शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

सुस्तामा पुल : सात वर्षसम्म पिलरमै अल्झियो काम

मङ्गलबार, २२ चैत २०७८, ११ : ४६
मङ्गलबार, २२ चैत २०७८

सुस्तामा पुल निर्माणको काम सुरु भएको सात वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्तावासी अझै पनि जोखिमपूर्ण डुङ्गा यात्रा गर्दै आएका छन् । नारायणी नदी (गण्डक नदी) ले घेरिएको सुस्ताबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन डुङ्गा चढेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने तथा वर्षाको समयमा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्ययता रहेको सुस्तावासी बताउँछन् ।

नारायणी नदी पारी भारतको बिहारसँग जोडिएको सुस्ताभूमिलाई वडा कार्यालय, गाउँपालिका कार्यालय र सदरमुकामसँग जोड्ने गरी सरकारले ७ वर्ष अगाडि झोलुङ्गे पुल निर्माण योजना अघि बढाएको हो । तर ठेकेदारको चरम लापरवाहीले उक्त पुल अझै निर्माण हुन सकेको छैन ।

त्रिशुली आश्रय जेभी कन्सट्रक्शन कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरी २७ करोड रुपैयाँमा उक्त पुल निर्माणको ठेक्का लिएको हो । १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाईको झोलुङ्गे पुल निर्माणमा अहिलेसम्म ठेकदार कम्पनी पिलर ठड्याउने काममै अल्झिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिए ।

ठेकदार कम्पनीले कहिले लेबर अभाव, कहिले पानीको उच्च बहाव र सरसमान नपाएको बहाना देखाउँदै काममा ढिलासुस्ती गर्दै आएको छ । समग्रमा पुलको करिब ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

यता पुल निर्माण छिटो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चासो देखाएको छ । पुलको काम छोडेर एक वर्षदेखि फरार रहेको ठेकदार कम्पनीलाई सुस्ता गाउँपालिकाले सम्बन्धित निकायबाट दबाब दिलाई पुनः पुलको निर्माण कार्यमा लगाएको छ । गाउँपालिकाले पुलको नियमित निरीक्षण र आईपर्ने समस्या समाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकदार कम्पनीलाई ताकेदा गर्दै आएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

सुस्ता पुग्न एकमात्र नेपाली बाटो जोखिमपूर्ण डुङ्गा यात्रा हो । सुस्ताभूमि पुग्न नदीमा करिब अढाई (२.५) किलोमिटरको दुरी डुङ्गाबाट यात्रा गर्नु पर्दछ । उक्त यात्रा अहिले मोटरबोट भएकाले सहज भए पनि जोखिमपूर्ण नै छ । नदी वारपार गर्न बाढीको समयमा १ घण्टा र सुख्खा समयमा आधा घण्टाभन्दा बढी समय लाग्ने गर्दछ । वर्षाको बेला नदीमा बाढीका कारण डुङ्गा चलाइँदैन । त्यतिबेला भारतको बाटो हुँदै आवत जावत गर्नुपर्ने बाध्यतामा सुस्तावासी रहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप