बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या छैन : मिश्र

आइतबार, २० चैत २०७८, २० : १६
आइतबार, २० चैत २०७८

नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाईड्रो एक्सपोको दोस्रो दिनको छलफल सत्रलाई सम्बोधन गदै मिश्र सहितका वक्ताहरूले लगानीयोग्य पूँजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको प्रष्ट पारेका हुन् ।

 मिश्रले जलविद्युत्को विकास तथा प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्र प्रत्यक्ष र दुरगामी महत्त्व राख्ने क्षेत्र भएकाले राष्ट्र बैंकले सो क्षेत्रको आवश्यकता अनुसार आर्थिक स्रोतको सहज व्यवस्थापन हुने गरी मौद्रिक नीति तथा अन्य निर्देशनहरू ल्याउने गरेको बताए। उनले भने, “देशको मुहार फेर्ने र पेट्रोलियम प्रतिस्थापन गर्न खास आवश्यकता भनेकै जलविद्युत् हो भन्ने राष्ट्र बैंकले बुझेको छ, त्यही अनुसार हामीले डाईनामिक पोलीसी ल्याउने गरेका छौँ ।”  

स्वदेशी बैंकहरुले जलविद्युत् क्षेत्रमा गर्ने लगानीको सीमा अझै नपुगेको र चाहिएका अवस्थामा त्यसलाई थप बढाएर जान सक्ने सङ्केत उनले गरे । वैदेशिक लगानी भित्र्याउने प्रक्रियालाई ५० प्रतिशत सहज बनाएको बताउँदै उनले अहिलेको तरलताको समस्या पनि जलविद्युत् सँग सम्बन्धित कुनै पनि पक्षको आयातमा कुनै खाले अवरोध नराखिएको उनको भनाई थियो । 

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का उपाध्यक्ष भोजबहादुर शाहले कर्मचारी सञ्चय कोष, लगानी कोषजस्ता सरकारी स्वामित्वका ठूला डिपोजिटरले व्याजमा खेल्ने अवस्थाले जलविद्युत्जस्ता दीर्घकालीन लगानी क्षेत्रमा आक्रामक लगानी गर्न समस्या परेको बताए ।

त्यस्तै धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत निरज गिरीले जलविद्युत् विकासकर्ताले संस्थागत सुशासनलाई अझै राम्रो बनाउनु जान सुझाव दिएका थिए । छलफलमा मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष मेख बहादुर थापाले जलविद्युत् आयोजनामा दिगो लगानीको स्रोतका रूपमा डिबेन्चरमार्फत ऋण जुटाउने विकल्प प्रयोग प्रभावकारी हुने जिकिर गरे   ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप