वैदिक शिक्षा

कसरी बचाउँथे वैदिक महर्षिहरू मरेका मानिसलाई ?

person explore access_timeचैत २१, २०७८ chat_bubble_outline0

परापूर्वकालको कुरा हो । एकपटक देवराज इन्द्रले महर्षि दध्यङ् आथर्वण समक्ष गएर आत्मज्ञान सम्बन्धी शिक्षा पाउन आग्रह गरे । महर्षिले आगन्तुकतर्फ हेर्दैनहेरी भने–


‘शिक्षा त दिउँला नै पहिले यो त बताऊ कि को हौ र कहाँबाट आएका हौ ?’



महर्षिको कुरा सुनेर देवराज इन्द्रले असजिलो मानेजस्तो गर्दै भने–



‘चिन्नुभएन ? देवराज इन्द्र हुँ, स्वर्गबाट आएको ?’

महर्षि धर्मसङ्कटमा परे । हुन्न र दिन्न भनौँ भने वचन दिसकिएको थियो, हुन्छ र दिन्छु भनौँ भने उनी आत्मज्ञान दिन लायकका पात्र थिएनन्, कामुक थिए, अहङ्कारी थिए, ढोँगी र भोगी त्यस्तै । उनका निम्ति आत्मज्ञानको कुनै अर्थ थिएन । उनी जस्ता अपात्रलाई आत्मज्ञान दिनु भनेको सर्पलाई दूध पिलाएर पाल्नुजस्तै थियो । सके कुनै पनि बेला घातक बन्न सक्थ्यो । नभए पनि खेर जान सक्थ्यो, कि कुहिन्थ्यो कि भुटिन्थ्यो ।  तैपनि वचन हार्न उपयुक्त ठानेनन् र आत्मज्ञान प्रदान गर्दै भने–

‘देवराज ! शिक्षा त दिएँ तर दुरुपयोग चाहिँ नगर्नु होला । अन्यथा पशुपक्षीभन्दा पनि तल्लोस्तरमा गनिनुपर्ने छ । किनकि पशुपक्षीले शिक्षाको दुरुपयोग कहिल्यै गर्दैनन् ।

महर्षिको कुरा इन्द्रले पचाउन सकेनन् । उनको मन त तत्कालै बज्र हानी महर्षिको टाउको काटिदिऊँ कि भन्ने थियो तर तत्कालै त्यो हदसम्म जान भने सकेनन् र धम्की दिँदै भने–

‘ठीकै छ गुरुदेव ! त्यस्तो हो भने त्यस्तै सही तर याद राख्नुहोला तपाईँले पनि मलाई दिइएको शिक्षा अरूलाई दिनुहुने छैन । अन्यथा टाउको काटिन सक्छ ।’

यति भनेर देवराज इन्द्र गए । केही समयपछि सूर्यपुत्र अश्विनीकुमार आत्मज्ञान माग्न आए । महर्षि फेरि धर्मसङ्कटमा परे । हुन्न भनौँ भने उनीहरू सत्पात्र थिए । सत्पात्रलाई शिक्षा नदिनु पनि दोष नै थियो । दिऊँ भने भरखरै देवराज इन्द्र धम्की दिएर गएका थिए । त्यसैले उनले अश्विनीकुमारसित आफ्नो कठिनाइ बताए । त्यसपछि अश्विनीकुमारले बीचको मार्ग प्रस्तुत गर्दै भने–

‘केही छैन महर्षिजी ! तपाईँको कठिनाइ बुझ्छौँ । हामीसँग मृतसञ्जीवनी विद्या छ । पहिले तपाईँको टाउको काटेर घोडाको टाउको जोडिदिने छौँ । त्यही शिरबाट हामीलाई शिक्षा दिनुहोला । जब देवराज इन्द्रले त्यो टाउको काटिदिने छन् तब अघिकै टाउको जोडेर जिवित गराउने छौँ ।’

उनीहरूका कुरा महर्षि दध्यङ् आथर्वणलाई ठीकै लाग्यो । त्यसपछि अश्विनीकुमारले उनको टाउको काटी घोडाको टाउको जोडिदिए । महर्षिले सोही घोडाको मुखबाट आत्मज्ञान प्रदान गरे, जसलाई वैदिक ग्रन्थहरूमा अश्वशिरा विद्या भन्ने गरिएको छ । महर्षिले अश्विनीकुमारलाई आत्मविद्या दिएको देवराज इन्द्रले थाहा नपाउने कुरै थिएन । उनले तत्कालै आएर महर्षिको टाउको काटिदिए । अश्विनीकुमार पनि के कम थिए र । उनले पनि तत्कालै महर्षिलाई पहिलेको टाउको जोडेर जिवित गराए ।

यस्तो अद्भूत घटना देखेर देवराज इन्द्र लज्जित भए र महर्षिको पाउमा परी क्षमा मागे । ऋषिहरू देख्नमा जति कठोर लाग्छन् उनीहरूको मन त्यति नै कमलो हुन्छ । इन्द्रको अवस्था देखेर उनलाई दया लाग्यो र केही छैन, जे भयो भयो, सायद नियतिकै खेल हुनुपर्छ भन्दै क्षमा दिएर पठाए ।

यस वैदिक कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर यस कथाले दिएको सन्देश भने अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।

ऋग्वेद संहिता, शतपथ ब्राह्मण, बृहद्देवता आदि ग्रन्थहरूमा कतै सूत्रात्मकरूपमा र कतै व्याख्यात्मकरूपमा भेटिने यस कथामा मूलतः चारवटा सन्देश पाउन सकिन्छ । तिनमा पहिलो सन्देश यही हो कि शिक्षाले त्यसैलाई काम गर्छ, जुन शिक्षा लिने व्यक्ति पनि सो अनुकुल छ । अन्यथा शिक्षा दुरुपयोग हुन पुग्छ र कि हानि गर्छ कि खेर जान्छ । यहाँ पनि यस्तै भएको थियो । महर्षिले देवराजलाई शिक्षा त दिए तर उनी सो अनुकुल थिएनन् । फलतः नतीजा घातक बन्न पुगेको थियो ।

दोस्रो सन्देश यो हो कि खराब काम कसैले पनि गर्नुहुँदैन । अन्यथा पछुताउनुपर्ने अवस्था आउन सक्छ । खराब काम खराब नै हो, जसले गरे पनि खराब नै हुन्छ र त्यसको नतीजा भोग्नै पर्छ । देवराज इन्द्रलाई यस्तै भएको थियो । उनी देवताका पनि राजा थिए । तत्कालीन खगोल, भूगोलमा उनी समान शक्तिशाली कोही थिएनन् तर उनले पनि खराब काम गर्दा पश्चात्ताप गर्नुृृपर्ने अवस्था आयो ।

तेस्रो सन्देश यही हो कि सत्पात्रलाई शिक्षा दिनैपर्छ । यस्तो अवसर पाइएको बेला जस्तोसुकै कठिनाइ आए पनि त्यसतर्फ ध्यान दिनुहुँदैन । यसबाट आफ्नो मात्र होइन अरूको पनि  भलाइ गर्छ । महर्षि दध्यङ आथर्वणले त्यस्तै गरेका थिए । उनका अगाडि प्राणै जाने अवस्था थियो । तैपनि सत्पात्र भेटिएकाले अश्विनीकुमारलाई शिक्षा दिन हिचकिचाएनन् । फलतः यसकै कारण उनले पुनर्जीवन पाएका थिए ।

जहाँसम्म चौथो सन्देशको कुरा छ त्यो भने वैदिक विज्ञानसित सम्बन्धित देखिन्छ । वस्तुतः वैदिक विज्ञान त्यस्तो विज्ञान हो, जहाँ काटिएको टाउको जोड्नेसम्मको रासायन भेटिन्छ । हाल आधुनिक विज्ञानले निकै प्रगति गरेको छ । खगोल र भूगोललाई जोड्न मात्र होइन एउटै कोठामा ल्याउनसमेत सफल भइसकेको छ तर काटिएको जोड्ने रासायन भने अहिलेसम्म विकास भएको छैन तर वैदिक विज्ञानको भण्डारमा त्यस्तो रासायनसमेत सुरक्षित रहेको देखिन्छ । अश्विनीकुमारले यसैलाई प्रयोग गरी महर्षि दध्यङ आथर्वणलाई बचाएका थिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।