम्लालाई वास्ता नगरेको भन्दै यहाँका नागरिकले आक्रोश व्यक्त गरेका छन् । 

    नेपालगञ्जमा यात्रु अलपत्र

कर्णाली प्रदेश सरकारमा हुम्ला जिल्लाबाट प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्री पद जिल्लाले पाएको छ । तर महिनौँदेखि नेपालगञ्जमा यात्रुले टिकट नपाए अलपत्र पर्दासम्म प्रदेश सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री र मन्त्रीले वास्ता नगरेको भन्दै हुम्लाका नागरिकले गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट हुम्लाका लागि नियमित उडान गराउन प्रदेश सरकारले कुनै चासो देखाएको छैन । 

निजी एअरलाइन्स पर्यटक ओसार्न लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीयवासीको गुनासो छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एकवटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लङ्घन गरी उडान ठप्प गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप