बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

भारतीय व्यवसायीलाई प्रधानमन्त्रीले भने, 'नेपालमा लगानीको वातावरण सहज बनाउन तयार छु'

शनिबार, १९ चैत २०७८, १९ : ४४
शनिबार, १९ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सधैँ तयार रहेको बताएका छन् । भारत भ्रमणका क्रममा आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा देउवाले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै त्यसका लागि वातावरण बनाउने जिकिर गरेका हुन् । 

कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सिआईआई भारतमा महासंघको साझेदार संस्था हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदान प्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उनले बताए । 

कार्यक्रममा नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन् । कार्यक्रममा महासङ्घ अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । उनले पर्यटन क्षेत्रमा सम्भावना बढ्दै गएको पनि बताए । अबको दुई वर्षमा अहिलेको पर्यटन पूर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि बताए । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले जानकारी गराए ।

कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । सिआईआईको उर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनको भनाइ थियो । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनले बताए । 

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यावसायिक फोरमको बारेमा जानकारी गराएकी थिइन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराए ।

कार्यक्रममा करिब ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए । यसअघि, महासङ्घ र सिआईआईका पदाधिकारीहरू बीच द्विपक्षीय छलफल भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप