आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगन्ज उपमहानगरको ग्राउण्ड छाड्ने धवलशमशेरको घोषणा

आइतबार, २० चैत २०७८, १६ : ५४
आइतबार, २० चैत २०७८

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूबाट उम्मेदवारी घोषणा गर्नेहरुको लर्को छ  । यहीबीचमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले भने आफू नेपालगन्ज उपमहानगरपालिकामा पुनः उम्मेदवार नबन्ने घोषणा गरेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी राप्रपाबाट मेयरमा निर्वाचित भएका थिए । 

रातोपाटीसँग कुरा गर्दै राणाले आफू नेपालगन्जको मेयरमा अर्को कार्यकालको दाबेदार नरहेको बताए ।  ‘मेरो सहर बनिसक्यो । मैले दुई पटक मेयर भएर नेपालगन्ज बनाइसके । अब खाली त्यसलाई मनिटरिङ र व्यवस्थापन गर्ने मात्रै हो’, उनले भने, ‘अब देश बनाउने निस्कने हो । हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रलाई कायम गर्नका लागि म निस्कने हो । नेपालगन्ज क्षेत्रबाट म प्रतिनिधिसभाको चुनावमा सहभागी हुन्छु ।’

राणाले आफू र एमाले अध्यक्ष केपी ओलीबीचको भेट भएको र सो क्रममा देशभर चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको रातोपाटीलाई बताए । ‘प्रारम्भिक छलफल भएको छ । अब उहाँले आफ्ना साथीहरुसँग कुरा गर्नुहुन्छ । मैले पनि पार्टीमा कुरा राख्छु,’ उनले भने ।

पाँच पार्टी एकतातिर उभिने भएपछि राप्रपा र एमालेले पनि सम्भावनाहरूको खोजी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । ओलीसँग प्रारम्भिक कुरामात्रै भएकाले कसरी तालमेल गर्ने र अघि बढ्ने भन्नेबारे दुबै पार्टीमा विस्तृतमा छलफल गरेर अघि बढ्न सकिने उनको भनाइ छ । 

उनले अब नेपालगन्जमा नयाँलाई उम्मेदवार बनाएर अघि बढाउने पनि बताए । राणा पुनः मेयर नबन्ने भएपछि नेपालगन्जमा राप्रपाबाट आधा दर्जनको हाराहारीमा स्थानीय नेताहरु टिकटको दौडमा रहेका छन् । एक जिल्लास्तरीय नेताका अनुसार ओम प्रकाश आजाद, गौरव चन्द,  तेज विक्रम शाह, सफिक भेना लगायत  नेपालगन्जमा मेयरको दाबेदार रहेका छन् ।  जिल्ला  अध्यक्ष  नरेन्द्र पौड्यालले  चैत २२ बजे उम्मेदवारको फाइनल गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप