बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

के हो थाइराइड ?

सोमबार, २१ चैत २०७८, १२ : २६
सोमबार, २१ चैत २०७८

पछिल्लो समय नेपालमा वयस्क महिलाहरूमा थाइराइडको समस्या बढ्दै गएको प्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडको बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेर समूहका महिलाहरूमा थाइराइडको समस्या बढ्न थालेको हो । विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छन् । 

त्यसैले पनि कुनै न कुनै थाइराइडबाट कोही पनि मानिस अछुतो रहन सकेका छैनन् । थाइराइड रोग विशेषज्ञ डा. सुनिल पोखरेलका अनुसार सबैभन्दा कमन थाइराइड भनेको हाइपो थाइराइडिजम हो । यसलाई नियन्त्रण गर्न नसके त्यसको असर धेरै हुने र यसले मानिसलाई गम्भीर असर पार्नसक्ने विज्ञहरुको भनाइ छ । अल्का अस्पताल जावलाखेलमा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञको रुपमा कार्यरत डा. पोखरेलले मोटाउने खालको थाइराइड नै हाइपो थाइराइड भएको र यो सबैमा देखिन सक्ने भएकोले यसको बेलैमा उपचार गर्न सुझाव दिए । समयमा उपचार पाए निको हुने सम्भावना रहेको बताए । 

थाइराइडका कारण कपाल झर्ने, आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने, थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने, तौल बढ्दै जाने, प्रेसर बढ्ने, कोलस्टोल बढ्ने, मुटुको धड्कन कम हुने, महिलाहरूमा महिनावारी गडबडी हुने, गर्भ नरहने, गर्भ भए पनि तुहिने, गर्भावस्थामा थाइराइड नियन्त्रण गर्न सकेन भने सुस्त मनस्थितिको बच्चा जन्मिने लगायतका समस्या हुने पनि डा. पोखरेलको भनाइ छ । त्यस्तै, बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको उचाइ नबढ्ने पनि हुनसक्छ । उनले भर्खर जन्मिएको बच्चामा पनि यो देखिनसक्ने र बुढेसकालमा पनि थाइराइडको जोखिम त्यत्तिकै रहेकोले बेलाबेलामा स्वास्थ्य चेकजाँच गराइरहन सुझाव दिए । 

विशेषज्ञ डा. पोखरेलले भने, ‘थाइराइडको ४ प्रकारको समस्या हुन्छ । सबैभन्दा कमन थाइराइड भनेको मोटाउने खालको थाइराइडको हो । जसलाई हामी हाइपो थाइराइडिजम भन्छौँ । हाइपो थाइराइडिजम भनेको थाइराइडले जति काम गर्नुपर्ने हो । जति फङ्सन गर्नुपर्ने हो, जति हर्मन उत्पादन गर्नुपर्ने हो त्यो गर्न नसक्ने स्थिति हो । जो हामीले साधारण भाषामा भन्दा मोटाउने खालको थाइराइड हो । थाइराइड ग्रन्थीले जति काम गर्नुपर्ने हो, जति हर्मन उत्पादन गर्नुपर्ने हो त्यो गर्न नसक्ने । दोस्रो थाइराइड ग्रन्थीले धेरै काम गर्नु हो । त्यसलाई हामी हाइपर थाइराइडिजम भन्छौँ । हाइपर भनेको बढी काम गर्ने हो । यसलाई हामी दुब्लाउने खालको थाइराइड भन्छौँ । यो १०० जनामा थाइराइडको रोग देखिँदा ४/५ जनामा मात्रै देखिन्छ । तेस्रो भनेको थाइराइडको साइज नै ठूलो हुने हो । जसलाई हामी गलगाँड भन्छौँ । चौथो कुरा भनेको यही थाइराइड ग्रन्थिमा कहिले काहीँ गाँठागुँठी आउँछ । त्यो बेलामा कहिले के हुनसक्छ भने थाइराइडको क्यान्सर हुनसक्छ । 

थाइराइडको प्रमुख रोग भनेको ४ वटा हुन्छ । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छ । सबैभन्दा कमन भनेको हाइपो थाइराइडिजम हो । त्यो भनेको थाइराइडले काम नै गरेन भने त्यसलाई हामी हाइपो थाइराइड भन्छौँ । यसको कमी भयो भने टाउकोदेखि खुट्टासम्म असर गर्दछ । कपाल झार्न सक्छ । आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने । थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने । तौल बढ्दै जाने, टायरनिस फिल हुने, प्रेसर बढ्ने, कोलस्टोर बढ्ने, मुटुको धड्कन कम हुने, महिलाहरूमा महिनावारी गडबडी हुने, गर्भ नरहने, गर्भ भए पनि तुहिने, प्रेग्नेन्सीमा छ र थाइराइड कन्ट्रोल गर्न सकेन भने सुस्त मनस्थितिको बच्चा जन्मिने, बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको हाइट नबढ्ने यो सबै समस्या हर्मन कम भयो भने हुन्छ । 

भर्खर जन्मिएको बच्चामा पनि यो थाइराइड देखिन सक्छ भने बुढेसकालमा पनि यो देखिन सक्छ । धेरैजसो यो महिलाहरूमा हुन्छ । यो समस्या वयस्क अवस्थामा देखिने गर्छ  । २० देखि ४० वर्षको उमेरमा बढी हुन्छ । यो हाइपो थाइराइडिजम, मोटाउने खालको हो । अर्को भनेको हाइपर, जुन दुब्लाउने खालको थाइराइड । त्यसमा यसको अपोजिट हुन्छ । बिरामी दुब्लाउँदै जाने, मुटु भ्याट भ्याटजस्तो तेज भएको जस्तो हुने, डाइरियाजस्तो हुने, आँखा बाहिर निस्किएको जस्तो हुने, घाँटी सुन्निने, हातखुट्टाहरु सुक्ने यो सबै समस्या हाइपर थाइराइडमा हुन्छ ।’

पछिल्लो समय नेपालमा थाइराइडका कारण सुस्त मनस्थितिको बच्चा जन्मिने कुरामा भने कमी आएको छ । पछिल्लो समय नेपालमा आयोडिन युक्त नुन खाने बानीले पनि यसमा कमी आएको हो । विशेषज्ञ डा. पोखरेलका अनुसार नेपालमा आयोडिनको मात्रा पनि बढी भइसकेको छ । उनले अन्य देशमा आयोडिनको मात्रा कम गर्दै लगिएको र नेपालमा पनि आयोडिनको मात्रा कम नगर्ने हो भने पुनः यसले मानव स्वास्थ्यमा असर पु¥याउने बताए । बच्चामा थाइराइड देखियो भने त्यसले बच्चाको वृद्धि विकासमा, ब्रेन डेभलपमेण्टमा, अन्य कुरामा पनि असर गर्ने बताए । डा. पोखरेलले नेपालमा बच्चा जन्मिने बित्तिकै केही अस्पतालहरुमा थाइराइड परीक्षण गराउने प्रक्रियाको शुरुवाता भइसकेको र यो पद्धती सबै अस्पतालमा हुन आवश्यक रहेको बताए ।   

डा. पोखरेलले भने, ‘हामी पहिला पनि क्रेटोनिजम भन्थ्यौँ । जस्तो सुस्त मनस्थितिको बच्चा । जुन आयोडिनको कमीले हुने गर्दथ्यो । नेपालमा यो पहिलादेखि नै थियो । अहिले त्यस्तो बिरामी धेरै कम देखिन्छ । अहिले प्रत्येक प्रेग्नेन्सीले धेरैजसो थाइराइडको जाँच गराउँछन्, विदेश तिरको तथ्यांक हेर्दा प्रत्येक दुईदेखि ३ हजार बच्चा जन्मिँदा एक जनामा थाइराइड देखिन्थ्यो ।  विदेशतिर प्रत्येक बच्चा जन्मिने बित्तिकै थाइराइड टेस्ट हुन्छ । बच्चामा थाइराइड देखिए त्यसले बच्चाको वृद्धि विकासमा, ब्रेन डेभलपमेण्टमा, अन्य अग्र्यानहरुको डेभलपमेण्टमा ठूलो असर गर्दछ । त्यसैले सबैभन्दा चाँडो थाहा पाउन सके यसको असर कम हुन्छ । नेपालमा पनि धेरै अस्पतालमा शुरु भइसकेको छ, जन्मिने बित्तिकै बच्चाको थाइराइड टेस्ट गर्ने । प्रत्येक दुईदेखि ३ हजार बच्चामा एक जनालाई हुनु भनेको कमन हो । यो उपचार गर्न सकिने खालको रोग हो । समयमै उपचार पाए बच्चाले उसको ग्रोथको लागि केही पनि समस्या हुँदैन ।’

डा. पोखरेलका अनुसार आयोडिनको मात्रा कमी हुँदा पनि थाइराइड रोग धेरै देखिन्छ । आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहन्छ । नेपालमा पनि आयोडिनको मात्रा बढी भइसकेको र यसले क्रमिक रुपमा मानव स्वास्थमा गम्भीर असर पार्न थालेको बताए । नेपालमा पहिलाको यातायातको आवतजावत र देशका कुना कुनामा पुग्ने सवारी साधनको समय सीमाको आधारमा बढी आयोडिन राखेर पठाइएको भएपनि अहिले भने समयमै सवारीसाधनहरू पुग्ने भएकोले आयोडिनको मात्रा कम गरेर लैजानु पर्ने उनको भनाइ छ । उनले थाइराइडका साधारण बिरामीले सामान्य जीवनशैली बिताउने, बालबालिकाहरूलाई धेरै नुन खान नदिने र थाइराइडको लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य चौकीमा जाँच गराउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप