आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकको काम आजको आजै गर्न गृहमन्त्री खाँणको निर्देशन

शनिबार, १९ चैत २०७८, २१ : ३८
शनिबार, १९ चैत २०७८

नागरिकको काम आजै गर्न गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय तेह्रथुम भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको काम आजको काम आजै गर्न निर्देशन कर्मचारी दिएका हुन् । 

‘तेह्रथुम पर्यटकीय रूपमा सम्भावना बोकेको जिल्ला हो । पर्यटन क्षेत्रबाट आर्थिक क्रियाशील बनाउन चौबीसै घण्टा होटेल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न व्यवसायीले जिल्ला प्रशासनसँग समन्वय गरी सञ्चालन सक्ने छन्’ उनले भने । तेह्रथुममा बुनेको ढाकाको चर्चा गर्दै ढाका उद्योगी व्यवसायीलाई व्यवसायको निरन्तरता दिन आग्रह गरे ।

जिल्ला प्रशासन आधुनिक भवन निमार्णले प्रशासनिक कामकाजमा सहयोग र जनताको सेवामा प्रभावकारिता हुने गृहमन्त्री खाँणले बताए । जिल्लामा एक बेडको अस्पताल निमार्णका लागि स्वास्थ्य मन्त्रालय प्रयासरत रहेको स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले बताए । 

‘जिल्लाको सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति रहेको छ । यसलाई कार्यान्वयनमा ल्याउन लागि परेका छौं । देशका सबै स्थानीय तहमा ५ देखि १५ बेडको अस्पताल निमार्णमा स्वास्थ्य मन्त्रालय लागि परेको छ । प्रायजसो अस्पताल निमार्णको अगाडी बढाइरहेका छौं’ उनले भने ।

जिल्लाको आर्थिक समृद्धिका लागि प्रचुर मात्रामा पर्यटकीय सम्भावना रहेकाले पूर्वाधार विकासको काममा आवश्यक पहल भइरहेको राज्यमन्त्री खापुङले चर्चा गरे ।  जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन मूल्य अभिवृद्धि कर र कन्टिन्जेन्सी बाहेक ९ करोड ९ लाख ५६ हजार ४ सय ६४ रुपैयाँ बराबरको लागतमा जिल्ला प्रशासन भवन निमार्ण कार्य सम्पन्न भएको हो । सहरी विकास तथा भवन कार्यालय धनकुटाको लागतमा भवन निमार्ण कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे बताए । 

लामो समयसम्म जीर्ण भवनमा सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासनले नयाँ भवनबाट सेवा प्रवाह गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयका साथै इलाका प्रशासन कार्यालय आठराईबाट प्रशासनको सेवा प्रवाह गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बुले बताए । नवनिर्मित भवनबाट सेवा लिन नागरिकलाई समेत सहज बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप