बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरको प्रमुखमा काँग्रेसको दाबी

आइतबार, २० चैत २०७८, १९ : २१
आइतबार, २० चैत २०७८

भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने काँग्रेस चितवनले निर्णय गरेको छ ।

पार्टी कार्यालय कमलनगरमा आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा काँग्रेसको उमेदवार रहनेगरी सात वटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

महानगरको प्रमुख पदमा काँग्रेसकै उमेदवार रहनेगरी तालमेल गर्ने निर्णय गरेको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । ‘नेपाली काँग्रेस चितवनको आजको बैठकको निर्णयको बटम लाइन भनेको महानगर प्रमुख नेपाली काँग्रेसको उमेदवार हुने हो’, उनले भने । यसको मतलब महानगर प्रमुखको उमेदवारमा दाबी गर्दै आएको गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)लाई काँग्रेसले नछाड्ने भएको छ ।

माओवादी केन्द्रले महानगरको मेयरमा पुनः रेनु दाहाललाई नै उठाउने तयारी गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महानगरको प्रमुखमा आफ्नो पार्टीको उमेदवारलाई सहयोग गर्नेगरी केन्द्रीय स्तरबाटै चुनावी तालमेल गर्ने कोशिस गरिरहेका छन् । यद्यपी काँग्रेसको केन्द्रीय समितिले पनि स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरिसकेको छ ।

चितवन काँग्रेस भने यस पटक कुनै पनि हालतमा महानगरको प्रमुखमा माओवादीलाई सहयोग नगर्ने पक्षमा छ । अन्य पालिकामा माओवादीसँग तालमेल गर्ने भएपनि महानगर प्रमुखको उमेदवारमा कांग्रेसले नछाड्ने निर्णय गरिएको खनालले बताए । 

‘महानगर प्रमुखमा काँग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलबीच सबै पालिकामा तालमेल गरी अघि बढ्ने निर्णय भएको छ’, उनले भने । अन्य पालिकाको प्रमुखमा भने स्थानीय आवश्यकताका आधारमा गठबन्धनका दलबीच तालमेल हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप