बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा र लोसपाबीच तालमेलको सम्भावना टर्‍यो

स्थानीय तहको चुनावमा कसले मार्ला बाजी ?
सोमबार, २१ चैत २०७८, २२ : ५०
सोमबार, २१ चैत २०७८

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेलको सम्भावना टर्दै गएको छ । जसपा नेपालले सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने निर्णय गरिसकेको छ । सत्तारुढ गठबन्धनभित्र पनि आपसमा तालमेल गरी स्थानीय तहको निर्वाचनमा जाने समझदारी भइसकेको छ ।

लोसपा नेपाल सत्तारुढ गठबन्धनभन्दा बाहिर छ । त्यसैले जसपा नेपाल र लोसपा नेपालबीच चुनावी तालमेलको सम्भावना करिब करिब अन्त्य भएको हो । जसपा नेपालबाटै फुटेर बनेको लोसपा नेपालले स्थानीय तहको निर्वाचनमा कोसँग तालमेल गर्ने भन्नेबारे प्रस्ट निर्णय गरिसकेको छैन । सो पार्टीका नेताहरु आवश्यकताअनुसार तालमेलबारे स्थानीय कमिटीले नै निर्णय लिन सक्ने बताउँछन् ।

सत्तारुढ गठबन्धन आपसमा तालमेलका साथ चुनावमा जाने भएसँगै अर्को ध्रुवमा रहेको नेकपा एमाले पनि चुनावी तालमेलका लागि पहल गर्न थालेको छ । एमालेले राप्रपाका दुवै खेमासँग चुनावी तालमेलबारे छलफल थालेको छ ।

लोसपा नेपाल पनि एमालेको रोजाइमा पर्ने सम्भावना देखिन्छ । किनकि, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन सरकारमा सहभागिताको विषयलाई लिएर नै जसपा नेपाल विभाजन भएर लोसपा नेपाल गठन भएको थियो ।

पार्टी विभाजनका क्रममा स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिमध्ये ८० प्रतिशतभन्दा बढी प्रतिनिधि जसपामै रहेको दाबी जसपाका कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले गरेका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा लोसपाले मधेस प्रदेशमा केही पालिकामा जित हासिल गर्न सक्ने तर अन्य प्रदेशमा एक सीट पनि नआउने दाबी गरे । उनले भने, ‘यस्तै अवस्था रह्यो भने प्रतिनिधिसभा र प्रदेशसभामा लोसपा क्लिन स्वीप नै हुन्छ ।’

पश्चिम मधेसमा रेशम चौधरी, गोविन्द चौधरी, हृदयेश त्रिपाठीलगायतका नेताका कारण महन्थ ठाकुर नेतृत्वको पार्टीले केही सिट जित्ने गरेकोमा अहिले ती नेताहरूमध्ये कोही पनि ठाकुरको साथमा छैनन् । त्यसले गर्दा पश्चिम मधेसमा लोसपाको हालत धेरै खराब रहेको उनले बताए ।

लोसपाका कार्यकारिणी सदस्य अकबाल अहमदले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले पनि राम्रो नतिजा ल्याउने दाबी गरे । उनले भने, ‘स्थानीयस्तरमा आवश्यकता अनुसार कुनै दलसँग चुनाव तालमेल हुन सक्छ । यसका लागि अधिकार दिइसकेको छ ।’ पालिकाहरूमा जहाँ जहाँ जोसँग तालमेल हुन सक्छ, गठबन्धन बनाएर जाने निर्णय भएको उनले बताए ।

जसपा नेपाल गत भदौमा विभाजन भएपछि तराईमधेसमा बलियो राजनीतिक शक्तिको अपेक्षा गरेका जनता भने निराश छन् । किनकि, जसपा नेपाल मधेस आन्दोलनको पृष्ठभूमि बोकेका सबैजसो नेता सम्मिलित सशक्त दल मानिएको थियो । तर महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले पार्टी विभाजन गराई लोसपा नेपाल गठन गरेपछि मधेस आन्दोलनको पृष्ठभूमि बोकेका दल दुई वटा भएका छन् । त्यसैले सकेसम्म यी दुवै दलबीच एकता, नभए पनि आगामी निर्वाचनमा यिनै दुई दलबीच तालमेल हुनुपर्ने पक्षमा दुवै दलका कार्यकर्ता छन् । तर, नेतृत्व तह भने आपसमा निकट र मित्रतापूर्ण सम्बन्ध राख्नसमेत सकिरहेको छैन ।

इतिहास हेर्ने हो भने पनि २०६४÷०६५ देखि मोर्चाबन्दी तथा गठबन्धन बनाएर एक साथ आन्दोलन गरेका यी दलको बीचमा चुनावी गठबन्धन कहिले फापेन । लोसपाका नेता उपेन्द्र महतोका अनुसार पहिलो र दोस्रो संविधानसभा चुनावमा दुई पार्टीबीच एकीकरण गर्ने प्रयास भए पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले पटक पटक धोका दिएका थिए ।

हाल जसपा नेपाल र लोसपा नेपालका नेताहरु २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अलग अलग दलमा यसैगरी ध्रुवीकृत थिए । उनीहरुबीच चुनावी गठबन्धन भयो र त्यसबाट नतिजा पनि राम्रो नै आयो ।

पहिलो मधेस आन्दोलनमा मधेसवादी दलबीच मोर्चाबन्दी भएको थियो । चुनावमा पनि सँगै मिलेर जाने कुरा थियो । त्यसका लागि तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षामा तत्कालीन तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौँमा बसेका थिए । तर उपेन्द्र यादव भने एक्लै चुनावको तयारीमा लागेका थिए । तत्कालीन फोरम एक्लै चुनाव लड्ने गरी अगाडि बढेपछि तमलोपा र सद्भावना पार्टी पनि एक्लाएक्लै चुनाव लडे ।

मधेसी मोर्चाबीच २०७० को चुनावमा सहभागी नै नहुने निर्णय भएको थियो । तर उपेन्द्र यादव फेरि भित्रभित्रै चुनावको तयारीमा लागेपछि अन्य मधेसवादी दल पनि निर्वाचनमा जान बाध्य भएका थिए । २०७४ को चुनावमा पनि संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने निर्णय तत्कालीन मधेसी मोर्चामा भएको थियो । तर उपेन्द्र यादव भने भित्रभित्रै चुनावको तयारीमा लागिसकेका थिए ।

उपेन्द्र यादवले धोका दिएको कारणले स्थानीय तहको पहिलो चरणको चुनावमा महन्थ ठाकुरको पार्टीले भाग नै लिन नसकेको लोसपाका नेता उपेन्द्र महतोले बताए । दोस्रो चरणमा भएको स्थानीय तहको चुनावमा मात्र तत्कालीन राजपा नेपालले भाग लिएको थियो ।

पछि प्रदेश र प्रतिनिधिसभाको चुनावमा मात्र तत्कालीन फोरम र राजपा नेपालबीच गठबन्धन भएको थियो । दुवै दलले प्रतिनिधिसभामा ३४ सीट ल्याएका थिए भने मधेस प्रदेशमा ५५ सीट ल्याउन सफल भए ।

मधेस प्रदेशमा तत्कालीन फोरमले २६ स्थानीय तहमा प्रमुखमा जितेको थियो भने तत्कालीन राजपाले २५ वटा स्थानीय तहको प्रमुख जितेको थियो । दुवै दल मधेसमा बराबरको शक्तिमा थिए ।

चुनावबाट बराबरको शक्तिमा रहेका यी दुवै शक्तिमध्ये उपेन्द्र यादव शक्तिशाली भए । मधेस प्रदेशमा उपेन्द्र यादवले ३० सीट जितेका थिए तर यो विभाजनपछि जसपा नेपाल ३९ जना प्रदेशसभा सदस्यको पार्टी बन्यो ।

संघमा उपेन्द्र यादवको पार्टीले १६ सीट जितेका थिए । तर यो विभाजनपछि उपेन्द्र यादव नेतृत्वको पार्टी २१ सीटको पार्टी भएको छ । स्थानीय तहमा पनि उपेन्द्र यादव नेतृत्वको जसपा लोसपाभन्दा शक्तिशाली भएको छ । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपाले प्रदेशमा २५ वटा सीट जितेको थियो तर अहिले त्यो दलसँग १६ सीट मात्र बाँकी छ ।

संघमा महन्थ ठाकुर नेतृत्वको पार्टीले १७ वटा सीट जितेको थियो तर अहिले १२ सीटमा सीमित भएको छ । 

जसपाका प्रदेश–१ मा तीन, बागमतीमा एक, लुम्बिनीमा तीन र सुदूरपश्चिम प्रदेशमा दुई प्रदेश सांसद छन् । लुम्बिनी प्रदेशमा ६ प्रदेशसभा सदस्य रहेकोमा ठाकुर पक्षमा लागेका तीन जनालाई जसपाले कारबाही गरेपछि उनीहरूको पद गइसकेको छ । महन्थ ठाकुर नेतृत्वको लोसपासँग प्रदेश–२ बाहेक अन्य प्रदेशमा प्रदेशसभा सदस्य छैनन् । जसपा संघ, प्रदेश र स्थानीय तहमा लोसपाभन्दा शक्तिशाली छ ।

चुनावको मिति घोषणा हुँदा स्थानीय तहबाट केही नेता तथा कार्यकर्ता लोसपामा गएका छन् भने लोसपाबाट केही नेता तथा कार्यकर्ता जसपामा आएका छन् । त्यो आउने जाने क्रम अझै जारी छ । दुवै पार्टीले एक अर्काको नेता तथा कार्यकर्ता तान्ने प्रयासमा लागेका छन् । यसले दुईमध्ये को ठुलो भन्ने विषयमा मात्र अर्थ राख्ने जानकारहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप