शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनको सन्दर्भमा विभिन्न पक्षलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आह्वान

मङ्गलबार, २२ चैत २०७८, १५ : ०७
मङ्गलबार, २२ चैत २०७८

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले साना÷ठूला सबै दल, उम्मेदवारहरूका साथै मतदातासमेतलाई शान्तिपूर्वक र भय, त्रासमुक्त वातावरणमा स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण कायम राख्न संघ र प्रदेश सरकारहरूलाई आह्वान गरेको छ ।

निर्वाचन पूर्व, निर्वाचनको (मतदानको) चरणमा र निर्वाचनपछि पनि मुलुकभर शान्ति र व्यवस्था कायम गर्दै आम–नागरिकसँग सम्बन्धित जनस्वास्थ्य र आपूर्ति व्यवस्था कायम राख्न पनि उसले संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, निश्चित मितिमा स्वच्छ, निष्पक्ष र व्यवस्थितरुपमा निर्वाचन हुन नसके लोकतन्त्रको मर्म नै समाप्त हुने भन्दै टीआईले आगामी स्थानीय तह निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी निर्वाचन आयोगको रहेको प्रस्ट पारेको छ । ‘निर्वाचन पूर्व मतदाता शिक्षा र मतदान केन्द्रहरूको उपयुक्त व्यवस्थाका अतिरिक्त सहजरुपमा आम–मतदाताको निर्भयतापूर्वक मतदान गर्न पाउने वातावरण बनाउनुका साथै मतगणना र नतिजा घोषणासमेतमा सहज र विश्वसनीय व्यवस्था मिलाउन निर्वाचन आयोगलाई विशेष आह्वान गर्दछ,’ टीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तहको आगामी निर्वाचनमा राजनीतिक दलहरूको सहभागिता र अन्य क्रियाकलापको महत्वपूर्ण भूमिका रहने भन्दै उसले दलहरूको घोषणा–पत्र, प्रचार–प्रसारका शैली र उम्मेदवार छनौट समेतले आम–मतदाता र नागरिकको अपेक्षाको आधार बन्ने हुँदा उपयुक्त, सक्षम, सेवामुखी र योग्य उम्मेदवारलाई छनौट गर्न (टिकट दिन), निर्वाचन आचार–संहिताअनुकूल सभ्य र शिष्ट प्रचार–प्रसारको शैली अवलम्बन गर्न, मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

टीआईले निर्वाचनको क्रममा विभिन्न पक्षहरूको लागि विभिन्न दलहरूबाट भाग लिने उम्मेदवारहरूले मतदान पूर्व, मतदानको समयमा, मतगणनाको समयमा र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण प्रस्तुत गर्नुका साथै मतदातामा डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गरेको छ । उसले सबै उम्मेदवारलाई निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार–संहिताअनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि अनुरोध गरेको छ ।

आम–मतदाताले कसैको लोभ–लालच, भ्रम वा भय त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न सक्नुपर्नेमा जोड दिँदै टीआईले भनेको छ, ‘लोकतन्त्रले दिलाएको यस महत्वपूर्ण घडीमा सबै मतदाताले लोभ–लालच, स्वार्थ नभएका र उच्च नैतिक आचरण भएका सक्षम व्यक्तिलाई मतदान गर्न नसके पछिल्ला दिनहरूमा पश्चाताप गर्नुपर्ने हुन्छ ।’ आफ्नै हातले आफू र आफ्ना सन्ततिको भविष्य सुनिश्चित गर्ने यो अवसरमा नचुक्न आम–मतदातालाई टीआईले आह्वान गरेको छ ।

निर्वाचनको क्रममा आफूलाई मन परेका उम्मेदवार वा दललाई चन्दा, सहयोग दिन चाहने उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूले समेत आफूले दिएको सहयोग पारदर्शी पार्न र निर्वाचन आचार–संहिता प्रतिकुल कुनै सहयोग गर्न नहुने टीआईको भनाइ छ ।

यस्तै, टीआईले स्थानीय तहको आगामी निर्वाचनको प्रत्येक चरणमा लोकतन्त्रको पहरेदारको रुपमा सञ्चारजगत्ले निर्वाचन आचार–संहिताको पालना, उपयुक्त उम्मेदवार छनौट, मतदाताको भूमिका र मनोबलमा सकारात्मक समाचार सम्प्रेषण गर्न÷गराउन आह्वान गरेको छ ।

भ्रष्टाचार, विसंगति र विकृति नियन्त्रण गर्न सकिएन भने समृद्ध नेपाल बनाउने सपना साकार हुन नसक्ने भन्दै टीआईले यसका लागि नेतृत्व वर्ग नै योग्य, सक्षम र सदाचारी हुनु आवश्यक रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप