बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारले ल्यायो ४ अध्यादेश

मङ्गलबार, २२ चैत २०७८, १८ : ३६
मङ्गलबार, २२ चैत २०७८

बागमती प्रदेश सरकारले ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । जसमध्ये एक अध्यादेश स्वीकृत भइसकेको छ । विगत लामो समयदेखि संसद्मा भएको अवरोधका कारण सरकारले एकै पटक ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय संचालन सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरू सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याएको छ । यस्तै प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुखबाट जारी भएको छ  । 

सरकारले ल्याएका ३ वटा अध्यादेश भने प्रदेश प्रमुख यादव चन्द्र शर्मा मार्फत् स्वीकृत भएपछि लागू हुनेछ । संसदमा भएको अवरोधका कारण सरकारलाई तत्काल काम गर्न बाधा आएकाले अध्यादेश मार्फत् काम चलाउनु परेको सरकारका प्रवक्ता एव्ं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

उनका अनुसार सरकारले प्रदेशमा अपुग रहेका कर्मचारीहरुको परिपूर्तिका लागि अध्यादेश मार्फत् प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका काम गर्ने तयारी गरेको छ । सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वायत्त संस्थाको रुपमा स्थापना गर्नका लागि आफ्नै अस्पतालको व्यवस्था गर्ने उद्देश्य अनुसार अध्यादेश ल्याइएको मन्त्री खनालले बताए । उनले उक्त अध्यादेश जारी भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखिएको हेटौंडा अस्पताल अलग हुने बताए ।

हेटौंडा अस्पतालमा चिकित्सा शिक्षाका अन्य विषयहरु अध्यापन गराउनको लागि प्रयाप्त भौतिक संरचना र जनशक्ति नभएकाले प्रतिष्ठानबाट अलग गरिएको उनले बताए । उनले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक कार्यक्रमलाई बाधा नपार्नको लागि तत्काल चितवनको भरतपुर अस्पतालमा पठनपाठनको व्यवस्था मिलाइएको बताए । सरकारले प्रतिष्ठानको लागि छिट्टै नै जग्गा उपलब्ध गराएर आफ्नै भौतिक संरचनासहितको अस्पताल निर्माण गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप