बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मकवानपुरमा एमालेविरुद्ध ५ दलीय गठबन्धन, समाजवादीले खोज्यो २५ प्रतिशत भाग !

केन्द्रीय निर्देशनको पर्खाइमा काँग्रेस, माओवादी आन्तरिक छलफलमा
आइतबार, २० चैत २०७८, १२ : ४४
आइतबार, २० चैत २०७८

२०७४ को निर्वाचनलाई आधार मान्दा मकवानपुरमा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । एमालेले गत निर्वाचनमा मकवानपुरको १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा पालिका प्रमुख पद जितेको थियो भने ८ वटा पालिकामा उपप्रमुख पद जितेको थियो ।

यस्तै ३ वटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन भएकामा एउटामा सफल भएको थियो । उक्त गठबन्धनका कारण माओवादी केन्द्रले पालिका प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो । मकवानपुरको एक पालिकामा माओवादी केन्द्रले एकल रूपमा प्रमुख जितेको थियो । यता काँग्रेसले भने एकल रूपमा २ वटा पालिका प्रमुख पदमा जितेको थियो ।

३ वटा पालिकामा गठबन्धन गर्दा काँग्रेस–माओवादी केन्द्रले २ वटामा पराजय भोग्नु परेको थियो । ती २ पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन भत्काउँदै एमालेका उम्मेदवारले जित हात पारेका थिए ।

अहिले पनि मकवानपुरको प्रायः सबै पालिकाहरूमा आफ्नो सांगठनिक संरचना बलियो रहेको दाबी एमालेको छ । तर, पार्टी विभाजनको पीडा भोगेको एमालेलाई चुनाव चुनौतीको रूपमा पक्कै छ ।

यहीबीच पछिल्लो समय मकवानपुरमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै आएको नेपाली काँग्रेस र अन्य ४ मिलेर चुनावमा जान लागेका छन् । पछिल्लो समय मकवानपुरमा नेपाली काँग्रेस कार्यकर्ता, सांगठानिक संरचना र जनतामा आफूलाई स्थापित गराउने प्रयत्नमा सक्रिय देखिएको छ । यस्तो पृष्ठभूमिमा केन्द्रीय निर्णयानुसार मकवानपुरका सबै तहमा सत्ता गठबन्धनका बीच तालमेलको पहल थालिएको छ । एमालेविरुद्ध काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा एक ढिक्का भएर निर्वाचनमा जानेबारे सहमति गरेर भागबण्डाको छलफल सुरु भएको हो । जसका कारण वैशाख ३० का लागि तोकिएको चुनावी माहोल तातिएको छ ।

एमालेबाट विभाजित पार्टी नेकपा एकीकृत समाजवादीसहित गठबन्धन भएमा मकवानपुरमा एमाले एकातिर र गठबन्धन अर्कोतिर हुने छ । तर, एमालेले निर्वाचनमा पार्टी विभाजनको असर नपरेको दाबी गर्दै आएको छ । यद्यपि, एमालेबाटै विभाजित भएको नेकपा एकीकृत समाजवादीको वडा तहैसम्म संरचना भने निर्माण भइसकेको छ ।

वडा तहसम्मै ५ दलीय गठबन्धन

आगामी निर्वाचनमा मकवानपुरमा सत्तारुढ दलहरूबीच वडा तहसम्म गठबन्धन गर्ने सहमति भएको छ । नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा शुक्रबार बसेको ५ दलका जिल्ला नेतृत्वकर्ताको बैठकले केन्द्रको निर्णयलाई अनुसरण गर्दै आगामी निर्वाचनमा १० स्थानीय तहको १०२ वटै तहमा नै गठबन्धन गर्ने सहमति निकालेको हो ।

उक्त सहमति अनुसार ५ दलीय गठबन्धनले वडा तहसम्म उम्मेदवार उठाउनका लागि जिल्ला, पालिका र वडा तहस्तरमा नै बैठक बसेर संयन्त्र तयार पारिने भएको छ ।

त्यस्तै गठबन्धनको सफल कार्यान्वयनका लागि जिल्लामा सभापति बुद्ध लामाको संयोजकत्वमा, नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा एकीकृत समाजवादी श्रीधर पोखरेल, जनता समाजवादी पार्टीका सोनामसिंह स्याङ्तान र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सदस्य रहने गरी सचिवालय स्थापना गर्ने सहमति भएको छ ।

डा र पालिका तहमा पनि सोही प्रकृतिको सचिवालय निर्माण गरेर गठबन्धनको सफल कार्यान्वयनका लागि अघि बढ्ने सहमति भएको छ ।

यसरी हुँदैछ भागबण्डा

मकवानपुरमा आगामी निर्वाचनका लागि वडा तहमा नै गठबन्धन हुने भएपछि ५ वटै दलले भागबण्डाको लागि आ–आफ्नोतर्फबाट दाबी प्रस्तुत गर्ने तयारीमा रहेका छन् । विगतको निर्वाचनको सफलता, संगठन संरचना, कार्यकर्ताको उपस्थिति र जनमतको आधारमा गठबन्धनमा आबद्ध दलहरूले आ–आफ्नो तर्फबाट भागबण्डाका लागि दाबी पेश गर्ने भएका छन् ।

दलीय हैसियत अनुसार मकवानपुरको १० वटा पालिका र १०२ वटा वडाहरूमा पदीय भागबण्डा गर्ने खाकामा गठबन्धनका दलहरू सहमत भएको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए ।

सबै दलहरुको १०२ वटै वडामा संगठनहरु निर्माण भएकाले त्यसको अवस्था, वडा तहमा हुने पार्टीको कार्यक्रममा कार्यकर्ताहरुको उपस्थिति, संगठित सदस्यको विस्तारको आधारमा भागबण्डा गरिने उनले बताए ।

एकीकृत समाजवादी मकवानपुरमा चौथो शक्तिको रूपमा स्थापित भइसकेको उनको दाबी छ । उनले विगतको निर्वाचनमा गठबन्धनका दलहरूले जितेका पालिकामा जुन दलले जितेका छन् त्यहाँ त्यही दललाई दिने र एमालेले जितेका पालिकामा भने सम्मान जनक रूपमा भागबण्डा हुने उनले बताए ।

उनका अनुसार एकीकृत समाजवादीले मकवानपुरमा विगतको निर्वाचनमा एमालेबाट उम्मेवार भइ जितेका २ जना पालिका अध्यक्षहरुले सनाखत गरेकाले सो पालिका सहित एमालेले जितेका ४ वटा पालिकामा पनि सम्मानजनक भाग खोज्नेछ ।

‘विगतमा काँग्रेसले जितेको स्थानमा पनि अन्य दलको उपस्थिति बलियो भएको अवस्था छ । त्यसको पनि मुल्याङ्कन गर्ने काम हुन्छ । आगामी निर्वाचनको उम्मेदवारी दर्ताको क्रममा संगठनको अवस्था, जनमत र पार्टीका कार्यक्रममा उपस्थित हुने कार्यकर्ताको अधारमा भागबण्डा हुन्छ । विगतमा एमालेबाट जितेका २ जना पालिका अध्यक्ष हामीसँग हुनुहुन्छ । त्यस्तै अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीले पनि २/२ वटा पालिका जितेका थिए । त्यसलाई कायम राख्दै एमालेले जितेका ४ वटा पालिकाको सम्मानजनक भागबण्डा हुन्छ,’ उनले भने ।

वडा तहमा गठबन्धनबाट उम्मेदवार छान्ने क्रममा वडातहको संगठनको संरचनाका आधारमा भागबण्डा गर्ने योजना रहेको उनले बताए ।

‘वडा तहमा हाम्रो धेरै संख्यामा निर्वाचित अध्यक्ष छैनन् । त्यसो भनिरहँदा हामी कमजोर छौं भन्ने होइन । हामी डोमिनेट भएर बस्नुपर्ने स्थिति पनि छैन । सबै वडाहरूमा हाम्रो संगठन छ । त्यसमा कार्यकर्ताको उपस्थिति पनि राम्रो नै छ । त्यसमा पनि हामी उचित स्थान माग गर्छौँ,’ उनले भने ।

माओवादी केन्द्र र एकीकृत समाजवादी मात्र मिलेमा मात्र पनि ४ वटा पलिकामा सहजै जित्न सकिने दाबी गर्दै उले ठुूलो दलको हैसियतमा रहेको काँग्रेसले पनि उचित स्थान दिनुपर्ने उनले बताए ।

गठबन्धनमा रहेका दलहले समग्र १०२ वटा वडामा एकीकृत समाजवादी पार्टीले २०/२५ प्रतिशत हिस्सा दिनु पर्ने उनको धारणा छ । ठुलो पार्टी भएको नाताले काँग्रेसले ५० प्रतिशत वडा लिएर मााअ‍ेवादी केन्द्र र माओवादी केन्द्रले २०/२५ प्रतिशत लिँदा सहज हुने उनको भनाइ छ ।

केन्द्रीय निर्देशनको पर्खाइमा काँग्रेस

नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन मतहले गठबन्धनको खाका निर्माण भइनसकेको र त्यसको लागि वडा तहमा मत सर्वेक्षणको काम भइरहेको बताए । प्राप्त मत सर्वेक्षणको रिपोर्ट केन्द्रमा पठाउने उनले बताए ।

उक्त रिपोर्टको आधारमा केन्द्रले उचित निर्णय गर्ने र भगबण्डाको खाका निर्माण हुने उनको भनाइ छ । केन्द्रले दिएको निर्देशन अनुसारको गठबन्धनको मापदण्ड तयार पारेर भागबण्डा गरिने उनले बताए ।

उनले गठबन्धनमा आबद्ध दलहरूले आफ्नो हक दाबी गर्नु स्वाभाविक भएकाले त्यसलाई अन्यथा मान्न नहुने बताए । उनले गठबन्धनमा आबद्ध केही दलको मत सर्वेक्षण आंकलन गर्न अवस्था नरहेकाले केन्द्रीय निर्देशन र मापदण्डका आधारमा जिल्लामा गठबनधन हुने उनले बताए ।

गठबन्धनमा सबै दलहरूले आफ्नो हैसियत अनुसारको भाग पाउने भएकाले मकवानपुरमा मत सर्वेक्षणको रिपोर्ट अनुसारको केन्द्रीय निर्देशन कुर्नुको विकल्प नरहेको उनले बताए ।

यस्तै गठबन्धन बनाउने सहमति पनि माओवादी पनि आन्तरिक रणनीति बुन्न तल्लीन रहेको बताइएको छ  । बागमती गाउँपालिकाका अध्यक्ष समेत रहेका माओवादी मकवानपुरका नेता सर्केश घलानले समाजवादीको भन्दा आफ्नो पार्टीको स्थिति बलियो रहेकाले उचित भागबण्डा पाउनुपर्ने बताउँदै आएका छन् । माओवादी विगतमा पार्टीले जितेको पालिका र अन्य पालिकामा पनि आफ्नो बलियो उपस्थिति रहेकाले सोही अनुसार भागबण्डा हुनुपर्ने पक्षमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप