शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नेकपा एमालेसँग चुनावी तालमेल गर्ने परिवार दलको तयारी

बुधबार, २३ चैत २०७८, १३ : ०३
बुधबार, २३ चैत २०७८

नेपाल परिवार दलले आगामी तीनै तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । २०७४ सालको निर्वाचनमा पनि ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनावी सहकार्य गरेको थियो । 

पार्टी अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।  

‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौँ,’ अध्यक्ष ढकालले भने, ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ ।’ ७६ जिल्लाको निर्वाचन कार्यालयमा दर्ता रहेको उक्त दलले ५२ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ । 

तर एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दाबी नगर्ने नीति पार्टीले लिएको अध्यक्ष ढकालले बताए । परिवारले सातदेखि दशवटा पालिकामा आफ्नो दाबी गर्ने तयारी गरेको छ । ढकालका अनुसार कुन कुन पालिकामा दाबी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै अध्यक्ष ढकालले उक्त पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए । कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्ने विषयमा परिवार दलले वरिष्ठ उपाध्यक्ष विनोद डाँगीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिलाई मुलुकभर पार्टीको अवस्था र प्रभाव क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइएको छ । उक्त समितिले रिपोर्ट दिएपछि परिवार दलले दाबी गर्ने पालिकाको टुङ्गो लाग्ने अध्यक्ष ढकालले जानकारी दिए । 

एमाले उपाध्यक्ष पौडेलसँग कसरी तालमेल गर्ने मोडालिटीसहित फेरि छलफल गर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने परिवार दलले जनाएको छ । परिवार दलले महानगर र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले तोक्ने र बाँकी स्थानीय तहको उम्मेदवार चयन जिल्लाले गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप