मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

फिल्मको रिलझैँ घुमिरहेको झरना र सुनिलकुमारको ‘रियल’ जीवन

आइतबार, २० चैत २०७८, ०६ : ३७
आइतबार, २० चैत २०७८

झरना थापाको लेखन तथा निर्देशनमा उनकी छोरी सुहाना र अनमोल केसीको मुख्य अभिनय अनि सुनिलकुमार थापाको लगानीमा बनेको ‘ए मेरो हजुर–४’को चर्चा नेपाली चलचित्र बजारमा अहिले व्यापक छ । फिल्मी कर्ममा रमाएका झरना र सुनिल दम्पतीको ‘रियल’ लाइफ पनि रिल लाइफझैँ नाटकीय छ । टिनएजको त्यो उमेर, त्यो समय, अनि त्यो प्रेम प्राप्तिका लागि गरेको दौडधूप सम्झँदा सुनिलकुमार नोस्टाल्जिक हुन्छन् । अनि, उनको प्रेमले पुलकित झरना अतीतलाई सम्झँदा यसै हराउँछिन् । उनीहरूलाई लाग्छ, आफ्नै विगत पनि एउटा सुन्दर चलचित्र हो । जहाँ एउटा मीठो कथा छ, कथामा बाँधिएका भिन्न भिन्न पात्र छन् र त्यसकै मुख्य भूमिकामा स्वयम् ती दुई बाँचेका छन् ।

‘हामीलाई हाम्रै प्रेम कहानी कता–कता फिल्मी लाग्छ, आफैमा कथा झैँ लाग्छ’, रोमाञ्चक मुडमा सुनिलकुमार सुनाउँछन्, ‘यही कथालाई मात्र फिल्म बनायो भने पनि सुपरहिट हुन्छ ।’

१७ वर्षको कलिलो उमेरमा २२ वर्षका सुनिलसँग डराउँदै डराउँदै भागेर विवाह गरेकी हुन् झरनाले । त्यो पनि हतार हतार । प्रसङ्गमा सुनिल सुनाउँछिन्, ‘वैशाखमा भेट भएको थियो । असारमा बिहे गर्‍यौँ । हामीले एक अर्कालाई राम्रोसँग चिन्न पनि राम्रो पाएका थिएनौँ ।’

त्यो तीन महिनाको समय झरना र सुनिलका लागि रमाइलो थियो । काठमाडौँको बागबजारस्थित पीके क्याम्पस अगाडी जब सुनिलले झरनालाई देखे, उनको मनमा प्रेम अंकुरायो । ‘चलचित्र बनाउने प्रसङ्गमा नायिकाको खोजीसँगै उनीसँग डान्स क्लासमा भेट भयो । तर, चलचित्र भन्दा पनि उनलाई कसरी पट्याउने भन्नेमै मन गइरहन्थ्यो,’, लजाउँदै सुनिलकुमार सुनाउँछन्, ‘झरनासँग भेट भएपछि अर्को दिनबाट म पीके क्याम्पस अगाडि बस्न थालेँ । उनी साथीसहित आउँथिन्, म त्यही तितौरा÷पाउँ किनेर दिन्थेँ । त्यो समय पीके क्याम्पस भन्नासाथ एउटा माहौल थियो । अहिले जस्तो फोनका जवाना थिएन, सोसल मिडिया थिएन । भेट्न, हेर्न र बोल्न भएपनि उतैतिर बरालिनु पर्थ्यो ।’

सुनिलले त देख्ने वित्तिकै मन पराएका थिए झरनालाई तर सुनिलप्रति उनी कसरी आकर्षित भइन् ? लजाउँदै सुनाउँछिन् झरना, ‘उहाँले एकदमै फकाउने, धेरै लोभ्याउने पनि । घर परिवारले हुँदैन भनेर अस्वीकार गर्दा पनि मेरो पिछा नै नछाड्ने क्या ।’ 

उनी मायाले मात्र नभएर सुनिलको व्यवहारले पनि आकर्षित थिइन् । उनीहरूबीच राम्रो चिनजान थिएन, परिवार चिन्ने समय पनि कम थियो । तर, तीन महिनामै विवाह गर्ने निधो गरे । त्यो क्षण सम्झन्छिन् झरना, ‘म सँगै बिहे गर्ने भनेर उहाँले त्यो तीन महिनामा थुप्रै राम्रा–राम्रा साडी किनिदिने, राम्रो–राम्रो गहना किनिदिने । यहाँसम्म कि उहाँले त्यो समयमा मलाई २० लाखको सुन अनि हीरासम्म पनि किनिदिनुभएको थियो ।’ 

‘याद छ, त्यो समय उहाँले ४० हजार मूल्य पर्ने चाँदीले भरिएको सारी किनिदिनुभएको । चाँदीको जरिले भरिएको त्यो साडी आज पनि उसै गरी राखेकी छु, जसरी हिजो उहाँले प्रेमको सौगात स्वरूप दिनुभएको थियो । हो यस्तै–यस्तै कुराले मलाई लोभ्याएको थियो ।’ 

झरनालाई लाग्थ्यो, ‘म सानै छु, अहिले नै बिहे गर्दिन, मान्छे पनि सानै छु । बुबा आमाको इच्छा चाहना पनि छैन ।’ तर सुनिलकुमारको प्रेम, झरनालाई पाउन उनले गरेका अनेकन प्रयासले उनी भित्रभित्रै पग्लिसकेकी थिइन् । 

सुनिलले झरनालाई पाउन कम कोसिस गरेका थिएनन् । उनका बुबाआमा र परिवार छाडेर मामा, सानिमा सबैसँग मागे तर दिएनन् अनि भगाएरै विवाह गरे । झरना नेवारकी छोरी अनि सुनिलकुमार काठमाडौँको रैथाने थापा क्षेत्रीको छोरो । बुबाको ईच्छा छोरीलाई नेवारकै घर पठाउने थियो । काठमाडौँमा घरमात्र होइन, आम्दानी पनि राम्रै भएको मान्छेको खोजीमा थिए झरनाका बुबा । झरना सुनाउँछिन्, ‘हामी दाङबाट काठमाडौँ आएका थियौँ, बुबाको चाहना जागिरवाला, कमाउने केटासँग घरजम गराउने रहर थियो । त्यस्तै एकजना आर्मीका कर्णेलसँग विवाहको कुरा पनि चलिरहेको थियो,’ सुनिलकुमार जागिरे थिएनन्, न त उनी नेवारका छोरा नै थिए । यसैले सुनिलले मागेर पनि झरनालाई पाएनन् । अनि त उनले फकाइ फुल्याइ भगाएरै लगे । 

भागेर विवाह गर्दाका छुट्टै किस्सा छन् उनीहरूसँग । ‘मसँग उनलाई भगाउने आँट थियो तर उनी भने निर्णय गर्न नसक्ने,’, सुनिलकुमार सम्झन्छन्, ‘बिहे गरेर भाग्ने भनेर फिक्स गरेको दिन पनि झरना हराइन् । पाटन संयुक्त क्याम्पसमा चलिरहेको अन्तिम परीक्षा दिइसकेपछि हाम्रो भाग्ने योजना थियो । बिहे गर्ने भनेर म रोमाञ्चक मुडमा हरियो गाडी लिएर पाटन ढोका पुगें । तर उनी चाहिँ मलाई देखेर लुसुक्क भागिसकिछन् । लु भएन, बेकार झुट बोलेर भागिछन् भनेर मन अमिलो भयो,’ सुनिललाई लाग्यो अब केही लागेन । मन मारेर उनी त्यहाँबाट निस्किए ।

यता झरना भने सुनिललाई धोका दिने कि साथ दिने भन्ने दोधारमा थिइन् । सुनाउँछिन्, ‘परीक्षा सकेँ । गुहेश्वरीमा गएर बिहे गर्ने योजना थियो । धड्कन बढेको थियो, डर उत्तिकै थियो । साँच्ची बिहे गर्ने कि नगर्ने ? बुबाआमाको इच्छा पनि छैन भनेर सुनिललाई नभेटी खुसुक्क बस चढेर त्यहाँबाट लाजिम्पाट डेरातर्फ भागेँ ।’ 

झरनाको मन बेचैन थियो । ‘बसमा पनि के कसो गर्ने होला भन्दै सोचिरहेँ । तर मलाई लोभ थियो कि, त्यत्रो गहना, साडी किनिदिएको छ । बिहे गरिनँ भने कसले लगाउने ती बहुमूल्य गहना ?’ सुनिलको माया अनि बच्चाझैँ गहना र साडीमा लोभिएकी झरना अनेकन प्रश्नका बीच पुतलीसडकमै उत्रिइन्, त्यही कतै टोलाइरहिन् । 

भाइले समेत बिहे गरेर परिवारबाट बिहेको प्रेसर झेलिरहेका सुनिलकुमार अमिलो मन बनाउँदै हरियो गाडी हुइक्याउँदै पुतलीसडककै बाटो बागबजार हान्निरहेका थिए । बिहेको संयोग भनौँ, पुतलीसडकमा झरना टोलाइरहेकी सुनिलले देखे र ब्रेक मारे । 

अनि, त्यही दिनदेखि झरना र सुनिलकुमार सधैँका लागि एक भए । त्यो क्षण सम्झेर रोमाञ्चक भावमा दुवै भन्छन्, ‘लाग्छ भाग्यमै हामीलाई एक अर्काको हुन लेखेको रहेछ । त्यही दिन हामीले विवाह गर्‍यौँ । एक अर्कामा समर्पित भयौँ ।’

आज नेपाली चलचित्र बजारका लागि सुपरिचत नाम हो झरना थापा र सुनिलकुमार थापा । सफल अभिनेत्री सँगसँगै सफल निर्देशकसमेत बनेर आफ्नो परिचयको दायरा फराकिलो बनाएकी झरना थापा अनि चलचित्र क्षेत्रमै लगानी गरेर यही उद्योगमा रमाइरहेका एक उद्यमी हुन् सुनिलकुमार थापा । आफ्नै जीवनयात्रा, आफ्नै प्रेम यात्रालाई चलचित्रझैं सम्झने यो दम्पत्ती आज चलचित्र क्षेत्रमै रमाइरहेको छ । आफ्नो मात्र होइन, एक मात्र सन्तान सुहाना थापाको भविष्य पनि यही क्षेत्रमा फुलाउने कोसिस गरिरहेका छन् उनीहरू ।

सानै उमेरमा विवाह गरेर पनि झरनालाई कुनै गुनासो छैन । समाजका अनेकन सीमा पार गर्दै श्रीमानको सहयोग र हौसलाले आज यो अवस्थामा आइपुगेकोमा उनलाई गौरव लाग्छ । ‘विवाहको समय, आफू सानै उमेरकी भएपनि लाग्छ म भाग्यमानी रहेछु । भगवान्लाई धन्यवाद दिन्छु । मलाई असाध्यै माया गर्ने मान्छेसँग विवाह भयो । उहाँको म प्रतिको बुझाइ अनि त्यसकै परिणामले म आज यो अवस्थामा छु,’ झरना भन्छिन्, ‘उहाँको साथ नभएको भए एक कलाकार, निर्देशकका रूपमा उभिन सम्भव थिएन । सायद एउटी गृहिणी अथवा जागिरेसम्म हुन्थेँ होला ।’

समाजले दिने गरेका तीता अनुभूति पचाउँदै आज झरनालाई यो अवस्थामा पुर्‍याउन सकेकोमा र आफू सफल निर्माताका रूपमा उभिन सकेकोमा सुनिलकुमार पनि खुसी छन् । भन्छन्, ‘यो ग्ल्यामर दुनियाँलाई बुझेर यो क्षेत्रमा खुल्ला छोड्नु, अगाडि बढ्न हौसला दिन सक्नु ठूलो हृदय हुनुपर्छ । म निर्माता त हुन्थेँ होला, संगत चलचित्र क्षेत्रकै थियो । तर, मेरो जीवनलाई यसरी यहाँसम्म डोर्‍याउने मान्छे चाहिँ सायदै पाउँथे होला’, उनी झरनाले दिएको माया र साथप्रति आभारी छन् । 

विवाहको २५ बढी वसन्त कटिसक्यो । एक सन्तान सहितको सानो खुसी र सुखी परिवारमा रमाइरहेका छन् उनीहरू । चलचित्र बजारमा उदाहरणीय जोडीका रूपमा चिनिन्छन् उनीहरू । यी दम्पती सबै दर्शकसँग अपिल गर्छन्, ‘नयाँ वर्षमा नयाँ चलचित्र लिएर आएका छौँ । नेपाली कला, संस्कृति, संस्कारलाई आत्मसाथ गरेर तयार फिल्मलाई नेपाली मनले नयाँ ऊर्जासहित चियर अप गर्दिनुस् ल ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप