शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सात प्रदेशमा माओवादीको हिसाब : देशैभरि २१० स्थानीय तह जित्ने दाबी

आइतबार, २० चैत २०७८, २२ : ५४
आइतबार, २० चैत २०७८

 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रले कति स्थानमा विजय हासिल गर्ला ? ०७४ चुनावमा भन्दा यसपालि माओवादीको सिट संख्या बढ्ला कि घट्ला ? यसबारे हामीले सातै प्रदेशका माओवादी नेताहरुसँग सम्पर्क गरेर पार्टीको चुनावी विश्लेषणबारे सोधखोज गरेका छौं । 

देशभरका कुल ७५३ स्थानीय तहमध्ये माओवादी केन्द्रले ०७४ को निर्वाचनमा १०६ स्थानीय तहका प्रमुखमा जितेको थियो । आगामी चुनावमा यो सिट संख्या बढ्ने माओवादी नेताहरुको दाबी छ । माओवादीका प्रदेश अध्यक्षहरूका अनुसार आगामी स्थानीय निर्वाचनमा २१० स्थानीय तह जित्ने विश्लेषण छ । यदि सत्ता गठबन्धन भएमा त्योभन्दा बढी स्थानीय तह जित्ने उनीहरुको आकलन छ ।

माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले २ सय स्थानीय तह ढुक्कसँग जितिने बताए । उनले भने, ‘पार्टीको महाधिवेशनपछि नौ लाख पार्टी सदस्य पुगेका छन् । पार्टी छाडेर गएका नेताहरुसँग कार्यकर्ता गएका छैनन् । छरिएर रहेका माओवादी कार्यकर्ता पुनः संगठित भएका छन् । वडादेखि केन्द्रसम्मको अधिवेशनले माओवादीमा पुनर्जागरण आएको छ । त्यसैले यसअघि भन्दा बढि जित्नेमा ढुक्क छौं ।

पार्टी सदस्यता र मतदाता धेरै थपिएकाले माओवादी सोचेको भन्दा बलियो हुने पौडेलको दाबी छ । उनी भन्छन्, ‘यसअघि निर्वाचनमा रामबहादुर थापा बादल समूहका धेरैको मतदातामा नामावलीमा नाम थिएन । आगामी चुनावमा पार्टीका सबै संगठित सदस्यहरुलाई मतदाता नामावलीमा समेटेका छौं । अरु मतदाता समेत बढेका छन् ।

सत्ता गठबन्धन भएर सबै दलले सबैलाई मतदान गर्ने अवस्था आएमा करिव तीन सय स्थानीय तह जितिने पौडेलले दाबी गरे ।

प्रदेश एकमा एक नम्बर बनाउँछौं : हर्कबहादुर नेम्बाङ

कुल स्थानीय तह–१३७

गत चुनावको नतिजा – ९

आगामी चुनावमा जित्ने अनुमान– ३५

प्रदेश नम्बर एकका कुल १३७ स्थानीय तहमध्ये माओवादीले ०७४ सालमा ९ स्थानीय तहमात्रै जितेको थियो । त्यसमध्ये माओवादीबाट निर्वाचित रंगेली नगरपालिका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल एमालेमा प्रवेश गरिसकेका छन् । माओवादीले जितेका अन्य ८ स्थानीय तहमात्रै छन् ।

आगामी निर्वाचनमा माओवादीलाई पहिलो बनाउने प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले दाबी गरे । यस प्रदेशमा माओवादीलाई कमजोर भनिन्छ, उनले भने, ‘तर बाहिर भनिए जस्तो कमजोर छैन । कुल १३७ स्थानीय तहमा ९ वटा मात्रै जिते पनि ६० स्थानमा दोस्रो र तेस्रो भएका छौं नेम्वाङले रातोपाटीसँग भने, ‘पछिल्लो समय पार्टीमा उभार आएकाले प्रदेशकै पहिलो पार्टी बनाउने गरी लागिपरेका छौं ।

एमाले विभाजन भएको र काँग्रेस गुटबन्दीमा फसेकाले माओवादीले ३५ भन्दा बढी सीट ल्याएर पहिलो हुने नेम्वाङको दाबी छ । यदि सत्ता गठबन्धन भएमा ७० स्थानीय तह माओवादीले जित्ने उनले बताए ।

मधेस प्रदेशमा माओवादीको फुटको असर हुन दिँदैनौ : अध्यक्ष प्रह्लाद बुढाथोकी मधेस प्रदेश

कुल स्थानीय तह–१३६

गत चुनावको नतिजा – २१

आगामी चुनावमा जित्ने अनुमान– ६०

मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादीले २१ स्थानीय तह जितेको थियो । प्रभु साह लगायत नेताहरु एमालेमा प्रवेश गरेपछि खास गरी रौतहटमा फुटको असर देखिएको छ । साह एमाले प्रवेश गरेपछि यस प्रदेशबाट ९ जना स्थानीय जनप्रतिनिधिले पार्टी छाडेका छन् । तीमध्ये दुई नगरपालिका प्रमुख र एक गाउँपालिका प्रमुख एमालेमा प्रवेश गरेका छन् ।

पार्टीमा फुटको असर नदेखिने गरी स्थानीय तहमा जितिने प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए । पार्टीबाट प्रभु साहहरु एमाले प्रवेश गरेपछि थोरै असर हुनु स्वाभाविकै हो, बुढाथोकीले भने, ‘तर हामीले फुटको असर हुन नदिई अघिल्लोपटक भन्दा सुधार गर्ने प्रयत्न गर्नेछौं ।

यदि सत्ता गठबन्धन भएमा मधेस प्रदेशमा कुल ६० स्थानीय तह जित्ने बुढाथोकीको दाबी छ । पार्टीका संगठित सदस्य बढेकाले मधेस प्रदेशमा माओवादी बलियो भएको बताउँदै बुढाथोकीले भने, ‘यदि एकल रुपमै प्रतिस्पर्धा भए पनि मधेसमा माओवादीले ३० भन्दा बढी स्थानीय तह जित्छ ।

बागमतीमा ४० स्थानीय तह जित्छौं : सरल सहयात्री

कुल स्थानीय तह–११९

गत चुनावको नतिजा – १६

आगामी चुनावमा जित्ने अनुमान– ४०

बागमती प्रदेशका कुल ११९ स्थानीय तहमध्ये माओवादीले १६ स्थानीय तहमा जितेको थियो । यसअघिको निर्वाचनमा २० स्थानीय तहमा दोस्रो र अरुमा तेस्रो स्थान आएकाले आगामी चुनावमा ४० स्थानीय तह जित्ने प्रदेश अध्यक्ष सरल सहयात्रीले रातोपाटीलाई बताए ।

उनले भने, ‘हामीले बाग्मती प्रदेशमा यसअघि कुल १६ स्थानीय तह जितेका थियौं । त्यहाँ जितेका अधिकांश संगठनको आधारमै रहेर जितेका हौं । अरु धेरैजसो पालिकामा सबै वडासहित जितेका छौं । यदि हामीले चुनावी कार्यनीतिलाई ठीक ढंगले निर्माण गर्ने हो भने माओवादी एकदमै कमजोर होइन ।

अध्यक्ष पौडेलले अगाडि भने, ‘हामी दोस्रो भएर हारेको मतलाई विश्लेषण गर्दा प्रतिस्पर्धालाई जितमा रुपान्तरण गर्न सक्छौं । त्यसका लागि हाम्रा चुनावी भूमिकाहरुलाई बदल्न जरुरी छ । त्यसो भएमा हामी दोस्रो भएका २० पालिकालाई जितमा रुपान्तरण गर्न सक्छौं । अरु तेस्रो स्थानमा भएका पालिकालाई बल गरे जित्न सक्ने अवस्था छ । त्यसो हुँदा एकलरुपमै ४० स्थानीय तह जित्न सक्छौं ।

चुनावमा गठबन्धन भएमा ४० भन्दा बढी स्थानीय तह जित्ने पौडेलको दाबी छ । माओवादी गठबन्धन नगरेमा बागमतीमा कमजोर नहुने बताउँदै पौडेलले भने, ‘गठबन्धन माओवादीलाई मात्रै चाहिएको भन्ने गरी प्रचार भइरहेको छ । त्यो हुँदै होइन ।

लुम्बिनी प्रदेशमा हिसाब गर्दैछौंः चक्रपाणि खनाल

कुल स्थानीय तह–१०९

गत चुनावको नतिजा – १९

आगामी चुनावमा जित्ने अनुमान– ३०

कुल १०९ स्थानीय तह रहेको लुम्बिनीमा यसअघि माओवादीले १९ स्थानीय तह मात्रै जितेको थियो । यस प्रदेशबाट कोही पनि प्रमुख उपप्रमुखले पार्टी नछाडेको माओवादी नेताहरु बताउँछन् । त्यसैले माओवादीमा पार्टी विभाजनको असर खासै नपर्ने लुम्बिनी प्रदेशका इञ्चार्ज चक्रपाणि खनालले रातोपाटीलाई बताए ।

खनालले भने, ‘आगामी निर्वाचनमा कति स्थानीय तह जितिन्छ भन्ने विषयमा विश्लेषण गर्दैछौैं । यसअघिको भन्दा बढी नै जित्छौं । गठबन्धन भयो भने राम्रै सीट ल्याउँछौं, त्यसमा शंकै छैन ।

नेकपा विभाजन भएर एमाले माओवादी ब्युँतिएपछि पार्टी संगठन बलियो बनाएको खनालको दाबी छ । माओवादीले एकलरुपमा ३० स्थानीय तह भन्दा बढी जित्ने उनको दाबी छ ।

गण्डकीमा माओवादी एक्लै १५ सीट जित्छः गायत्री गुरुङ

कुल स्थानीय तह–८५

गत चुनावको नतिजा – ५

आगामी चुनावमा जित्ने अनुमान– १५

गण्डकी प्रदेशमा कुल ८५ स्थानीय तह छन् । यीमध्ये माओवादीले ५ स्थानीय तह मात्र जितेको थियो । सबैभन्दा कम स्थानीय तह माओवादीले गण्डकीमा जितेको थियो । यस प्रदेशमा माओवादीले आगामी चुनावमा १५ सीट जित्ने दाबी गरेको छ । तालमेल भएमा २५ सीट जित्ने उसको आकलन छ ।

कर्णालीमा पहिलो पार्टी ढुक्कसँग हुन्छौंः विमला केसी

कुल स्थानीय तह– ७९

गत चुनावको नतिजा – २६

आगामी चुनावमा जित्ने अनुमान– ४०

कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये माओवादीले २६ स्थानीय तह जितेको थियो । एमालेले २७, कांग्रेसले २५ र स्वतन्त्र २ ले स्थानीय तह जितेका थिए । एमाले विभाजन भएको र काँग्रेस गुटबन्दीमा फसेकाले आगामी चुनावमा माओवादी पहिलो हुने कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीको दाबी छ ।

पछिल्लो समय कर्णालीको पार्टी संगठन राम्रो भएको केसीले बताइन् । एमाले विभाजन हुँदा हामी नै पहिलो शक्ति छौं केसीले भनिन्, ‘आगामी चुनावमा पनि हामी पहिलो पार्टी बन्ने कुरामा दुईमत छैन ।

उनले थपिन्, ‘पछिल्लो समय हामीले संगठन बलियो बनाएका छौं । योबीचमा प्यारालाइसिस भएको पार्टीलाई सुदृढीकरण गर्दै एजेण्डाहरु बलियो बनाएका छौं । हाम्रो पार्टीमा आउने जनलहर बढेको छ ।

सुदूरपश्चिममा दोब्बर जित्छौँ : खगराज भट्ट

कुल स्थानीय तह–८०

गत चुनावको नतिजा – १०

आगामी चुनावमा जित्ने अनुमान– २०

सुदुरपश्चिम प्रदेशका ८० स्थानीय तहमध्ये माओवादीले यसअघि १० स्थानीय तह जितेको थियो । पूर्व माओवादी नेता लेखराज भट्ट एमालेमा प्रवेश गरे पनि कुनै स्थानीय तहका प्रमुखहरु एमालेमा गएका छैनन् । भट्टसँग केही वडा अध्यक्ष र वडा सदस्य मात्रै गएको माओवादी नेताहरु बताउँछन् ।

लेखराज भट्ट एमालेमा प्रवेश गरे पनि यसपालि माओवादीले ०७४ सालको भन्दा दोब्बर स्थानीय तह जित्ने सुदुरपश्चिमका इञ्चार्ज खगराज भट्टले दाबी गरे । सुदुर पश्चिमबाट एकल रुपमै २० बढी स्थानीय तह जित्ने उनको दाबी छ । गठबन्धन भएमा ३० स्थानीय तह जित्ने माओवादीको दाबी छन् ।

नेकपा विभाजनपछि जति एमालेमा क्षति भएको छ, त्यति हामीलाई भएको छैन, भट्टले रातोपाटीसँग भने, ‘एमालेको त एउटा हिस्सा नै एकीकृत समाजवादीका रुपमा संगठित भएको छ । माओवादीमा दुईचारजना आउनेजाने कुरा हाम्रो युद्धकालमा पनि भइरहन्थ्यो । रविन्द्र श्रेष्ठ, मणि थापाहरु माओवादी छोडेर हिजो पनि गएकै हुन् । तर उहाँहरुको पछि को लाग्यो ? अहिले लेखराजजी एमालेमा गएपछि हामीले एक लाख सदस्य संगठित गरेका छौं । माओवादी बलियो भएको  योभन्दा बढी तथ्य पेश गर्नु पर्छ र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप