बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस–भाजपा सम्बन्ध: राखी कूटनीतिदेखि भाजपाका कार्यालयसम्म

शनिबार, १९ चैत २०७८, २३ : २५
शनिबार, १९ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको रहेको बेला सबैभन्दा बढी चर्चा भारतीय जनता पार्टीको कार्यालयमा उनले गरेको भ्रमणको रहेको छ ।  चैत १८ गते भारत भ्रमणमा दिल्ली पुगेका देउवा भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डालाई भेट्न दिल्लीको ६ ए दिनदयाल उपाध्याय मार्ग पुगेका थिए । भाजपाको कार्यालय पुग्नुअघि प्रधानमन्त्री देउवा विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेका थिए । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भाजपाका अध्यक्ष जेपी नड्डासँग भेट्ने कार्यतालिका तय भए पनि कहाँ भेट्ने स्थान तय भएको थिएन ।  भाजपाका अध्यक्ष नड्डाले पार्टी कार्यालयमा नै  निम्ता दिएपछि प्रधानमन्त्री देउवा त्यहाँ पुगेको बताइएको छ । भाजपाकै कार्यालयमा गएर त्यहाँका अध्यक्षलाई भेट्ने देउवा नेपालका नेपालका पहिलो प्रधानमन्त्री हुन् । त्यसैले उनले आफ्नो प्रोटोकल मिचेर त्यहाँ गएको भनेर आलोचना भइरहेको छ । यता कतिपयले देउवा प्रधानमन्त्रीको रूपमा नभएर पार्टी अध्यक्षको नाताले पार्टी–पार्टीबीचको सम्बन्ध स्थापित गर्नका लागि त्यहाँ गएको तर्क गरिरहेका छन् । 

भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाला गत भदौको पहिलो साता काँग्रेस पार्टीको निमन्त्रणमा नेपाल आएका थिए । त्यसबेला प्रधामन्त्री देउवाका पत्नी डा.आरजु देउवाले भाजपाका नेता चौथाइवालालाई राखी बाँधेकी थिइन् । त्यहीँबाट राखीको कूटनीति सुरु भएको थियो । त्यो राखी कूटनीति अहिले भाजपाको कार्यालयसम्म पुगेको छ । 

पछिल्लो समय प्रधानमन्त्री देउवाले भारतसँग सम्बन्ध सुधारका लागि आफ्ना श्रीमती आरजुलाई निकै प्रयोग गरेको देखिन्छ । देउवा प्रधानमन्त्री हुनुअघि र पछि पनि पटक पटक भारत भ्रमण गरेकी आरजुकै कारण प्रधानमन्त्री देउवा भाजपाको कार्यालयसम्म पुगेका हुन् । गत पुसको दोस्रो साता पनि आरजुले भारत भ्रमण गरेकी थिइन् । एकजना आफन्तको उपचारका लागि भारत गएका भनिए पनि उनी त्यहाँ गएर उच्च स्तरीय भेटघाट गरेकी थिइन् । 

त्यतिबेला पनि उनले भाजपाका विदेश विभाग प्रमुख चौथाइवालालाई भेटेकी थिइन् । चौथाइवालासँग विशेष कुटनीतिक सम्बन्ध बनाएकी आरजुले काँगेस–भाजपा बीच पनि सम्बन्ध बनाउन सफल भएकी हुन् । त्यही सम्बन्धका कारण काँग्रेसका तीनजना नेता भाजपाको निमन्त्रणमा भारत भ्रमण गरिसकेका छन् । पार्टीका प्रवक्ता डा.प्रकाशरण महतको नेतृत्वमा नेताहरु उदयशम्शेर राणा र अजय चौरसीया असोज २१ गते भारत भ्रमणमा गएका थिए । त्यसबीचमा पार्टीका नेता शशांक कोइाराला, विमेलेन्द्र निधिहरू पनि भारत भ्रमण गरेर फर्केका छन् । 

राखी कूटनीतिबाट सुरु भएको भाजपा–काँग्रेसको सम्बन्ध प्रधानमन्त्री देउवाको भ्रमणले झन् बलियो बनाएको कुरा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिबाट पनि पुष्टि हुन्छ । 

वरिष्ठ पत्रकार किशोर नेपालले आफ्नो ट्वीटमा लेखेका छन्,–‘भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवा सत्ताधारी दल भारतीय जनता पार्टीको मुख्यालय गएकोमा निकै हो–हल्ला भएको छ काठमाडौँमा । यसमा देउवाको के दोष ? उनलाई ’मेजमान’ ले जता लगे त्यतै गए । यति कुरामा के बबन्डर गर्नु ?’

अर्का पत्रकार भूषण दाहालले पनि आफ्नो ट्वीटरमा लेखेका छन्, ‘ अतिथिको इच्छा विपरीत कुनै पनि आतिथ्य प्रदायकले कार्यक्रम तय नगर्ला तर टिप्पणीकारहरूको कल्पनाका अगाडि कूटनैतिक योजनाकारहरूको फितलो तयारी छर्लङ्ग देखियो । प्रधानमन्त्रीको बीजेपी पार्टी कार्यालय भ्रमण र बनारस तीर्थाटनलाई जोड्दा गठबन्धनलाई हिन्दुत्वको चन्दन लाई दिएको आभास भयो । हेर्दै जाऊँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार उत्तर प्रदेशको काशी विश्वनाथ करिडोरको अवलोकन गर्न जाने भएका छन् । त्यहाँ काशी विश्वनाथको विशेष पूजाआजामा उनी सहभागी हुनेछन् । प्रधानमन्त्री भएपछि पशुपतिको दर्शन समेत नगरेका देउवाले भारतमा गएर काशी विश्वनाथको विशेष पूजाआजा गर्नु भनेको राजनीतिमा हिन्दु कार्ड प्रयोग गर्न लागेको भनेर पनि टिप्पणी भइरहेको छ । 

काशी विश्वनाथ क्षेत्र प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र पनि रहेको छ । त्यसको विकासमा प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको प्रमुख योगदान रहेको छ । ३९ हजार वर्ग मिटर क्षेत्रमा निर्माण भएको सो काशी विश्वनाथ करिडोरका लागि ६०० करोड भारतीय रुपैयाँभन्दा बढी खर्च भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप