बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

ललितपुरको बागमती गाउँपालिकामा एमाले र काँग्रेस नेता कार्यकर्ताको तानातान

आइतबार, २० चैत २०७८, १२ : २४
आइतबार, २० चैत २०७८

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दक्षिण ललितपुरको बागमती गाउँपालिकामा एमाले र काँग्रेसमा एक अर्काका नेता कार्यकर्ता प्रवेश गराउने प्रतिस्पर्धा चलेको छ । शनिबार एकै दिन काँग्रेस एमालेले एउटै ठाउँमा कार्यक्रम गरेर नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराएका छन् ।

ललितपुरको सात कन्या मैरैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडर क्षेत्रमा एमालेले बागमती गाउँपालिका कमिटीले प्रशिक्षण भेलामा ९० जना नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो । त्यस्तै नेपाली कांग्रेसले पालिकाको सदरमुकाम छपेलीमा प्रशिक्षण कार्यक्रममा ५० भन्दा धेरै स्थानीयलाई पार्टी प्रवेश गराएको छ ।

बागमती गाउँपालिका कमिटीका अध्यक्ष नवराज सन्जेलले नेपाली काँग्रेस, माओवादी केन्द्रबाट ९० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको बताए । उनले भने, ‘नेपाली काँग्रेसबाट गाउँपालिकाको बोर्ड सदस्यमा निर्वाचित भएका गिम्दीका मदन विकसहित झण्डै  ९० जना युवा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।’

शनिबारै नेपाली काँग्रेसले पनि छपेलीमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । एमालेलगायत पार्टीबाट करिब ५० जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको काँग्रेस पालिकाका पूर्वसभापति विष्णुप्रसाद तिमल्सिनाले बताए । उनले भने, ‘लामो समयदेखि एमालेमा आबद्ध मुकुन्द दाहाल, सरस्वती दाहाल, केदार दुलाल, कुमार जिम्बा, राजु बजुलगायत ५० जना काँग्रेसमा प्रवेश गरेका छन् ।’ कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य, उदयशमशेर राणा, महिला नेतृ ईश्वरी न्यौपाने, नेताहरु मीनकृष्ण महर्जन, वीरबहादुर लोप्चन, गजेन्द्र महर्जन, विष्णुप्रसाद तिमल्सिनालगायत सहभागी थिए  ।

एमालेको प्रशिक्षण तथा वनभोजसहितको प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका सातै वडाका झन्डै एक हजार नेता कार्यकर्ता भेला भएको उनले बताए । ‘हामीले ५–६ सयको संख्यामा मात्रै स्थानीय नेता कार्यकर्ता आउँछन् भन्ने सोचेका थियौं । तर उत्साहजनक सहभागिता रह्यो,’ पलिका अध्यक्ष सञ्जेलले भने ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज सुशीला नेपाल, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरिकृष्ण व्यञ्जनकार, संघीय सांसद नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल, प्रदेश कमिटी सचिवालय सदस्य मधुसुदन पौडेल, प्रदेश कमिटी सदस्यहरू गोपाल सन्जेल, रामचन्द्र दाहाल, रामकृष्ण हुमागाईं, बाबुकाजी प्रधान, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप