बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पार्टीलाई कुनै हालतमा राप्रपामा मिसाउन दिँदैनौँ’

रवीन्द्र मिश्रको मनसाय ठिक छैन : निर्देश सिलवाल
आइतबार, २० चैत २०७८, १६ : ४६
आइतबार, २० चैत २०७८

विवेकशील साझा फेरि विभाजनको डिलमा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्र र संगठन विभाग प्रमुख निर्देश सिलवाल समूहबीच अन्तरसंघर्ष जारी छ ।

अध्यक्ष मिश्रले राप्रपासँग एकताको हात फिँजाएपछि सिलावल समूहले उनीविरुद्ध मोर्चा कसेको छ । यसले चैतभित्र गर्ने भनिएको पार्टीको महाधिवेशन भाँडिएको छ भने आसन्न स्थानीय तह निर्वाचनको तयारीमा पनि ब्रेक लागेको छ । विवेकशील साझामा देखिएको पछिल्लो विवादबारे सो पार्टीका संगठन विभाग प्रमुख निर्देश सिलवालसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

विवेकशील साझामा अहिले देखिएको लफडा के हो ?

पार्टीमा यतिबेला राजतन्त्र कि गणतन्त्र भन्ने कुरा उठिरहेको छ । अधिकांश केन्द्रीय सदस्य र शुभेच्छुकको भावना गणतन्त्रप्रति छ तर नेतृत्वले गणतन्त्रको पक्षमा दह्रो गरी खुट्टा टेक्न नसक्दा अविश्वास पैदा भएको छ । साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकीकरण गर्ने कुरा आयो । पार्टी अध्यक्षज्यूले विभिन्न ढङ्गले एकीकरणका लागि प्रयास गर्नुभयो । यसले पार्टीभित्र विश्वासको खडेरी उत्पन्न भएको छ । केन्द्रीय समितिमा बहुमत केन्द्रीय सदस्यले राप्रपासँगको एकीकरणका सन्दर्भमा आधिकारिक एजेण्डा बनाएर छलफल गरौँ भन्दा अध्यक्षज्यूले मान्नु भएन । उहाँले औपचारिक रूपमा छलफल गर्न नमानेपछि अहिलेको समस्या सुरु भएको हो ।

अध्यक्ष रवीन्द्र मिश्रले राप्रपासँगको एकीकरणबारे भएको चर्चा केन्द्रीय समिति बैठकमा राख्न खोज्दाखोज्दै तपाईंंहरूले नै भाँडभैलो मच्चाएको भन्ने छ । लफडाको जड त तपाईंंहरू नै देखिनुभयो नि ? अध्यक्षले वार्ता समिति बनेको छैन, राप्रपासँग एकीकरणको सम्भावना छैन भन्दा पनि तपाईंले किन नमानेको ?

केही साथीहरूले त्यो ढङ्गले व्याख्या गर्नुभएको छ । तर विधानमा अध्यक्षले वार्ता गर्न मिल्ने भन्ने कुरा छ । विधानको त्यो प्रावधानप्रति बहुमत केन्द्रीय सदस्यको ठूलो आशंका छ । उहाँले एउटा भेटघाट मात्र गरेँ भन्नुभएको छ । तर विभिन्न ढङ्गले पुष्टि गर्दा विभिन्न चरणमा छलफल गर्नुभएको जानकारी हामीले पाएका छौँ । त्यसैले हामीले केन्द्रीय समितिमा औपचारिक रूपमा एजेण्डा बनाएर छलफल गरी निर्णयमा पुगौँ भन्न खोजेको हो । तर उहाँ अनौपचारिक छलफलका लागिमात्र तयार हुनुभयो । त्यो त ‘चियागफ’ जस्तोमात्र हुन्छ । उहाँले अनौपचारिक रूपमा भन्न चाहेको कुरा बैठकमा एजेण्डा बनाएर औपचारिक रूपमा भनेको भए कुरै सकिन्थ्यो । उहाँले किन औपचारिक बैठकमा राप्रपासँगको एकीकरणलाई एजेण्डा बनाउन चाहनु भएन ?

अध्यक्षमाथि यति अविश्वास गरेर कसरी पार्टी चल्छ ? अध्यक्षसँग निहुँ खोजेर तपाईंंहरूले गर्न खोजेको के हो ?

निहुँ खोज्ने कुरा होइन । उहाँले मार्ग परिवर्तनको प्रस्ताव अगाडि सार्दा फरक विचार हुँदाहुँदै पनि पार्टी जोगाउनका लागि साथ दिएका थियौँ । अध्यक्ष र संयोजकको कुरा नमिल्दा तीन महिनासम्म पार्टी ‘डेडलक’ थियो ।

त्यसलाई फुकाउन र पार्टी जोगाउनका लागि हामीले उहाँलाई लोकतान्त्रिक गणतन्त्रप्रति तपाईंंले प्रतिबद्धता जनाउनु पर्छ, दस्तावेजमा त्यो कुरा समेट्नुस् भन्दा उहाँले मान्नुभएन । तर उहाँले केन्द्रीय समितिलाई इमेल गरेर पठाइदिन्छु भन्नुभयो । अनि महाधिवेशनमा यो कुरालाई समेट्छु भन्नुभएको थियो । त्यसपछि हामीले उहाँलाई विश्वास गर्नुपर्ने भयो । तर उहाँले महाधिवेशन सार्नेमात्र काम गर्नुभयो । महाधिवेशन गर्न चाहनु भएन । केन्द्रीय समितिको निर्णय उल्ट्याउन लाग्नुभयो । आफैले केन्द्रीय समितिमा राखेको लिखित प्रस्तावलाई लत्त्याउन थाल्नुभयो । अनि उहाँले अनौपचारिक रूपमा राखेको कुरालाई कसरी पत्याउने ?

तर महाधिवेशन भाँड्न तपाईंंहरूले पार्टीभित्र रडाको मच्चाएको मिश्र पक्षको आरोप छ नि ?

यो आरोप हास्यास्पद छ । पुस १२ गतेको केन्द्रीय समिति बैठकले चैतभित्र महाधिवेशन गर्ने भनेर सर्वसम्मत निर्णय गरेको थियो । त्यसपछि उहाँले ढिलो गरी फागुन २९ गते कार्यसम्पादन समितिको बैठक राख्नुभयो । बैठकमा उहाँले अन्य विषयमा मात्र छलफल गराएर महाधिवेशन सार्न पूर्व तयारी थाल्नुभयो ।

धेरै आफ्ना मान्छेमात्र बोलाएर महाधिवेशन सार्नका लागि भोटिङको कुरा राख्नुभयो । केन्द्रीय समिति बैठकले लिएको निर्णय कार्यसम्पादन समितिले उल्ट्याउन सक्दैन थियो । त्यसपछि उहाँले चैत १३ गते बल्ल केन्द्रीय समितिको बैठक राखेर महाधिवेशन सार्ने प्रस्ताव राख्नु भयो । १७ दिनभित्र महाधिवेशन हुने अवस्था थिएन । महाधिवेशन कसले सारेको भन्ने कुरा यसैबाट थाहा हुन्छ । अध्यक्षले महाधिवेशन सारेको सबैलाई थाहा छ । पार्टी संरचना महाधिवेशन गर्न तयार थियो । तर अध्यक्षले महाधिवेशन चाहनु भएन ।

रवीन्द्र मिश्र र मिलन पाण्डेको अन्तरसंघर्षमा तपाईंले मिश्रलाई साथ दिनुभयो । मिलन पाण्डेको जिम्मेवारी खोसेर रवीन्द्र मिश्रलाई सर्वेसर्वा बन्न सहयोग गर्नुभयो । आज रवीन्द्र मिश्रले तपाईंको कुरा नसुन्दा सडकमा आउनुभएको छ । हिजो तपाईंंहरू रवीन्द्र मिश्रको मतियार बन्दा आज यो अवस्था आएको हो कि ?

उहाँलाई सर्वेसर्वा बनाउन हामीले साथ दिएको होइन ।

रवीन्द्र मिश्रलाई ‘चेक एण्ड ब्यालेन्स’मा राख्ने भन्दा उहाँको मतियार बन्नुभयो । तपाईंंहरूकै बलमा रवीन्द्र मिश्रले मिलन पाण्डेमाथि डन्डा बर्साउनुभयो । त्यसको परिणाम आज तपाईं पनि भोग्दै हुनुहुन्छ भन्दा अन्यथा हुन्छ ?

अध्यक्षज्यूले मार्ग परिवर्तनको प्रस्ताव ल्याएपछि मिलनजी र हामीबीच एउटा कुरामा फरक मत थियो । उहाँहरूले पार्टी कमिटीका बैठक बहिस्कार गर्नुभयो । उहाँ समानान्तर गतिविधि गरेर केन्द्रीय समिति बैठकमा आउनुभएन । तर पार्टीभित्रै फाइट गरेर महाधिवेशनबाट टुङ्ग्याउन सकिन्छ भन्ने हाम्रो ‘कन्फिडेन्ट’ थियो । त्यो सबै साथीहरूले सल्लाह गरेरै गरेको कुरा थियो । कसैले कसैलाई धोका दिएको होइन ।

रवीन्द्र मिश्र र मिलन पाण्डेबीच देखिएको विवाद समाधानका लागि मध्यस्थता गर्नेभन्दा जिम्मेवारी पाउन रवीन्द्र मिश्रको पक्षमा लाग्नुभयो । केशव दाहालको संगठन विभाग प्रमुखको जिम्मेवारी खोसेर आफूले लिने तपाईंंको ध्येय रह्यो । त्यतिबेला रवीन्द्र मिश्रको पक्षमा उभिने निर्णयलाई अहिले कसरी समीक्षा गर्नुहुन्छ ?

मैलै कसैको जिम्मेवारी खोसेको होइन । विवेकशीलमा हुँदा म महासचिव र संगठन विभाग प्रमुख दुई जिम्मेवारीमा थिएँ । मैले मध्यस्थता गर्नुपर्‍यो भन्ने कुरा गर्नुभयो । त्यहाँ मैलेमात्र गरेर हुने अवस्था थिएन । हामीले पार्टीमा देखिएका समस्या महाधिवेशनबाट हल गर्न सकिन्छ भन्ने हाम्रो ‘कन्फिडेन्ट’ थियो । तर उहाँहरू सकिँदैन भन्नेमा हुनुहुन्थ्यो ।

अहिले त मिलन पाण्डेहरूको निष्कर्ष मै तपाईंंहरू पनि पुगेको देखिन्छ । पार्टीभित्रको अन्तरसंघर्षमा मिश्रलाई साथ दिने कुरा गल्ती भयो भन्ने अहिले ‘रियलाइज’ गर्नुभएको छैन ?

होइन होइन । तपाईंले यसलाई गलत ढङ्गले व्याख्या गरिराख्नु भएको छ । पार्टीमा अध्यक्ष र संयोजकबाट दुई वटा दस्ताबेज आए । त्यतिबेला हामीले रवीन्द्र मिश्रलाई ‘चुज’ गरेको साँचो हो । महाधिवेशनमा गएर यो कुरालाई टुङ्ग्याउन सकिन्छ भन्ने हाम्रो ‘कन्फिडेन्ट’ थियो । तर साथीहरूले बाहिरबाट संघर्ष गर्नुभयो ।

बाहिरबाट संघर्ष गरेको कुरा दुनियाँले देखे तर हामीले आन्तरिक रूपमा गरेको कुरा देखिएन । हामीले आन्तरिक रूपमा संघर्ष गरेको हुनाले हिजो रवीन्द्र मिश्रसँग रहेको मान्छे आज हामीसँग हुनुहुन्छ ।

छोडेर हिँडेपछि त ती मान्छेलाई साथमा लिन सकिँदैन थियो नि । अहिले कर्णाली र प्रदेश १ मा पार्टी हाम्रो पक्षमा एक ढिक्का छ । अन्य प्रदेशमा पनि अध्यक्षसँग रहेका साथीहरू हामीसँग आउनुभएको छ । साथीहरूलाई गहिरो ढङ्गले बुझाउन सके समर्थन पाउन सकिन्छ ।

तपाईंंको कुरा सुन्दा पार्टीभन्दा पनि आफू बलियो बन्ने बाटोमा लाग्नु भयो, हैन त ?

यहाँनिर म शक्तिशाली बन्ने नबन्ने कुरा होइन । पहिलो कुरा पार्टी बलियो बनाउनै एकीकरण गरिएको हो । दोस्रो, मार्ग परिवर्तन कि मूलबाटो भन्नेमा साथीहरूले दुईवटा दस्ताबेज ल्याएर आउनुभयो । हामीले अन्तरसंघर्षको बाटो रोजेर अध्यक्ष शंकाको सुविधाका आधारमा रवीन्द्र मिश्रलाई समर्थन गरेर जाने पक्षमा उभियौँ । महाधिवेशनबाट टुङ्ग्याउन सकिन्छ भन्नेमा पुग्यौँ ।

अहिले अब अध्यक्ष कि पार्टी भन्ने कुरा हो । अहिले मैले पार्टीलाई साथ दिइरहेको छु । यो पार्टी लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध हुनुपर्‍यो । राप्रपाकरण हुनुभएन भन्नेमात्र हो । यी तीन वटा कालखण्डमा मैले पार्टीलाई बलियो बनाउने उद्देश्य राखेको थिएँ र छु । वैकल्पिक राजनीतिलाई मजबुत बनाए जाने मेरो लक्ष्य हो ।

तपाईंंहरू वैकल्पिक राजनीति नभई विभाजित राजनीतिको मिथक बनिसक्नु भएको छ । रवीन्द्र मिश्रले राप्रपा रोजेमा तपाईंंहरू कसरी अगाडि बढ्नुहुन्छ ? नेतृत्वले नै छोडेको वैकल्पिक राजनीति कसरी अघि बढ्ला ?

नेपालमा एउटा नेरेसन थियो राजा भएन भने देशै चल्न सक्दैन भन्ने । हाम्रो पार्टीमा पनि रवीन्द्र मिश्र नभए विवेकशील साझा चल्दैन भन्ने नेरेसन छ । केही मान्छेले त्यो भन्छन् । यो रवीन्द्र मिश्रको मात्र पार्टी होइन । अध्यक्षका रूपमा उहाँले खेल्नु भएको भूमिका महत्वपूर्ण छ । उहाँलाई हामीले सम्मान पनि गरिरहेकै छौँ । साथ पनि दिइरहेकै हो । तर अध्यक्ष पार्टी होइन र पार्टी अध्यक्ष होइन ।

रवीन्द्र मिश्र राप्रपामा जानुभयो भने पनि हामी कुनै हालतमा राप्रपामा जाँदैनौँ । त्यो बेला यो पार्टीलाई अगाडि बढाउने चुनौती आउँछ ।

रवीन्द्र मिश्र राप्रपामा जाने, मिलन पाण्डे पार्टीबाट निकालिने र निर्देश सिलवालको बाटो फरक हुने कुरालाई वैकल्पिक राजनीति स्थापित हुन्छ त ?

तपाईंंले भनेको कुरा ठिक छ । यसका पछाडि अध्यक्षज्यूले कि ढङ्ग पुर्‍याउनु भएको छैन कि उहाँको मनसाय ठिक छैन । उहाँको मनसायमा त्रुटी छ । त्यसैले वैकल्पिक राजनीतिको आन्दोलन कमजोर भएको हाम्रो बुझाइ हो । साथै मिलनजी र हामी सधैं टाढा हुन्छौं भन्ने पनि होइन । सकियो भने रवीन्द्रजी पनि सँगै हुनु सक्नुहुन्छ । उहाँले लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाएर मिलेर काम गरौँ, महाधिवेशन गरौँ र विधि अनुसार चलौं भन्नुभयो भने समस्या समाधान हुन्छ ।

मिलनजी र मेरोमा केही पनि समस्या होइन । तर अध्यक्षज्यूका कारणले विगतदेखि समस्या आएको पुष्टि भयो । पार्टीमा जहिले पनि घटना हुने र त्यहाँ अध्यक्षको उपस्थिति भइरहने अवस्था बन्यो । विवेकशील साझाको मूल समस्या अध्यक्षमा देखिएको छ ।

उहाँले राजवादी झण्डा उठाउनु भयो भने पनि मिलनजी, सूर्यराज आचर्याजी, गोविन्दजी लगायत विगतमा फुटेका मान्छे एक ठाउँमा आएर काम गर्न केही समस्या होइन ।

तर तपाईंंहरूले अहिले पार्टीमा गरिरहेको गतिविधि वैकल्पिक राजनीतिका लागि नभई अन्य पार्टीमा मिसिन हो भन्ने मिश्र पक्षको आरोप छ नि ?

यो गम्भीर आरोप हो । यसमा कुनै सत्यता छैन । हामीले कुनै त्यस्तो गतिविधि गरेका छैनौँ । त्यो हाम्रो आवश्यकता र रहर पनि होइन । अर्को पार्टीमा मिलाउने सोच भएको भए विवेकशील र साझाबीच एकीकरण नै गर्दैन थियौँ ।

नेपालमा विवेकशील साझाजस्तो पार्टी चाहिन्छ । हामी कसैसँग मिल्दैनौँ । कसैसँग मिल्ने मनसाय छैन । जब मान्छेले एजेण्डामा बहस गर्न सक्दैन, त्यसपछि व्यक्तिगत आरोपमा उत्रिन्छ ।

तपाईंहरुको लफडाको समाधान के हो ?

अब पार्टीको विधानमै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर जाने कुरा स्पष्ट राख्नुपर्छ । छिटोभन्दा छिटो महाधिवेशन गर्ने र राप्रपासँगको एकीकरणको सबै अभ्यासलाई अन्त्य गर्ने काम हुनुपर्छ । यति कुरा गरेपछि अहिलेको समस्या समाधान हुन्छ ।

रवीन्द्र मिश्रले यी तीन वटा कार्य गरेमा अध्यक्षका रूपमा उहाँलाई स्वीकार गरेर जानुहुन्छ ?

स्वीकार गरेर जान्छौँ । रवीन्द्र मिश्रलाई अध्यक्षका रूपमा स्वीकार गर्न, सँगसँगै काम गर्न कुनै समस्या होइन । उहाँले यो पार्टीलाई राजावादी बनाउन पाइँदैन, राप्रपासँग विलय गर्न पाउनु हुन्न । गणतन्त्रबाट पछाडि हट्न मिल्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप