मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

चैत २३ भित्र गठबन्धनका दलको जिल्लागत स्थितिको प्रतिवेदन पेस गर्न निर्देशन

सोमबार, २१ चैत २०७८, ०८ : ५५
सोमबार, २१ चैत २०७८

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको बागमती प्रदेश स्तरको संयन्त्रको बैठकले चैत २३ गते भित्र जिल्लाको वस्तुगत स्थितीको विश्लेषणसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । आइतबार नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूको केन्द्रीय संयन्त्रको निर्णय र निर्देशन अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न प्रदेशका सबै जिल्लाले जिल्ला स्तरीय संयन्त्रको बैठक गरी वस्तुगत स्थितीको विश्लेषण सहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

बैठकले सबै जिल्लाहरूलाई पालिका स्तरको संयन्त्रको बैठकले प्रस्तुत गरेको विश्लेषणको आधारमा वस्तुगत स्थितिको प्रतिवेदन तयार पार्न पाँचै वटा दलका जिल्ला समितिलाई निर्देशन दिएको छ ।

बैठकमा बागमती प्रदेश, नेकपा माओवादी केन्द्रका अध्यक्ष सरल सहयात्री, नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका सह–इञ्चार्ज  जीवनराम श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकी बागमती प्रदेश प्रतिनिधि मिना पुन र जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सोनाम सिं स्याङ्गतानको उपस्थित रहेको थियो ।

बैठकले प्रदेशका ११९ वटै पालिकाहरुमा सरकारमा सहभागी दलहरुले स्थानीय निर्वाचन २०७४ मा पाएको मतको अवस्थाको बारेमा पनि आगामी बैठकमा जानकारी गराउन निर्देशन दिएको छ । त्यस्तै गत निर्वाचनमा गठबन्धनमा रहेका दलका उम्मेदवार विजय भएका स्थानहरुको वर्तमान अवस्था, पछिल्लो समयमा विकसित भएको जनमतको समेत अध्ययन गरी अर्को बैठकमा प्रतिवेदन पेस गर्न भनिएको छ । सो प्रतिवेदनको आधारमा प्रदेश स्तरीय गठबन्धनको संयन्त्र निश्कर्षको पुग्ने जनाइएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूको प्रदेश स्तरीय संयन्त्रको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र राजनैतिक स्थायित्व सहितको समृद्धिको लागि स्थानीय तहमा गठवन्धनको बीच चुनावी तालमेल गरी निर्वाचनमा भाग लिने तयारी भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप