शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिपोर्टर डायरी : बोगीभित्रै घण्टौं थुनिएर जयनगर–जनकपुर–कुर्था रेल उद्घाटनको समाचार संकलन

आइतबार, २० चैत २०७८, १४ : ०७
आइतबार, २० चैत २०७८

जनकपुरलाई कर्मथलो बनाएका पत्रकारहरूका लागि २०७८ चैत १९ गते महत्त्वपूर्ण दिन थियो । लामो प्रतिक्षापछि त्यस दिन कुर्था– जनकपुर–जयनगर रेल सेवा उद्घाटन हुँदै थियो । त्यसैले बिहान ५ बजे नै उठेर रिपोर्टिङमा जाने तयारी थालेँ । डेराबाट करिब सात बजेर पाँच मिनेटमा रिपोर्टिङका लागि निस्किएँ ।

एक दिन अघि नै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जयनगर जानका लागि बिहान सात बजे रेल्वे स्टेशन आइपुग्न भन्नुभएको थियो । ‘सीमित सिट भएकाले समयभित्रै आएमा केही बन्दोबस्त गरौंला, होइन भने गाह्रो छ’ भनेर म र सहकर्मी पवन यादवसँग महाप्रबन्धक झाले भन्नुभएको थियो ।

वर्ष दिनदेखि नेपालकै सीमावर्ती क्षेत्र इनर्वामा थन्क्याएर राखिएको जयनगर–जनकपुर–कुर्थासम्म चल्ने नेपालको रेल उद्घाटनका लागि नेपाल–भारत सीमावर्ती क्षेत्र भारतको जयनगरमा राखिएको थियो । जयनगरमा उक्त रेल भारतीय सुरक्षाकर्मीको कडा निगरानीमा रहेकाले त्यहाँको नियम कानुन हामीले रिपोर्टिङ गर्नुपर्ने थियो । यहाँसम्म कि, जनकपुरबाट रिपोर्टिङका लागि जयनगर सहजै जाने वातावरणसमेत थिएन । नेपाल रेल्वे कम्पनीले रिपोर्टिङमा कसरी जाने भन्नेबारे पनि हामीलाई प्रस्ट जवाफ दिन सकेको थिएन ।

महाप्रबन्धक झाले १० जना नेपाली पत्रकारलाई जसोतसो आफूसँग लैजाने आश्वासन दिनुभएको थियो । तर विहान करिब साढे सात बजे पुग्दा जनकपुरधाम रेल्वे स्टेशनमा एक निजी विद्यालयलाई भारतीय दूतावासले दिएको बस पत्रकारहरुकै लागि छुट्याएर राखिएको रहेछ ।

त्यहाँ मञ्चको व्यवस्थापन गरिएको थियो । भारतको नयाँ दिल्लीको हैदरावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा रेल सेवा उद्घाटन गरेको दृश्यावलोकनका लागि दुई वटा प्रोजेक्टर र मञ्चको व्यवस्था मिलाइएको थियो । रेल्वे स्टेसनलाई पनि बेहुली झै सिँगारिएको थियो । यत्रतत्र बेलुन, फूलमाला लगायतका सामग्रीले स्टेसनलाई सजाइएको थियो ।

रेल्वे कर्मचारीदेखि सुरक्षा निकायको व्यापक चहलपहलका कारण सर्वसाधारणका लागि रेल्वे स्टेशन निषेधजस्तै थियो । रेल्वे सेवा सुचारु भएको अवसरमा वृक्षरोपण कार्यक्रमसमेत थियो । त्यसका लागि केही व्यक्ति रेल्वे स्टेशन परिसरमै रहेको हनुमान मन्दिरको प्राङ्गणमा पाँच वटा बिरुवा लिएर रोप्नका लागि तम्तयार थिए ।

त्यहाँ म र सहकर्मी पवन यादव एकअर्कासँग भलाकुसारी गरी उहाँलाई जनकपुरधामस्थित रेल्वे स्टेसनको रिपोर्टिङ र मचाहिँ जयनगरदेखि रेल स्टेशनसम्मको रिपोर्टिङ गर्ने योजना बनायौं । सोही अनुसार म जयनगर जाने व्यवस्थाबारे सोधखोज गर्न थालेँ ।

करिब पौने ८ बजे अब ढिलो भयो भन्दै पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले रिपोर्टिङ गर्ने पत्रकारलाई बसमा बस्नका लागि आग्रह गर्दै हुनुहुन्थ्यो । उहाँसँगको समन्वयपछि म बसमा चढेँ ।

बसमा चढेपछि थाहा भयो कि नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णसँगको सहकार्यमा पत्रकारहरूका लागिमात्रै सो बस व्यवस्थापन गरिएको रहेछ । जयनगरसम्म जाने बाटोको अवस्था राम्रो नभएकाले धनुषाको जटही हुँदै भारतको पिपरौन नाका, उमगाउँदेखि जयनगरको रेल्वे स्टेशनसम्म स्कुल बसमा गयौँ ।

जटही सीमा नाकामा भारतीय एसएसबी र मिलिटरी पोसाकमा रहेका सेनाजस्तो देखिने एक टुकडीले बस देख्ने बित्तिकै रोकेर बस चालकसँग सोधपुछ गरे । त्यसपछि कडा स्कर्टिङ बीच जयनगरसम्म हामीलाई लगियो । कडा सुरक्षाका साथ हामी चढेको बसलाई रेल्वे स्टेशन भित्रसम्म लगिएको थियो ।

जयनगरस्थित रेल्वे स्टेशन पुग्ने बित्तिकै बसमा रहेका २२ जना नेपाली पत्रकारलाई मञ्चमा लगियो र त्यहाँ पत्रकारका लागि बस्ने व्यवस्था गरिएको ठाउँमा बसाइयो । नेपाली पत्रकारलाई बसाइएको ठाउँमा कुनै बेला भारतीय रेल्वेका कर्मचारीले ‘यहाँ पे नही, उधर बैठो’ (यहाँ होइन, उता बस्नुस्) भन्दै अर्कोतर्फ बसाउँथे भने भारतीय दूतावासका कर्मचारी आएर फेरि ‘यहाँ पे नही, पिछे की कुर्सी मे बैठो’ (यहाँ होइन, पछाडिको कुर्सीमा बस्नुस्) भन्दै अर्को तर्फ बसाउँथ्यो ।

यो सिलसिला करिब चार पाँच पटक चल्यो । त्यसपछि नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत जुरुक्क उठेर रिसाउँदै भन्नुभयो, ‘यहाँ वहाँ क्या कहते है, हम लोग खडे हो के भी रिपोर्टिङ कर सकते हेँ’ (यता उता के भन्नुहुन्छ, हामी उभिएरै पनि रिपोर्टिङ गर्न सक्छौं) भनेपछि रेल्वे, भारतीय सुरक्षा निकाय, भारतीय दूतावासका अधिकारी लगायत चुप लागेका थिए ।

त्यतिबेलासम्म बिहानको सवा १० बजिसकेको थियो । मञ्च अगाडि ठुलो पर्दामा प्रोजेक्टर लगाइएको थियो । जसमा नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि बनाइएको मञ्च, नेपालको जनकपुरधाममा बनाइएको मञ्च, जयनगरमा बनाइएको मञ्च र नेपाल रेल्वे गरी चार स्थानको दृश्यावलोकन गर्न सकिन्थ्यो ।

अगाडी पट्टी नेपाल र भारतका रेल्वे महाप्रबन्धक, रेल्वे अधिकारी, मधुवनीका प्रशासन अधिकारी, सुरक्षा निकायका अधिकारी, भारतीय रेल्वे प्रहरीका अधिकारी, स्थानीय व्यापारी व्यवसायी र नागरिक समाज तथा नेपाली एवं भारतीय पत्रकारका लागि बस्ने गरी मञ्चको व्यवस्थापन गरिएको थियो ।

बिहान चिया–खाजासमेत नखाई रिपोर्टिङमा निस्किएका पत्रकारहरू पिउने पानी, चिया खाजाको खोजीमा निस्कने प्रयास गर्न थाले । तर नेपाली रेल र मञ्चको कडा सुरक्षा व्यवस्थाका कारण बाहिर–भित्र आउ–जाउमा तारबार नै लगाइएको कारण पत्रकारहरू त्यहाँबाट निस्कन सम्भव भएन । त्यतिन्जेल रेल्वे उद्घाटन व्यवस्थापनको फोटो खिचियो ।

करिब साढे ११ बजेपछि नेपाली पत्रकारलाई एकत्रित पार्दै नामावली अनुसार अहिले नै रेलमा बस्नुपर्ने रेल्वे अधिकारीले जानकारी दिए । त्यसपछि पत्रकार महासंघ मधेस प्रदेशले भारतीय दुतावास लाई अघिल्लो दिन नै उपलब्ध गराइएको नामावलीको सूचीसहितको नाम र व्यक्ति मिलान गर्ने काम सुरु भयो । त्यसमा म लगायत अधिकांश पत्रकारहरुको नाम नै रहेनछ ।

त्यसपछि फेरि अर्को नामावलीको सूची तयार पारियो । र, नाम हाजिर गराउँदै रेल्वेको जेनरल बोगीमा बस्न लगाइयो । नेपाली पत्रकारको पछिपछि भारतीय पत्रकारहरू पनि कुदेर रेलभित्र बस्न आए । उनीहरुलाई भारतीय रेल्वे अधिकारीले पहिला पाहुना पत्रकारलाई बस्न दिउँ, पछि तपाईहरु बस्नु होला भनेपछि उनीहरु केही बेर शान्त भएर बसे । चर्को घाम, गर्मीका बाबजुद बोगीभित्र पानीको व्यवस्था पनि भएन ।

हुन त नयाँ रेलमा नयाँ पंखा फनफनी घुमेको थियो । तर, तातो हावाका कारण गुम्सिएको अनुभूति भयो । रेल्वे अधिकारीले सुरक्षा थ्रेट देखाउँदै झ्यालसमेत खोल्न दिएनन् । रेलको बोगीबाट बाहिर निस्कन पनि दिइएन । रेल्वे अधिकारीले अब प्रधानमन्त्रीले फ्ल्याग हल्लाउँदै रेल्वे उद्घाटन गर्नेछन् र फ्ल्याग हल्लिने बित्तिकै रेल नरोकिने भएकाले अतिथिहरुलाई पहिला नै रेलमा बसाइएको तर्क गरे । पछि भारतीय पत्रकारलाई पनि सोही रेलमा बसाइयो । हामी बसेको रेलको बोगीमा भिड बढ्न थाल्यो ।

मलाई अधिक प्यास लाग्यो । कान्तिपुर टिभीका सहकर्मी अमरकान्त ठाकुरले पर एउटा कुनामा पानीको पोको राखिएको रहेछ भनेर जानकारी दिए । म सो पानीको पोका रहेको स्थानतर्फ गएँ र पानीको सानो बोतल लिन खोजेँ । रेलमै रहेका भारतीय रेल्वे कर्मचारीले हातमा लिएको पानीको बोतलसमेत खोसे । उनले ‘अभी हम पानी नही दे सकते’ (अहिले हामी पानी दिन सक्दैनौं) भनेर मेरो हातबाट बोतल खोसेर त्यही पोकाभित्र राखे ।

अन्य पत्रकार साथीहरु पनि त्यो दृश्य हेरिरहेका थिए । कसैले केही भन्ने आँट गरेनन् । बरु नेपाल टिभीका संवाददाता श्रीनारायण साहले पनि आफूलाई तिर्खा लागेको सुनाउनुभयो ।

भारतीय रेल्वेका कर्मचारी अधिकारीदेखि प्रायः सबैले नेपाली पत्रकारहरुसँग गर्ने व्यवहार रूखो थियो । त्यसलगत्तै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झा नेपाली पत्रकार भएको ठाउँमा आएर केही समस्या छ कि भनेर सोधखोज गर्नुभयो । उहाँलाई पत्रकारहरुले पानीको समेत व्यवस्था नरहेको र अढाई घण्टा अघि नै चर्को घाम र गर्मीमा बोगीभित्र बसालेको प्रति गुनासो गरे । उहाँले तत्काल पानी र खाजाको व्यवस्था मिलाउने आश्वासन दिनुभयो । उहाँ फर्किएको निकै बेरसम्म पनि पानी उपलब्ध हुन सकेन । आधा घण्टापछि महाप्रबन्धक झाका स्वकीय सचिव आएर पत्रकारलाई पानी एकछिनमा आउँछ भनेर आश्वासन दिए ।

निर्धारित गरिएको समय भन्दा करिब आधा घण्टा ढिला रेलको उद्घाटन भयो । रेलभित्र रहेका सहकर्मी साथीहरुले भित्रबाटै रेल हेर्न उभिएकाहरुको भीडभाडको दृश्यावलोकनसहित फोटो र भिडियो लिन थाले । रेल चलेको करिब पाँच मिनेटपछि सो बोगीमा खाजाको सानो पोका, एउटा फ्रुटी र सानो पानीको बोतल लिएर सबैलाई बाँडियो । मलाई अत्यधिक तिर्खा लागेको हुनाले मैले पानी पिएँ । तर एक पाउ जतिको सो पानीले के तिर्खा मेट्नु ! तर पनि पानीले घाँटी भिजाउन पाउँदा निकै राहत महसुस गरेँ ।

रेलको उद्घाटनका क्रममा दुवै रेल जोडिएको थियो । हामी रहेको बोगी र जोडिएर रहेको अन्य बोगीमा भारतीय पत्रकार, भारतीय व्यवसायीहरु पनि थिए । भारतीय व्यवसायीहरु भने खुसीले गदगद थिए । जयनगर बजारले फड्को मार्छ भन्दै उनीहरुले विगत, वर्तमान र भविष्यबारे एकआपसमा कुराकानी गरिरहेका थिए । भारतीय पत्रकारहरू एकअर्कासँग रेल सञ्चालनले भारतीय बजारलाई कतिको फाइदा हुन्छ र रोटीबेटीको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्नेबारे टिकाटिप्पणी गर्दै थिए ।

सो रेल नेपालको ईनर्वा स्टेशनमा केही क्षण रोकियो, त्यसपछि खजुरी स्टेसनमा करिब पाँच मिनेटसम्म रेल रोकियो, जहाँ विद्यार्थीदेखि स्थानीयवासीहरु समेतले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झालाई फूलमाला लगाई नेपाल–भारतको झण्डा फहराउँदै स्वागत गरेका थिए ।

हामी बोगी भित्रैबाट केही थान दृश्य आ–आफ्नो मोबाइल तथा क्यामेरामा कैद गर्ने प्रयास गर्दै थियौँ । रेलका अधिकांश ढोका बन्द गरिएको हुनाले बाहिर निस्केर फोटो खिच्न सम्भव थिएन । त्यसैले रेलको झ्याल खोलेर स्थानीयवासीसँग कुराकानी गर्ने जमर्को गरियो ।

रेल चल्दै गर्दा ३ बोगीपछि मुलढोका खोलिएको भन्ने कुरा पछिमात्र थाहा भयो । जहाँ रेलका कर्मचारी र नेपाली सशस्त्र प्रहरी रहेछन् । त्यसपछि म लगायत केही साथी त्यसतर्फ गयौँ । महिनाथपुर रेल स्टेशनमा रेल रोकिएपछि हामी पनि सशस्त्र प्रहरीको समन्वयमा उत्रियौँ र फोटो खिच्नेदेखि सर्वसाधारणसँग कुराकानी गर्न भ्यायौँ ।

सशस्त्र प्रहरीका असईसँग पानीको व्यवस्था हुनसक्छ कि भनेर जिज्ञासा राखेँ । उहाँले अर्को स्टेशनमा पुगेपछि ठुलो पानीको बोतलको व्यवस्था मिलाउनुभयो । मैले पानीको बोतल लिँदै उहाँलाई धन्यवाद भनेँ ।

रेल वैदेही स्टेशन आइपुगेको थियो । त्यहाँ करिब दुई मिनेट जति रोकियो भने परवाह स्टेशनमा पनि करिब दुई मिनेट रोकियो । त्यहाँ पनि छात्रछात्राले रेललाई झण्डा फहराउँदै स्वागत गरे । र, रेल जनकपुरधामका लागि रवाना भयो । जनकपुरधाममा दुलही झैं सिँगारिएको रेल हेर्नलाई घुइँचो नै लागेको थियो । सो रेल चढ्नलाई संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत जम्बो टिम नै कुरिरहेको रहेछ । सो रेल जनकपुरधाम स्टेशनमा रोकिनासाथ मन्त्रीगण रेलभित्र प्रवेश गरे ।

मान्छेहरूको निकै चाप, कोलाहललाई चिर्दै नेपाली सेनाको सुरक्षामा मुख्यमन्त्री राउतलाई बल्लतल्ल रेलभित्र ल्याइयो । सो रेल करिब दश मिनेटको विश्रामपछि कुर्थाका लागि प्रस्थान ग¥यो । म सो रेलबाट ओर्लेर थकित मुद्रामा आफ्नो डेरातर्फ प्रस्थान गरेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप