सात प्रदेशमा माओवादीको हिसाब : देशैभरि २१० स्थानीय तह जित्ने दाबी
आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रले कति स्थानमा विजय हासिल गर्ला ? ०७४ चुनावमा भन्दा यसपालि माओवादीको सिट संख्या बढ्ला कि घट्ला ? यसबारे हामीले सातै प्रदेशका माओवादी नेताहरुसँग सम्पर्क गरेर पार्टीको चुनावी विश्लेषणबारे सोधखोज गरेका छौं ।
देशभरका कुल ७५३ स्थानीय तहमध्ये माओवादी केन्द्रले ०७४ को निर्वाचनमा १०६ स्थानीय तहका प्रमुखमा जितेको थियो । आगामी चुनावमा यो सिट संख्या बढ्ने माओवादी नेताहरुको दाबी छ । माओवादीका प्रदेश अध्यक्षहरूका अनुसार आगामी स्थानीय निर्वाचनमा २१० स्थानीय तह जित्ने विश्लेषण छ । यदि सत्ता गठबन्धन भएमा त्योभन्दा बढी स्थानीय तह जित्ने उनीहरुको आकलन छ ।
माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले २ सय स्थानीय तह ढुक्कसँग जितिने बताए । उनले भने, ‘पार्टीको महाधिवेशनपछि नौ लाख पार्टी सदस्य पुगेका छन् । पार्टी छाडेर गएका नेताहरुसँग कार्यकर्ता गएका छैनन् । छरिएर रहेका माओवादी कार्यकर्ता पुनः संगठित भएका छन् । वडादेखि केन्द्रसम्मको अधिवेशनले माओवादीमा पुनर्जागरण आएको छ । त्यसैले यसअघि भन्दा बढि जित्नेमा ढुक्क छौं ।’
पार्टी सदस्यता र मतदाता धेरै थपिएकाले माओवादी सोचेको भन्दा बलियो हुने पौडेलको दाबी छ । उनी भन्छन्, ‘यसअघि निर्वाचनमा रामबहादुर थापा बादल समूहका धेरैको मतदातामा नामावलीमा नाम थिएन । आगामी चुनावमा पार्टीका सबै संगठित सदस्यहरुलाई मतदाता नामावलीमा समेटेका छौं । अरु मतदाता समेत बढेका छन् ।’
सत्ता गठबन्धन भएर सबै दलले सबैलाई मतदान गर्ने अवस्था आएमा करिव तीन सय स्थानीय तह जितिने पौडेलले दाबी गरे ।
प्रदेश एकमा एक नम्बर बनाउँछौं : हर्कबहादुर नेम्बाङ
कुल स्थानीय तह–१३७
गत चुनावको नतिजा – ९
आगामी चुनावमा जित्ने अनुमान– ३५
प्रदेश नम्बर एकका कुल १३७ स्थानीय तहमध्ये माओवादीले ०७४ सालमा ९ स्थानीय तहमात्रै जितेको थियो । त्यसमध्ये माओवादीबाट निर्वाचित रंगेली नगरपालिका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल एमालेमा प्रवेश गरिसकेका छन् । माओवादीले जितेका अन्य ८ स्थानीय तहमात्रै छन् ।
आगामी निर्वाचनमा माओवादीलाई पहिलो बनाउने प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले दाबी गरे । ‘यस प्रदेशमा माओवादीलाई कमजोर भनिन्छ,’ उनले भने, ‘तर बाहिर भनिए जस्तो कमजोर छैन । कुल १३७ स्थानीय तहमा ९ वटा मात्रै जिते पनि ६० स्थानमा दोस्रो र तेस्रो भएका छौं’ नेम्वाङले रातोपाटीसँग भने, ‘पछिल्लो समय पार्टीमा उभार आएकाले प्रदेशकै पहिलो पार्टी बनाउने गरी लागिपरेका छौं ।’
एमाले विभाजन भएको र काँग्रेस गुटबन्दीमा फसेकाले माओवादीले ३५ भन्दा बढी सीट ल्याएर पहिलो हुने नेम्वाङको दाबी छ । यदि सत्ता गठबन्धन भएमा ७० स्थानीय तह माओवादीले जित्ने उनले बताए ।
मधेस प्रदेशमा माओवादीको फुटको असर हुन दिँदैनौ : अध्यक्ष प्रह्लाद बुढाथोकी मधेस प्रदेश
कुल स्थानीय तह–१३६
गत चुनावको नतिजा – २१
आगामी चुनावमा जित्ने अनुमान– ६०
मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादीले २१ स्थानीय तह जितेको थियो । प्रभु साह लगायत नेताहरु एमालेमा प्रवेश गरेपछि खास गरी रौतहटमा फुटको असर देखिएको छ । साह एमाले प्रवेश गरेपछि यस प्रदेशबाट ९ जना स्थानीय जनप्रतिनिधिले पार्टी छाडेका छन् । तीमध्ये दुई नगरपालिका प्रमुख र एक गाउँपालिका प्रमुख एमालेमा प्रवेश गरेका छन् ।
पार्टीमा फुटको असर नदेखिने गरी स्थानीय तहमा जितिने प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए । ‘पार्टीबाट प्रभु साहहरु एमाले प्रवेश गरेपछि थोरै असर हुनु स्वाभाविकै हो,’ बुढाथोकीले भने, ‘तर हामीले फुटको असर हुन नदिई अघिल्लोपटक भन्दा सुधार गर्ने प्रयत्न गर्नेछौं ।’
यदि सत्ता गठबन्धन भएमा मधेस प्रदेशमा कुल ६० स्थानीय तह जित्ने बुढाथोकीको दाबी छ । ‘पार्टीका संगठित सदस्य बढेकाले मधेस प्रदेशमा माओवादी बलियो भएको बताउँदै बुढाथोकीले भने, ‘यदि एकल रुपमै प्रतिस्पर्धा भए पनि मधेसमा माओवादीले ३० भन्दा बढी स्थानीय तह जित्छ ।’
बागमतीमा ४० स्थानीय तह जित्छौं : सरल सहयात्री
कुल स्थानीय तह–११९
गत चुनावको नतिजा – १६
आगामी चुनावमा जित्ने अनुमान– ४०
बागमती प्रदेशका कुल ११९ स्थानीय तहमध्ये माओवादीले १६ स्थानीय तहमा जितेको थियो । यसअघिको निर्वाचनमा २० स्थानीय तहमा दोस्रो र अरुमा तेस्रो स्थान आएकाले आगामी चुनावमा ४० स्थानीय तह जित्ने प्रदेश अध्यक्ष सरल सहयात्रीले रातोपाटीलाई बताए ।
उनले भने, ‘हामीले बाग्मती प्रदेशमा यसअघि कुल १६ स्थानीय तह जितेका थियौं । त्यहाँ जितेका अधिकांश संगठनको आधारमै रहेर जितेका हौं । अरु धेरैजसो पालिकामा सबै वडासहित जितेका छौं । यदि हामीले चुनावी कार्यनीतिलाई ठीक ढंगले निर्माण गर्ने हो भने माओवादी एकदमै कमजोर होइन ।
अध्यक्ष पौडेलले अगाडि भने, ‘हामी दोस्रो भएर हारेको मतलाई विश्लेषण गर्दा प्रतिस्पर्धालाई जितमा रुपान्तरण गर्न सक्छौं । त्यसका लागि हाम्रा चुनावी भूमिकाहरुलाई बदल्न जरुरी छ । त्यसो भएमा हामी दोस्रो भएका २० पालिकालाई जितमा रुपान्तरण गर्न सक्छौं । अरु तेस्रो स्थानमा भएका पालिकालाई बल गरे जित्न सक्ने अवस्था छ । त्यसो हुँदा एकलरुपमै ४० स्थानीय तह जित्न सक्छौं ।’
चुनावमा गठबन्धन भएमा ४० भन्दा बढी स्थानीय तह जित्ने पौडेलको दाबी छ । माओवादी गठबन्धन नगरेमा बागमतीमा कमजोर नहुने बताउँदै पौडेलले भने, ‘गठबन्धन माओवादीलाई मात्रै चाहिएको भन्ने गरी प्रचार भइरहेको छ । त्यो हुँदै होइन ।’
लुम्बिनी प्रदेशमा हिसाब गर्दैछौंः चक्रपाणि खनाल
कुल स्थानीय तह–१०९
गत चुनावको नतिजा – १९
आगामी चुनावमा जित्ने अनुमान– ३०
कुल १०९ स्थानीय तह रहेको लुम्बिनीमा यसअघि माओवादीले १९ स्थानीय तह मात्रै जितेको थियो । यस प्रदेशबाट कोही पनि प्रमुख उपप्रमुखले पार्टी नछाडेको माओवादी नेताहरु बताउँछन् । त्यसैले माओवादीमा पार्टी विभाजनको असर खासै नपर्ने लुम्बिनी प्रदेशका इञ्चार्ज चक्रपाणि खनालले रातोपाटीलाई बताए ।
खनालले भने, ‘आगामी निर्वाचनमा कति स्थानीय तह जितिन्छ भन्ने विषयमा विश्लेषण गर्दैछौैं । यसअघिको भन्दा बढी नै जित्छौं । गठबन्धन भयो भने राम्रै सीट ल्याउँछौं, त्यसमा शंकै छैन ।’
नेकपा विभाजन भएर एमाले माओवादी ब्युँतिएपछि पार्टी संगठन बलियो बनाएको खनालको दाबी छ । माओवादीले एकलरुपमा ३० स्थानीय तह भन्दा बढी जित्ने उनको दाबी छ ।
गण्डकीमा माओवादी एक्लै १५ सीट जित्छः गायत्री गुरुङ
कुल स्थानीय तह–८५
गत चुनावको नतिजा – ५
आगामी चुनावमा जित्ने अनुमान– १५
गण्डकी प्रदेशमा कुल ८५ स्थानीय तह छन् । यीमध्ये माओवादीले ५ स्थानीय तह मात्र जितेको थियो । सबैभन्दा कम स्थानीय तह माओवादीले गण्डकीमा जितेको थियो । यस प्रदेशमा माओवादीले आगामी चुनावमा १५ सीट जित्ने दाबी गरेको छ । तालमेल भएमा २५ सीट जित्ने उसको आकलन छ ।
कर्णालीमा पहिलो पार्टी ढुक्कसँग हुन्छौंः विमला केसी
कुल स्थानीय तह– ७९
गत चुनावको नतिजा – २६
आगामी चुनावमा जित्ने अनुमान– ४०
कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये माओवादीले २६ स्थानीय तह जितेको थियो । एमालेले २७, कांग्रेसले २५ र स्वतन्त्र २ ले स्थानीय तह जितेका थिए । एमाले विभाजन भएको र काँग्रेस गुटबन्दीमा फसेकाले आगामी चुनावमा माओवादी पहिलो हुने कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीको दाबी छ ।
पछिल्लो समय कर्णालीको पार्टी संगठन राम्रो भएको केसीले बताइन् । ‘एमाले विभाजन हुँदा हामी नै पहिलो शक्ति छौं’ केसीले भनिन्, ‘आगामी चुनावमा पनि हामी पहिलो पार्टी बन्ने कुरामा दुईमत छैन ।’
उनले थपिन्, ‘पछिल्लो समय हामीले संगठन बलियो बनाएका छौं । योबीचमा प्यारालाइसिस भएको पार्टीलाई सुदृढीकरण गर्दै एजेण्डाहरु बलियो बनाएका छौं । हाम्रो पार्टीमा आउने जनलहर बढेको छ ।’
सुदूरपश्चिममा दोब्बर जित्छौँ : खगराज भट्ट
कुल स्थानीय तह–८०
गत चुनावको नतिजा – १०
आगामी चुनावमा जित्ने अनुमान– २०
सुदुरपश्चिम प्रदेशका ८० स्थानीय तहमध्ये माओवादीले यसअघि १० स्थानीय तह जितेको थियो । पूर्व माओवादी नेता लेखराज भट्ट एमालेमा प्रवेश गरे पनि कुनै स्थानीय तहका प्रमुखहरु एमालेमा गएका छैनन् । भट्टसँग केही वडा अध्यक्ष र वडा सदस्य मात्रै गएको माओवादी नेताहरु बताउँछन् ।
लेखराज भट्ट एमालेमा प्रवेश गरे पनि यसपालि माओवादीले ०७४ सालको भन्दा दोब्बर स्थानीय तह जित्ने सुदुरपश्चिमका इञ्चार्ज खगराज भट्टले दाबी गरे । सुदुर पश्चिमबाट एकल रुपमै २० बढी स्थानीय तह जित्ने उनको दाबी छ । गठबन्धन भएमा ३० स्थानीय तह जित्ने माओवादीको दाबी छन् ।
‘नेकपा विभाजनपछि जति एमालेमा क्षति भएको छ, त्यति हामीलाई भएको छैन,’ भट्टले रातोपाटीसँग भने, ‘एमालेको त एउटा हिस्सा नै एकीकृत समाजवादीका रुपमा संगठित भएको छ । माओवादीमा दुई–चारजना आउने–जाने कुरा हाम्रो युद्धकालमा पनि भइरहन्थ्यो । रविन्द्र श्रेष्ठ, मणि थापाहरु माओवादी छोडेर हिजो पनि गएकै हुन् । तर उहाँहरुको पछि को लाग्यो ? अहिले लेखराजजी एमालेमा गएपछि हामीले एक लाख सदस्य संगठित गरेका छौं । माओवादी बलियो भएको योभन्दा बढी तथ्य पेश गर्नु पर्छ र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)
-
सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचारमा दोषी ठहर
-
विपन्नलाई ठण्डीबाट बचाउन पूर्वतयारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पाकिस्तानमा प्रहरी र इमरान खानका समर्थकबिच झडप
-
सिड्नीमा सत्य–स्वरूपको सांगीतिक साँझ हुने
-
यी हुन् उपनिर्वाचनमा भाग लिएका ३७६ जना उम्मेदवार (सूचीसहित)