एमबीबीएसको प्रवेश परीक्षामा ‘खेताला’ परीक्षार्थी, १८ लाखसम्म डील !

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएसको प्रवेश परीक्षामा ‘खेताला’ परीक्षार्थीले परीक्षा दिने गरेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाले अर्काको नाममा परीक्षा दिँदै गरेका ४ जना र एकजना परीक्षार्थीलाई पक्राउ गरेको छ । ललितपुरको किष्ट कलेजमा एमबीबीएस पढ्दै गरेका ३ जना विद्यार्थीसहित ५ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा किष्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव छन् । भारतबाट आएर अर्काको नाममा परीक्षा दिँदै गरेका इस्तियाक अहमद र परीक्षार्थी सन्नीकुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरुले परीक्षार्थीको नागरिकता बोकेर प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परिक्षा दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चैत १८ मा सञ्चालित प्रवेश परीक्षा दिँदै गरेका उनीहरु सिसिआरसी कलेज, एम्बीसन कलेज र कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ परेका हुन् । अर्काको नाममा परीक्षा दिएबापत उनीहरुले ५० हजार देखि १ लाख ५० हजार अग्रिम पैसा लिएका थिए । रिजल्टका आधारमा थप पैसा लिनेगरी उनीहरु प्रवेश परीक्षामा सहभागी भएका हुन् ।
पूर्ण छात्रवृत्तिमा नाम निकालिदिएमा १८ लाखसम्म ‘खेताला’ परीक्षार्थीलाई दिनेगरी ‘डील’ भएको अनुसन्धानबाट खुलेको एसएसपी कुँवरले बताए । उनले भने– ‘पूर्ण छात्रवृत्ति, पेइङ र जस्ट पास गर्ने वर्गीकरणको आधारमा प्रवेश परीक्षामा नाम निकालेपछि ५ देखि १८ लाखसम्म पैसा लिने दिने डील भएको पाइयो ।’
सप्तरी घर भएका २६ वर्षीय रामआशिष यादव अहिले किष्ट कलेजमा एमबीबीएस तेस्रो वर्षमा पढ्दै छन् । चैत १८ मा पक्राउ परेका राम आशिषको २० चैतमा पनि अर्काको नाममा परिक्षा दिने कार्यतालिका थियो । रुपन्देही घर भएका २० वर्षीय स्मित सिंहको नाममा परीक्षा दिँदै गरेको अवस्थामा उनी कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ परेका हुन् ।
‘खेताला’ लगाएर पशुपति घुमघाम
महोत्तरीको सम्सी नगरपालिका–५ घर भएका सन्नीकुमार शाह एमबीबीएस प्रवेश परीक्षाको वास्तविक परीक्षार्थी हुन् । तर, उनी आफु परीक्षा केन्द्रमा थिएनन् । भारतको बिहार रफिगञ्ज घर भएका ईस्तियाख अहमद लाई परीक्षा केन्द्रमा पठाएर उनी पशुपति घुम्न गएका थिए ।
मध्य बानेश्वरस्थित एम्बिसन कलेजको परीक्षा केन्द्रमा ईस्तियाखले सन्नी कुमारको नामबाट परीक्षा दिएका हुन् । सन्नीलाई पशुपतिबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । परीक्षार्थीहरूले एमबीबीएस पढिरहेका र आर्थिक अवस्था कमजोर भएकाहरुलाई प्रलोभनमा पारेर नक्कली परीक्षार्थीको रुपमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?