शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किन निराश भए गिद्धहरू ?

बुधबार, २३ चैत २०७८, १५ : २२
बुधबार, २३ चैत २०७८

कथा निकै पुरानो हो । कुनै जङ्गलमा एउटा अजङ्गको सिंह बस्थ्यो । ऊ शरीरिकरूपमा जति ठूलो थियो घमण्डी र अहङ्कारी पनि त्यति नै थियो । सिंहहरू यसै पनि बलिया र अहङ्कारी हुन्छन् । यसैका आधारमा उनीहरूका जीवन चलेका हुन्छन्, चलाएका हुन्छन् । त्यसमा पनि ऊ बढी नै बलियो र अहङकारी थियो । ऊ आफूबाहेक कसैलाई गन्दैनथ्यो, सबैले आफ्नो अधिनमा बस्नुपर्छ भन्ने उसको मान्यता थियो ।

एकदिन बिहान ऊ सिङ्गै मृग खाएर सुतेको थियो । दिउसोतिर जोरले तिर्खा लागेकाले जलाशय खोज्दै जङ्गलबाट बाहिर निस्क्यो । खोज्दै जाँदा सोही झङ्गलको केही पर छेउमा एउटा ठूलोे तलाउ देख्यो र त्यतै लाग्यो ।

सोही वनको अर्को कुनामा बँदेल बस्थ्यो । ऊ पनि त्यत्तिकै बलियो र अहङ्कारी थियो । उसले पनि आफू समानको बलियो र पराक्रमी अरू कोही छैनन् भन्ने ठानेको थियो । त्यो जङ्गलमा जो भए पनि सबैले आफ्नो अधिनमा बस्नुपर्छ भन्ने उसको मान्यता थियो । सोही दिन त्यति नै बेला उसलाई पनि जोरले तिर्खा लागेकाले पानी खोज्दै सोही तलाउमा पुग्यो ।

उनीहरूले दुवैले एक अर्कोलाई मन पराएनन् । दुवै एक अर्कोलाई देखेर गुर्राए । उनीहरू दुवैले जङ्गल जस्तै तलाउ पनि आफ्नै पेवा ठानेका थिए । यद्यपि जङ्गल सबै प्राणीका लागि थियो । जङ्गली प्राणीका निम्ति त बासस्थान नै थियो भने सामाजिक प्राणीका निम्ति पनि जीवनका आधार बनेर बसेको थियो । यसैका लागि नै भगवान्ले जङ्गल बनाएका हुन् । तलाउ र तलाउको पानी पनि त्यस्तै हो । तलाउ सबैका निम्ति नै थियो, धर्ती माताले सबैका निम्ति तलाउमा पानी भरिथिएकी थिइन् तर उनीहरू भने घमण्ड र अहङकारका कारण आफ्नै ठानिरहेका थिए ।

आफ्नो ठानेको तलाउमा अर्को पनि आएको दुवैले मन नपर्नु स्वभाविकै थियो । दुवै तत्कालै एक अर्कोमाथि जाइलाग्न चाहन्थे तर के गर्ने दुवै प्यासा थिए, दुवैलाई तत्काल पानीको आवश्यकता थियो । त्यसैले पहिले पानी खाएर प्यास मेटी जाइलागौँला भन्ने बिचार गरी दुवैले भरपेट पानी खाए र एकले अर्कोलाई हाँक दिन थाले । 

हाँक दिन मात्र बेर थियो, लड्न किन बेर लाग्थ्यो र । दुवै एकअर्कोलाई जित्ने उद्देश्यले लड्न लागे तर दुवै उत्तिकै बलिया थिए, हार जित कसैको पनि भएन । हार जित हुन एउटा बलियो र अर्को कमजोर हुनुपर्छ । दुवै उस्तै भएपछि कसले हार्ने, कसले जित्ने ? यहाँ पनि यस्तै भएको थियो । फलतः आपसमा सेखासेख गरी लामो समयसम्म लडी नै रहे । यो कुरा त्यतैकतै जङ्गली रुखमा बस्ने गिद्धहरूले थाहा पाएछन् र कति बेला कसको मृत्यु हुन्छ र खान पाइएला भनेर त्यतैतिरका आकाशमा आएर घुम्न लागे । बिस्तारै गिद्धहरूको सङ्ख्या बढ्दै गयो र घामको छाया नै छेक्न सक्ने फौज तयार भयो ।

टाउकोमाथि घामको छायाँ पर्नासाथ अर्को कोही आक्रमण गर्न आएको हुनुपर्छ भन्ने आशङ्कामा एकछिन लड्न छाडेर सिंहले आकाशतिर हे¥यो, जहाँ गिद्धका बथान ठेलमठेल गरी उडिरहेका थिए । गिद्धको बथान देखेपछि सिंहलाई वास्तविकता बोध गर्न बेर लागेन र प्रतिद्वन्दी बँदेललाई सम्बोधन गर्दै भन्यो–

‘मित्र ! लाग्छ अब हामीले लड्न  छाडी सन्धी गरेर मित्रताको हात बढाउनुपर्छ ।’

सिंहको कुरा बँदेललाई मन परेन । उसले होच्याउँदै भन्यो–

‘किन ? बल्ल अहिले आएर हारिन्छ भन्ने डर लाग्यो ?’

‘होइन मित्र ! त्यसो होइन ।’

‘त्यसो नभए कसो हो त ?’

‘यही कि राम्रो सङ्केत देखिएको छैन । हाम्रो युद्धले अरू नै कसैलाई फाइदा होला जस्तो देखिँदै छ ।’

‘कसरी हुन्छ त्यस्तो ? लड्ने हामी फाइदा अर्कोलाई ? यो तिम्रो बाहना हो, अहँ म मान्दिन ।’

‘बाहना होइन मित्र ! कुरा बुझ्ने प्रयास गर ।’

‘बाहाना नभए के हो त ?’

‘यही कि फाइदा लिन अरू नै आइसकेका छन् ।’

‘त्यही त भनेको त्यस्तो कसरी हुन्छ ? हामी दुई लड्दै छौँ भने फाइदा पनि हामीलाई नै हुने हो नि । कि तिमीलाई हुन्छ कि मलाई । मैले हारे तिमीलाई हुन्छ, तिमीले हारे मलाई हुन्छ ।’

त्यसपछि सिंहले खुइय गर्दै भन्यो–

‘माथि आकाशतिर हेरेका छौ ?’

‘अहँ छैन, किन र ?’

‘एकपटक माथितिर त हेर, आफैँ थाहा पाउने छौ ।’

त्यसपछि बँदेलले पनि आकाशतिर हे¥यो । टाउको माथि गिद्धहरू घुमिरहेका देखेपछि उसको पनि होस ठेगानमा आयो र दुवैले मित्रता गरी आइन्दा कहिल्यै झगडा नगर्ने कसम खाए । विचरा गिद्धहरू हेरेका हे¥यै भए । उनीहरूका निम्ति निराश भएर फर्कनुको विकल्पै थिएन ।

धेरै पहिलेदेखि पढिँदै र सुनिँदै आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर जहाँ पनि झगडा, युद्ध, मारकाटको नतीजा भने यस्तै हुन्छ । युद्ध हुन्छ कुनै दुई पक्षका बीचमा फाइदा लिन भने अरू नै कुनै तेस्रो पक्ष आइरहेका हुन्छन् । यसै पनि युद्धमा एउटा पक्षको हार हुन्छ । संसारका कुनै पनि युद्धमा दुवै पक्ष विजय भएको उदाहरण कतै छैन । हार भएपछि हार्ने पक्षको त यसै पनि नोक्सान भएकै हुन्छ । जित्ने पक्ष पनि आर्थिक र भौतिक दृष्टिले जरजर भइसकेको हुन्छ । यति बेला लाभ लिने काम तिनैले गर्छन्, जो नजिक बसेर रमिता हेरिरहेका हुन्छन् ।

दुवै पक्षको जित हुने भनेको शान्ति र मैत्री सन्धीमा नै हो, युद्धमा होइन । त्यसैलै आपसमा आपसमा लडेर अरूलार्ई फाइदा पु¥याउनुभन्दा सन्धी गरी मित्रताको हात बढाउनु नै बुद्धिमानी काम हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप