कविता : छोराछोरी र बा–आमा
एउटै बाटोमा
छोरो कुकुर डोर्याउँदै हिँड्छ
हामी लट्ठी समाउँदै हिँड्छौँ
कहिलेकाहीँ त छोराले हात समाएर
हिँडाइदियोस् अलिक परसम्म जस्तो लाग्छ
हामी बूढाबूढी भइसकेको बा आमाको हात
समाउन कहाँ फुर्सद छ र उसलाई
तर त्यही छोरो हो
कुनै समय उसलाई हामीले
यही बाटोमा हिँड्न सिकाएका थियौँ ।
समयसँगै उसले नाप्यो
अलिकति शिक्षा,
अलिकति व्यापार
तर उसको मस्तिष्कले कहिल्यै बुझेन
माटो मर्दैन,
मर्ने त बिरुवा हो ।
के पढेर आयो खै उसले विद्यालयमा ?
मैले त उसलाई
जमिन नपढ्नू,
जमिनको सुगन्ध पढ्नू भनेको थिएँ ।
उसले बुझेको दुनियाँलाई
हाम्रो बूढो मस्तिष्कले
फेरो समाउन सकेको छैन
हामी बूढाबूढीलाई आधुनिकता बुझ्ने
मस्तिष्कमा सानो झ्याल चाहिएको छ ।
कवाडीमा नै फाले पनि
सुनको महत्व र अस्तित्व
कहिले पनि मेटिँदैन
बैकुण्ठ नै गए पनि
बा आमाको मन
छोराछोरीको लागि फेरिदैन
हेर,
आगोले खाए पनि
श्रीखण्डको बास्ना धुवाँमा पनि उड्छ ।
हामी त बा आमा हौँ
मन्दिर पुरानो हुन सक्छ
तर भगवान् कहिल्यै पुरानो हुँदैनन्
बाबू, आऊ हाम्रो हृदयमा
तिम्रो आधुनिकताको चप्पल खोलेर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा