अछाम अदालतको फैसला : जब बलात्कार ‘राजीखुशी’ बन्यो
यतिबेला अछाम जिल्ला अदालतले गरेको एउटा फैसला चर्चामा छ । बलात्कारको अभियोगमा दायर मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिएर पीडितलाई जेल पठाएको फैसला न्यायसंगत नभएको भन्दै महिला अधिकारवादी देखि कैयन सञ्चार माध्यम फैसलाको विपक्षमा देखिएका छन् । न्यायाधीशले फैसला गर्दा प्राविधिक र न्यायिक त्रुटी गरेको भन्दै फैसलामाथि प्रश्न उठाइएको छ ।
अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले गत चैत १३ गते गरेका बलात्कार मुद्दासम्बन्धी फैसला त्रुटीपूर्ण रहेको भन्दै फैसलाका सम्बन्धमा प्रश्न उठ्न थालेका छन् । न्यायाधीशले फैसला गर्दा निस्क्रिय भइसकेको अध्यादेशलाई आधार मानेर फैसला गरेको र पीडित भनिएकी किशोरी होस्टाइल हुनुको कारण नै नखोजी अदालतमा बयान फेरेको र झूटा जाहेरी दिएको भन्दै झूठो जाहेरी दिने किशोरीलाई नै ३ वर्ष ६ महिना जेल पठाउने फैसला गरिदिएका थिए । न्यायाधीश जोशीले पीडक भनिएका व्यक्तिलाई भने सफाई दिएका छन् ।
पहिले अछामको घटना, पीडितको जाहेरी र बयानबारे चर्चा गरौँ –
अछाम जिल्ला, रामरोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन बस्ने एक २० वर्षीय युवकले २०७८ माघको ११/१२ गते अछामकै एक गाउँपालिकामा बस्ने १९ वर्षीय किशोरीलाई मोबाइलमा फोन गरे । २० वर्षका युवक र १९ वर्षीय किशोरीबीच मोबाइलमा कुराकानी भएको २/३ दिनमै विवाह गर्नेसम्मको कुराकानी भयो । युवकले विवाहको लागि राखेको प्रस्ताव किशोरीले स्वीकार गरिन् तर माग्नका लागि घरमै आउनुपर्ने बताइन् ।
त्यसपछि माघ १५ गते युवक अन्य दुईजना साथीहरूलाई लिएर माग्न भन्दै किशोरीकै घरमा पुगे । घरमा किशोरीको आमासँग पनि कुराकानी भयो र विवाह सम्बन्धी कुराकानी भोलि गरौँला आज यतै बस्नुहोस् भनेपछि युवक र अन्य साथी पनि किशोरीकै घरमा बसे । सबैजना खाना खाएर सुत्न गए । तीनजना युवाहरू एउटा कोठामा, किशोरीकी आमा एउटा कोठामा र किशोरी तथा किशोरीकी बहिनी अर्को कोठामा सुत्न गए । पछि किशोरीले केही कुरा गर्नुछ भन्दै युवकलाई आफू सुत्ने कोठामै बोलाइन् । युवक र किशोरीबीच लामो समय विवाहका सम्बन्धमा कुराकानी भयो । त्यही बेला किशोरीकी बहिनी निदाइन् । किशोरीकी बहिनी निदाएपछि युवक र किशोरीबीच शारीरिक सम्बन्ध भयो ।
विवाहको कुराकानी गर्न गएका युवक भोलिपल्ट बिहानै किशोरीको घरबाट निस्किए । घरमा जुठो (अशुद्ध) परेको र किशोरीको विवाह गर्ने उमेर नपुगेको भन्दै युवक आफ्नो घरतर्फ फर्किए ।
यता आफूलाई माग्न आएको युवक आफूसँग शारीरिक सम्बन्ध राखेर फर्किएपछि किशोरीको मनमा डर पैदा भयो, कतै युवकले आफूलाई विवाह पो नगर्ने हो कि भन्ने । किशोरी आफूलाई तत्कालै विवाह गर्नुपर्ने कुरा राखिन्, तर युवकले तत्काल विवाह गर्न नसक्ने बताए । त्यसपछि त्यसको भालिपल्ट अर्थात् वारदातको पर्सिपल्ट माघ १७ गते किशोरीले जिल्ला प्रहरी कार्यालय, अछाममा युवकविरुद्ध जवरजस्ती करणीको जाहेरी दिइन् ।
जाहेरीमा किशोरीले यस्तो कुरा उल्लेख गरेकी थिइन् –
‘म जाहेरवालीको मोबाइल नम्बरमा वारदात मितिभन्दा तीन दिन पहिला उल्लेखित प्रतिवादीले मोबाइलबाट फोन गरेको हो । निजले मेरो मोबाइल नम्बर के कसरी पायो, मलाई थाहा भएन । फोन गरेपछि निजसँग मेरो सामान्य कुराकानी भएको हो, मैले निजलाई पहिला चिनेको थिएन । फोनबाटै निज प्रतिवादीले मसँग विवाहको प्रस्ताव गरेको हो । निजले मसँग विवाहको प्रास्ताव गरेपछि मैले मसँग विवाह गर्ने भए मेरो घरमा माग्न आउ भनेपछि निज प्रतिवादी मिति २०७८/१०/१५ गतेको अन्दाजी १८ः०० बजेको समयमा मेरो घरमा आएको हो ।
मेरो घरमा आएपछि निजले मेरी आमासँग विवाहको कुराकानी गरेको हो । उक्त साँझ निज प्रतिवादीले मेरो घरमा खाना खाई निज प्रतिवादी मेरै कोठामा भुइँमा सुतेको हो भने म र मेरी बहिनी परिवर्तित नाम (ण२) सोही कोठाको खाटमा सुतेका हौँ ।
राति अन्दाजी २३ः३० बजेको समयमा एक्कासी निज प्रतिवादीले मलाई खाटबाट तल तानी .... जबरजस्ती करणी गरेको हो । निज प्रतिवादीले मलाई जबरजस्ती करणी गरेको कुरा मसँगै सुतेकी मेरी बहिनीले पनि थाहा पाएकी छ ।
यसरी विवाहको कुरा गर्छु भनी मेरो घरमा आई म र मेरा घर परिवारलाई विश्वासमा पारी राती मेरै कोठामा बसी मेरो ईच्छा विपरीत मलाई जबरजस्ती करणी गर्ने निज प्रतिवादीलाई कानूनबमोजिम कारवाही गरी क्षतिपूर्ति समेत दिलाई भराई पाउँ ।’
सोही जाहेरीका आधारमा अछाम प्रहरीले प्रमाण संकलन र प्रतिवादीलाई पक्राउ गर्ने काम गर्यो । त्यसपछि घटनास्थल मुचुल्का, पीडित, पीडितकी बहिनी, पीडितकी आमा, छिमेकी र प्रतिवादीलगायतको बयान लियो र २०७८ साल फागुन १० गते अछाम जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गर्यो ।
अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा पीडितले विवाह गर्छु भनी विश्वासमा पारी घरमा आएको, हुँदैन भन्दा भन्दै बहिनी सुतिसकेपछि मलाई भुईँमा तानेर जबरजस्ती करणी गरेको बयान दिइन् ।
पीडकले भने विवाहको कुरा गर्नकै लागि पीडित भनिएकीको घरमा गएको, विवाहको कुराकानीसमेत गरेको, म अन्य साथीसँग छुट्टै कोठामा सुत्न गएको अवस्थामा किशोरीले बोलाएर उनकै कोठामा सुत्न गएको, कुराकानीकै क्रममा किशोरी उत्तेजित भई अङ्गालो हालेको र आपसी सहमतिमै यौनसम्पर्क गरेको बयान दिए ।
पीडित किशोरीकी बहिनीले रातको समयमा आफू निदाएको, तर दिदी बिस्तारै रोइरहेको अवस्थामा आफू ब्यूँझिएको र के भयो भनी सोध्दा प्रतिवादीले जबरजस्ती करणी गरेको कुरा दिदीले भनेर थाहा पाएको बयान दिइन् ।
तर, जब अदालतमा न्यायाधीशसमक्ष बयान दिने समय आयो, पीडिततर्फका सबैले आफ्नो बयान फेरे । अर्थात्, उनीहरू होस्टाइल भए । अदालतसमक्ष बयान गर्ने क्रममा किशोरीले आफूहरूबीच आपसी सहमतिमै करणी लेनदेन भएको तर विवाह नगर्ने हो कि भन्ने चिन्ताले आवेशमा आएर जबरजस्ती करणीको जाहेरी दिएको बयान दिइन् ।
किशोरीले न्यायाधीशको बन्द इजलासमा गरेको बकपत्रमा यस्तो लेखाएकी थिइन्–
‘मिति २०७८/१०/१५ गतेको बिहान मैले प्रतिवादीलाई फोन गरी मेरो घरमा विवाहको कुरा गर्न आउ भनी बोलाएकी हुँ । उक्त दिनको साँझ प्रतिवादी नन्दराम खनाल लगायत ३ जना समेत मेरो घर आएका हुन् । साँझको खाना खाई सुत्ने बेला प्रतिवादी नन्दराम खनाललाई तपाई सँग केही कुरा गर्नु छ भनी मैले प्रतिवादीलाई बोलाएकी हुँ र मैले प्रतिवादीलाई तपाई मेरै कोठामा सुत्नु भनी मेरो कोठाको भुईमा सुत्नु भनी ओछ्यान लगाइदिएकी हुँ । हामी दुवैबीच विवाह र माया प्रेमका कुराकानी भैरहेको बेला अन्दाजी ११ः३० बजेको समयमा म उत्तेजित भई निज सुतिरहेको ओछ्यानमा गई निजसँग अंगालो हालेकी हुँ । त्यसपछि. निज र सहमतिमा एक पटक करणी लिनु–दिनु भएको हो ।’
न्यायाधीश समक्षको बयानमा किशोरीलाई सोधियो– तपाईले हामीहरू बीच सहमतिमा करणी लिनु दिनु भएको हो भन्नुभयो, त्यसो भए तपाईले निज उपर जबरजस्ती करणी मुद्दामा किटानी जाहेरी किन दिनुभयो ?’
सवालको जवाफमा किशोरीले विवाह नगर्ने हो कि भन्ने चिन्ताले रिसको आवेगमा झुटो जाहेरी दिएको बताएकी छिन् । उक्त सवालको जवाफमा किशोरीले भनेकी छिन्, ‘मैले प्रतिवादीसँग उक्त दिनको भोलिपल्ट करिब बिहान अन्दाजी १० बजेको समयमा फोन गरी तपाई कहाँ हुनुहुन्छ, हामीहरू कहिले विवाह गर्ने भनी सोध्दा निजले मेरो घरमा अहिले जूठो छ । उमेर पुगेपछि विवाह गरौँला भनेपछि निज मसँग विवाह गर्दैन होला भन्ने सोची रीसको आवेगमा आई निज उपर किटानी जाहेरी दिएकी हुँ ।’
पीडितकी बहिनीले पनि आफूले उक्त रात के भएको थियो केही थाहा नपाएको भनी होस्टाइल बयान दिइन् भने आमाको बयान पनि उस्तै प्रकृतिको थियो । पीडक भनिएका युवकले भने अदालतमा पनि पहिलेकै बयान दोहोराएका छन् ।
यसरी जाहेरीमा एउटा विवरण, अधिकारप्राप्त अधिकारीसमक्ष जाहेरीमै भएको ब्यहोराको बयान दिएका पीडितपक्षले अदालतमा एकाएक होस्टाइल भई सहमतिमै यौनसम्बन्ध राखेको र विवाह नगर्ने हो कि भन्ने चिन्ताले आवेगमा जाहेरी दिएको बयान दिएपछि अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले उक्त मुद्दाको फैसला करिब एक महिनामै गरिदिए ।
फैसला गर्दा किशोरीले फसाउन खोजेको भन्दै युवकलाई सफाई दिए । तर किशोरीले झुठो जाहेरी दिएको र कसैलाई अनाहकमै फसाउन खोजेको भन्दै उल्टै किशोरीलाई ३ वर्ष ६ महिनाको कैद सजाय तोकिदिए ।
न्यायाधीशले फैसला गर्ने क्रममा लिएको कानुनको दफा भने निस्क्रिय भइसकेको अध्यादेशबाट लिए । पहिले फैसलामा लिइएको दावी र कानुनको ब्याख्या हेरौँ । फैसलाको प्रकरण १९ मा यस्तो लेखिएको छ–
‘निर्णयतर्फ विचार गर्दा यी प्रतिवादीसँग सहमतिमा करणी भएको बेहोरा पीडितले नै बकपत्र गरेको र रिसले जाहेरी दिएको बेहोरा खुलाएको अवस्था देखिन्छ भने प्रतिवादीका साक्षी तथा वादीका साक्षीहरूको बकपत्र समेतबाट यी प्रतिवादीलाई घटना हुँदाको दिन पीडितले नै बोलाएर कोठामा लगेको तथ्य पुष्टि भएबाट यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन सकेन, साथै पीडित परिवर्तित नाम (ढ२) ले रिसले जाहेरी दिएको भनेर यस अदालतमा बकपत्र गर्दा लेखाएबाट निजले प्रतिवादीलाई झुठो बेहोराले जाहेरी लगायतको कागज गरी झूटा मुद्दामा फँसाउन खोजेको तथ्य स्थापित भएको देखिन्छ । सो हुनाले यी प्रतिवादी नन्दराम खनालले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा यी प्रतिवादीले अभियोग मागदावीबाट सफाई पाउने र परिवर्तित नाम (ढ२) लाई झूटा जाहेरी दिएर प्रतिवादीलाई झूटा मुद्दामा फसाउने प्रयत्न गरे वापतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा (२) को देहाय (क१) बमोजिम ३ (तीन) वर्ष ६ (छ) महिना कैद हुने ठहर्छ । अरूमा तपसील बमोजिम गर्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम यो फैसला गरिदिएँ ।’
हालको मुलुकी फौजदारी कार्याविधि (संहिता) ऐन, २०७४ मा उक्त उपदफा नै छैन । हालको संहिताको दफा ४४ को उपदफा २ (क) झूटा कुरा लेखिदिने वा बनावटी ब्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सकिने बारे उल्लेख छ ।
हालको मुलुकी फौजदारी कार्याविधि (संहिता) ऐन, २०७४ दफा ४४ को स्क्रिन सट
तर, न्यायाधीशले लिएको जिकिरचाहिँ माघ महिनाभरि फैसला गरेको भए मिल्ने नै थियो । किनभने यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा यो उपदफा उल्लेख थियो ।
उक्त अध्यादेशको बुँदा नम्बर ४ मा मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ मा संशोधन सम्बन्धी व्यवस्था थियो । उक्त अध्यादेशको बुँदा ४ को २ मा मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ को खण्ड क पछि क १ थपिएको थियो । उक्त उपदफामा भनिएको छ, ‘खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि जबरजस्ती करणी सम्बन्धी मुद्दाको झूटा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबरजस्ती करणी गर्ने कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्ने ।’
बालिग भइसकेकी किशोरी वा महिलालाई कसैले जबरजस्ती करणी गरेमा न्युनतम ७ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । यसरी उक्त अध्यादेशको सहारा लिएर कसुरदारलाई हुने मागदाबी लिइएको न्युनतम सजायको आधा सजाय झूटा जाहेरी दिने किशोरीलाई सजाय गर्दा उनलाई ३ वर्ष ६ महिना कैद सजाय गरिएको थियो । फैसला आएपछि रातोपाटीले उक्त अध्यादेशको आधारमा कसरी सजाय निर्धारण गरियो भनेर अछाम जिल्ला अदालतका जिम्मेवार व्यक्तिलाई सोधेको थियो ।
आफ्नो नाम नराख्ने शर्तमा ती व्यक्तिले वारदातको समयमा उक्त अध्यादेश कायम नै रहेका कारण सोही अध्यादेशका आधारमा सजाय निर्धारण गरिएको दाबी गरे । उनले भने–
‘हामीले हेर्ने भनेको वारदातको समयमा भएको कानूनी व्यवस्था हो । जाहेरवालाले जाहेरी दिएको २०७८ माघ १७ गते हो । उक्त समयमा उक्त अध्यादेश अस्तित्वमै थियो । अहिले पनि मुलुकी ऐनलाई नै टेकेर पनि सर्वोच्च अदालतले समेत फैसला गरिरहेको छ । सुन्तली धामी प्रकरणमा केही समय अगाडि यही अदालतले गरेको फैसला पनि पुरानो कानुनलाई नै टेकेर गरिएको हो । त्यसकारण वारदातको समयमा रहेको कानूनी व्यवस्था अनुसार उक्त फैसला आएको हो । उक्त फैसला चित्त नबुझे उच्च अदालतमा पुनरावेदन गर्न सकिन्छ नै । त्यसकारण मलाई लाग्छ, यो फैसलालाई लिएर त्यति धेरै चिन्ता गर्नुपर्छ जस्तो लाग्दैन । जहाँसम्म किशोरीलाई दिइएको सजाय अलि बढी भयो भन्ने कुरा छ, उनले झूटा जाहेरी दिएर फसाउन खोजेको उनी आफैँको बयानले पुष्टि गरिदिएको छ । यदि कुनै साधारण मान्छेलाई कुनै महिलाले यसरी नै फसाउन खोजिन् भने त्यो बेला ठीक, तर अहिले बेठीक भन्ने हुँदैन । कानुन सबैका लागि बराबर नै हो र त्यही आधारमा फैसला भएको हो ।’
अदालतले नखोजेको होस्टाइलको कारण
जबरजस्ती करणी मुद्दामा पीडित भनिएकी किशोरीले जाहेरी दिँदा र अधिकारप्राप्त अधिकारीसमक्ष लेखाएको विवरणमा जबरजस्ती करणी गरेको उल्लेख गरेकी छिन् । तर, जिल्ला न्यायाधीशसमक्ष बकपत्र गर्दा भने आपसी सहमतिमै यौन सम्बन्ध राखेको, तर विवाह गर्ने कुरामा युवकले आलटाल गरेको कारण विवाह नै नगर्ने हो कि भन्ने चिन्ता र आवेगले झूटा जाहेरी दिएको कुरा उल्लेख गरेकी छिन् ।
पीडित भनिएकी किशोरीको आमा एकल महिला रहेको र उनको उमेर पनि ५५ वर्ष भइसकेको अभियोजन पत्रबाट देखिन्छ । अदालतसमक्ष गरेको बकपत्रमा किशोरीको उमेर १९ वर्ष र कक्षा ८ मा अध्ययन गरिरहेको उल्लेख छ । अनि युवक, किशोरी सबैले विवाहका लागि माग्न आएको र गएको कुरा स्वीकार गरेका छन् ।
गाउँको एउटा सामान्य घर, एकल महिला, १९ वर्षकी किशोरी किन यतिका उमेरसम्म पनि कक्षा ८ मा पढ्दैछिन्, परिवारको आर्थिक सामाजिक अवस्था के हो भन्नेबारे अदालतले मनन गरेको देखिँदैन । ४ दिनको प्रेममा कुनै युवक विवाहका लागि माग्न आउँछ, किशोरीले विवाहको सपना देख्छिन् र आफ्नो शरीर युवकलाई बेफिक्री सुम्पिन्छिन् ।
युवकले पहिलो भेटको रात नै किशोरीसँग यौन सम्बन्ध राखिसकेपछि घरमा कुरा गर्छु भनेको देखिन्छ । भोलिपल्ट बिहानै किशोरीको घरबाट निस्केको युवकले फोनमा तत्काल विवाह गर्न मिलेन, घरमा जुठो परेको रहेछ भनेको बयानमा उल्लेख छ । त्यसपछि केटीलाई शंका लाग्छ कि मेरो शरीरसँग खेल्यो । युवक मसँग यौन सम्बन्ध राख्न मात्रै आएको रहेछ भन्ने उनको मनमा लाग्छ र विवाह नै गर्दैन कि भन्ने चिन्ताले जाहेरी दिएको उनको बयानमा देखिन्छ । यही विषयले मन पोलेपछि किशोरी जाहेरी लिएर प्रहरी कार्यालय पुगेको र जाहेरी दरखास्तसँगै युवक पक्राउ परेको देखिन्छ ।
पछि किशोरी, किशोरीकी आमा, बहिनी लगायत सबैलाई किशोरको परिवारले आश्वस्त पार्छन् कि उमेर पुगेपछि बिहे गर्ने भनेर । स्रोतहरूका अनुसार गाउँघरमा हल्ला भइसकेपछि अन्यत्र किशोरीको विवाह हुने कुरामा पनि समस्या पर्न सक्छ भनेर किशोरी त्यही युवकसँग विवाह गर्न तयार हुन्छिन् र अदालतमा बयान फेर्छिन् । उनले होस्टाइल भएर बयान दिन्छिन् र आपसी सहमतिमै यौन सम्बन्ध राखिएको बताउँछिन् ।
जब न्यायाधीशलाई रीस उठ्यो ...
कुनै किशोरीले कहिले जबरजस्ती करणी भएको भनेर जाहेरी दिन्छिन् त कहिले आपसी सहमतिमै यौन सम्बन्ध राखिएको हो भनेर बयान फेर्छिन् । यसबाट प्रहरी, सरकारी वकिल र अदालतको समय मात्रै खेर गएन, करिब दुई महिना एकजना युवक थुनामा परे । बिनाकारण प्रहरी, सरकारी वकिल र अदालतको समय ‘किल’ गरेको कुरा न्यायाधीशलाई मन परेन ।
त्यसैले झूटा जाहेरी दिने महिलालाई पाठ पढाउनुपर्छ भन्ने भावना पनि न्यायाधीशलाई आयो । अनि कानुनको कुन दफामा सबैभन्दा बढी सजाय गर्न सकिन्छ भनेर उनले हेरे । अध्यादेशमा बढी सजाय देखेपछि त्यही सजाय ठेकिदिए । यसबाट सकारात्मक चर्चा हुन्छ भन्ने शायद न्यायाधीशलाई लागेको थियो । तर ठीक विपरीत उनको यही फैसला उनलाई ‘ब्याक फायर’ भएको छ ।
यो मुद्दामा युवकको पारिवारिक तथा आर्थिक अवस्था हेर्दा न्यायाधीशले आर्थिक लाभ वा घुस लिएर फैसला गरेको मान्न नसकिने स्रोतको दाबी छ । । तीन वर्ष अगाडि मात्रै खुल्ला प्रतिस्पर्धाका माध्यमबाट न्यायाधीश बनेका नवीनकुमार जोशीले यो मुद्दाबाट चर्चित हुने भ्रमचाहिँ पालेका हुन सक्छन् । किशोरीले रीस र आवेगमा आएर जाहेरी दिएजस्तै न्यायाधीशले पनि रीस र आवेगमै आएर सजाय तोकिदिएको चाहिँ हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड