बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

लोककथा : सरुङमाको श्राप

आइतबार, २० चैत २०७८, ०८ : ४२
आइतबार, २० चैत २०७८

हालको एक नम्बर प्रदेश अन्तर्गत् उदयपुर जिल्लामा चौदण्डी गढी छ । ऐतिहासिक कालखण्डमा सेनवंशी राजाहरूले राज्य गरेको यो ऐतिहासिक र मनोरम डाँडो चौदण्डी गढीमा प्राचीन दरबारका भग्नावशेषहरू अहिले पनि देख्न र हेर्न पाइन्छ । ख्यातिप्राप्त सेनवंशी राजा उदय सेनकै नामबाट उदयपुर जिल्लाको नामकरण भएको कुरा इतिहासकार बताउँछन् । आन्तरिक पर्यटन स्थलका रूपमा विकसित चौदण्डी गढीको अवलोकन भ्रमण गर्न अन्वेषक, इतिहासकार र जिज्ञासुहरू जाने गर्छन् खाना, पानी र क्यामरा बोकेर ।

कुरा उहिलेकै हो । यो भेगमा चलेको दन्त्यकथा अर्थात् किम्बदन्ती । राजा उदय सेनका पालामा उदयपुरको चौदण्डीमा साङरुङमा र सरुङमा नामका दिदीबैनी बस्थे । अति सुन्दरी भएर पनि खै किन हो, यी दिदीबैनीले विवाह गरेका थिएनन् । कोइलीकण्ठ झैँ सुरिला स्वरका धनी यी दुई किरात कन्या गीत गाउन माहिर थिए । रनवन नै घन्किने गरी गीत गाएर साङरुङमा र सरुङमाले युवाहरूलाई आफूतिर आकर्षित गर्थे । मधुर स्वरमा मदहोस हुँदै टाढा टाढादेखि युवाहरू त्यहाँ पुग्थे । उनीहरू ती दिदीबैनीसित सम्भोग गर्थे । तर सम्भोग गर्नेहरू केही छिनपछि मृत्युवरण गर्थे । त्यहाँ गएका युवाहरू कोही फर्केर आउँदैनथे । र, पनि युवाहरू त्यहाँ जान छाड्दैनथे । वारिको उदयपुर र दुधकोसी पारिको खोटाङ जिल्लाका धेरै युवाहरूको यही क्रमले मृत्यु भइसकेको थियो । गाउँमा छोरा मान्छेहरू दिउँसै राँको बालेर खोज्नुपर्ने अवस्था आइसकेको थियो  ।

पुरुष मृत्युको रहस्योद्घाटन भएपछि यसलाई रोक्ने उपायको खोजी हुन थाल्यो । खोटाङ दिप्लुङका महिला र वृद्धहरू भेला भएर बैठक बस्दै उपचारको उपाय सोच्न थाले । नजाऊ भन्दा युवाहरू नमान्ने । उपचार त मुहानमै गर्नुपर्ने भयो । कसैले के भने त कसैले के ! लामो छलफल र तर्क वितर्कपछि उनीहरू एउटा निष्कर्षमा पुगेर निर्णय गरे । सर्वसम्मत उक्त निर्णयलाई यसरी कार्यान्वयन गरियो ।

खोटाङको दिप्लुङमा लामा—लामा सिङ भएको एउटा ठूलो भैँसी काटियो । सबै गाउँलेहरू मिलेर भैँसीको मासुसहित धूमधामले भोज खाए, नाचगान गर्दै रमाए । भैँसीका सिङ अँट्ने ठिक्कका दुईवटा दाप बनाए र सिङलाई ती दापमा राखे । दुईजना साहसी युवकको छनौट भयो । विस्तृत रूपमा कार्ययोजना बताउँदै ती दुई युवकलाई एक—एक वटा दापसहितका भैँसीका सिङ थमाउँदै उदयपुरको चौदण्डीतिर पठाइयो । ती दुई युवकले बाटामा पानी खानका लागि एक—एक वटा बाँसका खाली ढुङ्ग्रा पनि बोकेका थिए । भैँसीको सिङ भएको दाप कम्मरमा भिरेका थिए । जाँदै गर्दा बाटोमा उनीहरूलाई निकै भोक लाग्यो । 

साथमा खानेकुरा केही नभएकाले ढुङ्गो खाउँ कि माटो खाउँ भइरहेको बेला एउटा मह व्यापारी भेटे । पैसा नभए पनि ती दुई युवाले महको मूल्य सोधे । व्यापारीले चार मानाको एक पैसा महको मूल्य बतायो । “लु, देऊ त एक पैसाको चार माना मह” भन्दै ढुङ्ग्रो थापे । ढुङ्ग्रामा चार माना मह हालेपछि पैसाचाहिँ फर्केर आउँदा दिने भन्दा व्यापारीले मानेन । ‘हुँदैन यदि भने लौ लैजाऊ त तिम्रो मह तिमी नै’ भन्दै ढुङ्ग्रोबाट मह उसकै भाँडोमा खन्याइदिए । 

अलिक पर पुगेपछि एउटा चिउरा व्यापारी भेटियो र चिउराको भाउ सोध्दा एक पैसामा पाँच माना आउने बतायो । “लु हालिदेऊ एक पैसाको पाँच माना” भन्दै अघिकै ढुङ्ग्रो थापे र उसैगरी फर्कँदा पैसा दिने भन्दा त्यो चिउरा व्यापारीले पनि मानेन । “हुँदैन भने लैजाऊ त तिम्रो चिउरा” भन्दै ढुङ्ग्रोबाट व्यापारीको ढाकीमा खन्याइदिए । अलिक पर पुगेर ढुङ्ग्रामा टाँसिएको मह र चिउरा दुई युवकले बाँडेर खपाखप खाए । त्यो ढुङ्ग्रामा एक माना जति मह र दुई माना जति चिउरा टाँसिएको थियो । यसरी बिना पैसा मह–चिउरा खान पाएकोमा युवकहरू दङ्ग परे । भोक मारेर ती दुई युवक ढुङ्ग्रो फालेर फटाफट चौदण्डीतिर हानिए ।

दिप्लुङ्गे दुई पुरुष चौदण्डी पुग्दा साङरुङमा र सरुङमा उसरी नै मधुर लयमा गीत रन्काउँदै युवकहरूलाई आमन्त्रण गरिरहेका थिए । एक—एक भाइ, एक—एक वटीसित गए र अनेक नखरामा प्रेमालापको स्वाङ गरे । यौन सम्पर्कमा आतुर साङरुङमा र सरुङमाले आ—आफ्ना युवकलाई अङ्कमाल गरे । दुई युवकले पनि सम्भोगको बहानामा दापभित्रको भैँसीको सिङले मारिदिए । प्राण जानुपूर्व तड्पिरहेको अवस्थामा साङरुङमा र सरुङमाले आफू वायु (बतास) भएर आउने घोषणा गर्दै श्राप दिए :

१.यो क्षेत्रका छोरा मान्छे उमेर नपुगी अल्पायुमै मरुन् ।

२. यो क्षेत्रका मानिसले पानी खान नपाउन् ।

३. दही—दूध खाने वस्तुभाउ नहुन् ।

४. यो क्षेत्रमा अचाक्ली गर्मीले पोलोस् ।

५. बिहानभरि बेजोडले हावाहुरी र बतास चलोस् ।

यी पाँच श्राप दिएर प्राण त्याग गरेका साङरुङमा र सरुङमाको श्राप उदयपुरको चौदण्डी क्षेत्र (चौदण्डी, सुगाचरी, चतरा र कोसीकिनार) मा अहिले पनि लागिरहेछ । यो क्षेत्रका छोरा मान्छेहरू दीर्घायु थिएनन् । पानीको स्रोत र मुहान छैन । बटुवाहरू काकाकुल भएर हिँड्नु पर्छ । घरको पानी पनि बुहारीको पेवा हुन्छ । बस्तुभाउ राम्ररी सप्रिदैनन् । भएका बस्तुभाउ पनि थारै बस्छन् । गर्मी यत्ति हुन्छ कि मरुभूमिलाई बिर्साउँछ । बिहान ९ बजेसम्म बेजोडले बतास चल्छ । सुगाचरीको बाटोमा त मान्छे नै उडाउला जत्तिकै हुरी चल्छ ।

किन यस्तो भएको यो ठाउँमा भन्ने प्रश्न गर्दा यो भेगका बुढापाकाहरू फटाफट यही लोककथा सुनाउँछन् ।

बराहपोखरी—४,धर्तुङ, खोटाङ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप