आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

घिमिरेलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

बुधबार, २३ चैत २०७८, १२ : ०८
बुधबार, २३ चैत २०७८

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले साहित्यिक पत्रकार रोचक घिमिरेलाई सम्मान गरेको छ । राजधानीको पेन्सन वासना होटल डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नगेन्द्रराज शर्माले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार राशिसहित घिमिरेलाई सम्मान गरेका थिए । 

कार्यक्रममा मन्तव्य राख्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यिक पत्रकारिता जगत्का रोचक घिमिरे र नगेन्द्रराज शर्मा आदरणीय र अनुकरणीय नाम हुन् भने । उनले भने, “हामीलाई चिनाउने कुनै प्रधानमन्त्री या मन्त्रीले होइन, हामीलाई चिनाउने भनेको ‘रचना’ र ‘अभिव्यक्ति’ले नै हो । २०२७ सालमा स्थापित भएको पत्रिका ‘अभिव्यक्ति’का सम्पादकको रहेका व्यक्तित्वको नाममा स्थापना भएको र २०१८ सालदेखि ‘रचना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आउने व्यक्तित्वलाई सम्मान गर्नु उहाँहरूले समाजमा देखाउनु भएको आदर्शको सम्मान हो ।”   

यसैगरी सो पुरस्कार छनाेट समितिका अध्यक्ष रामप्रसाद पन्तले आम साहित्यिक पत्रकारहरूले उक्त पुरस्कार स्थापनाका लागि कोषको रमक प्रदान गरिरहनुभएको र यो पुरस्कार कोष स्थापनाका लागि कम्तीमा ५ लाख रुपियाँ आवश्यक पर्ने बताए । 

साहित्यिक पत्रकारिता पुरस्कार स्थापना भएकोमा खुसी व्यक्त गर्दै साहित्यकार विजय चालिसेले यो पुरस्कारको दीर्घकालीन स्थायित्वको कामना गरे । उनले भने, “कतिपय पुरस्कार स्थापना भएर २, ४ वर्षपछि बन्द भएका छन् । त्यस्तो अवस्था नहोस् ।”

साहित्यकार देविका तिमल्सिनाले आफूले लेख्नुभन्दा पनि अरूलाई लेख्न लगाएर अरूको साहित्यिक चिनारी बनाइदिने व्यक्तित्वको सम्मान हुनु हरेक साहित्यकारहरूको गर्वको कुरा रहेको बताए । सो कार्यक्रममा बोल्दै पुरष्कृत व्यक्तित्व रोचक घिमिरेले एक जना साहित्यिक पत्रकारिताका साधकका नाममा स्थापित यो पहिलो पुरस्कार प्रदान गरेकामा धन्यवाद व्यक्त गरेका थिए । 

नगेन्द्रराज शर्माको ८५औँ जन्मोत्सवको असरमा आयोजित उक्त सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्व रोचक घिमिरेले उक्त नगद पुरस्कारमा थप पाँच हजार थप गरी ३० हजार रुपियाँ नगद राशि नगेन्द्रराज शर्मा साहित्यकार पुरस्कार कोषका अध्यक्ष पवन आलोकलाई प्रदान गरेका थिए । 

कार्यक्रममा साहित्यकारहरु मोहन दुवाल, किशोर पहाडी, गोविन्द गिरी प्रेरणा, विनोद दीक्षित, त्रिभुवनचन्द्र वाग्ले, ध्रुव सापकोटा, राप्रउ पोखरेल, जयदेव भट्टराई, भाषाविद् चूडामणि गौतम लगायतको उपस्थिति थियो । 
स्मरण रहोस् यो पुरस्कार नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारहरूले नगेन्द्रराज शर्माको नाममा स्थापना गरेको पुरस्कार हो । पुरस्कार कोषको अध्यक्ष साहित्यकार पवन आलोक रहेको यो पुरस्कार प्रथम पटक रोचक घिमिरेलाई प्रदान गरिएको छ । यसका लागि सहयोग रकम सङ्कलन भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप