शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कानुनको नौ सिङ्ग मध्ये कोखाको सिङ्गले हानेर यो सरकार बनेको होः ओली

बुधबार, २३ चैत २०७८, ०७ : ००
बुधबार, २३ चैत २०७८

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कानुनको नौ सिङ्ग मध्ये कोखाको सिङ्गले हानेर बनेको आरोप लगाएका छन् । मंगलवार पर्साको वीरगञ्जमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार जनताले बनाएको नभएर अदालतबाट बनेको बताए । 

 ‘अहिलेको सरकार जनताले बनाएको सरकार होइन, यो त अदालतबाट बनेको सरकार हो त्यो पनि कानुनको नौ सिङ्ग मध्ये कोखाको सिङ्गले हानेर बनेको सरकार हो’, अध्यक्ष ओलीले भने, ‘दुनियाँमा कहीँ नभएको अदालतबाट सरकार बनाउने,अदालतबाट प्रधानमन्त्री छान्ने यो सरकार कृत्रिम ढंगले गठन भएको हो, वैध र संविधान सम्वद्ध बनेको संवैधानिक सरकार होइन, षडयन्त्रबाट बनेको परमादेशको सरकार हो । यसको कुनै हैसियत के छ ? ।’

अध्यक्ष ओलीले कार्यक्रममा माओवादी केन्द्र र नेकपा समाजवादी भन्दा पनि मधेशवादी दल र नेपाली कांग्रेसको चर्को आलोचना गरेका थिए । उनले  अपवित्र ढंगले बनेको ५ दलीय सरकार एमालेसँग एक्लै लड्न नसक्ने देखेर गठबन्धन बनाएको आरोप लगाए ।  ‘एमालेमा प्रवेशको लहरै चलेपछि के भयो हालत होला गठबन्धनको ? वैशाख ३० को निर्वाचन पछि हरेक महानगर, उपमहानगर,नगर र गाउँपालिकाहरुमा सानदार ढंगले अत्याधिक मतका साथ धेरै ठाँउमा एमालेले बिजय हासिल गर्नेछ । अहिलेको जनलहरले यहि कुरा बताउँछ,’ ओलीले भने ‘चुनावपछि रोकिएका आयोजनाहरु सबै सुचारु हुन्छन्, भुक्तानी रोकिएका ठेकेदारहरूलाई यथोचित ढंगले यो सरकारले दिन नसके  एमालेको सरकार बनेपछि तुरुन्तै भुक्तानी हुन्छ’ ।  

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पुराना सरकारले गरेको महत्त्वपूर्ण कामहरु अहिलेको सरकारले रोकिदिएको र ठेकेदारलाई भुक्तानी समेत नदिएको सार्वजनिक रुपमा टिप्पणी गरेका छन् । ‘हाम्रो कार्यकालमा उद्घाटन भएका ३ सय ९६ अस्पताल, सडक पूर्वाधार, विद्यालय भवन,पुल निमार्णको काम यो सरकारले रोकेको छ’ उनले भने । कार्यक्रममा वीरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगीले मधेसवादी पार्टीले मधेसीका शहीद र मधेशीको नाममा गरेका सबै आन्दोलन बीचमै छोडेर व्यक्तिगत फाइदामा लागेकाले अगामी दिनमा मधेसवादी दलहरु माथि जनताको विश्वास  नभएको  जिकिर गरे । 
ओली प्रधानमन्त्री हुँदा मधेशमा नागरिकताको सम्वन्धमा भएको ऐन शंसोधनमा  मधेसवादी दलहरु नै अवरोध खडा गरेको पनि सरावगीले आरोप लगाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप