शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वन्यजन्तुबाट भएको क्षतिमा एक बढीको राहत वितरण

सोमबार, २१ चैत २०७८, २१ : ०४
सोमबार, २१ चैत २०७८

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा  एक करोड ७८ लाख २३ हजार ८५० राहत वितरण गरेको छ । वन्यजन्तुबाट भएको क्षतिस्वरूप निकुञ्जले राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ५६९ घटना भएका थिए । ती घटनामा परेकाहरुलाई राहत वितरण गरिएको हो ।
 
तिवारीका अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका ११ जनाको परिवारलाई एक करोड १० लाख वितरण गरिएको छ । प्रतिपरिवार १० लाखका दरले राहत वितरण गरिएको हो । वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएका १९ जनालाई तीन लाख ६३ हजार ७९४ र सख्त घाइते २० जनालाई २४ लाख ८१ हजार ५५६ राहत वितरण गरिएको छ ।
 
यस्तै पशुधन क्षतिका ११२ घटनामा १३ लाख ७० हजार ३२०, भण्डारण गरेको अन्नको क्षतिका सात घटनामा ६० हजार ८८० र घरगोठको क्षतिका २६ घटनामा एक लाख ९२ हजार ३०० राहत वितरण गरिएको छ । यस्तै वन्यजन्तुले खेतबारीमै रहेको अन्नबाली क्षति पु¥याएका ३७४ घटनामा २३ लाख ५५ हजार राहत वितरण गरिएको तिवारीले जानकारी दिए ।
 
निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ । त्यस्तै सामान्य घाइतेको अवस्थामा रु २० हजार, गम्भीर घाइतेको न्यूनतम दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ । जङ्गली जनावरले अन्नबालीमा क्षति पु¥याएमा बढीमा १० हजार, घरगोठ भत्काएमा १० हजार र पशुधनको क्षति गरेमा ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ । सूचना अधिकारी तिवारीले पहिले–पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप