शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

शनिबार, १९ चैत २०७८, २१ : १०
शनिबार, १९ चैत २०७८

पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले आज सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएको रातोपाटीलाई बताए । उनले घोषणा भएको भोलिदेखिको चरणबद्ध आन्दोलन आजैबाट फिर्ता भएको समेत बताए ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए । उनीहरूले विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए ।

निगमलाई ढुवानी भाडा बढाउन दबाब दिँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि देशभरका पेट्रोल पम्पहरूमा लाइन सुरु भइसकेको छ । यस्तै, देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति समेत खलबलिइसकेको छ । 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले आज शनिबार अबेर सम्पन्न व्यवसायीहरूसँगको वार्ताबाट निकास निस्केको बताए । उनले व्यवसायी र निगम निरन्तर छलफलमा बसेर आवश्यक निष्कर्ष निकाल्ने सहमति भएको रातोपाटीलाई बताए ।

‘अबको एक साता भित्र व्यवसायीका केही बुँदामा निष्कर्ष निस्कन्छ । यस्तै, बाँकी केही बुँदामा जेठ १५ गते भित्र निष्कर्ष निकाल्ने सहमति बनेको छ,’ उनले भने, ‘यससँगै भोलि बिहान ८ बजेदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप