शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष खेलाडीको मनोनयन सार्वजनिक

शनिबार, १९ चैत २०७८, १९ : १४
शनिबार, १९ चैत २०७८

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूर पश्चिमाञ्चल एकेडेमीको  मुख्य प्रायोजन रहेको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र फुटबलका टेकेन्द्र थापा परेका छन् । त्यस्तै महिलातर्फ भलिबलकी सरस्वती चौधरी एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी उषा नाथ परेकी छिन् । 

पुरुषतर्फ मनोनयनमा परेका प्रिन्स जुनियर तर्फको विश्व बरियतामा १ नम्बरमा रहेका छन् । दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा शतक र अर्धशतक सहित टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । नेपाली पुरुष फुटबलको टीममा परेका टिकेन्द्र थापाले पहिलो पटक नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनले जावलाखेल युथ क्लबकाट ए डिभिजन लिग खेल्दै आएका छन् । 

महिलातर्फ मनोनयनमा परेकी सरस्वतीले नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् भने घरेलु प्रतियोगिताहरूमा सानदार प्रदर्शन गर्दै आएकी छिन् । उषा उमेर समूह हुँदै नेपाली महिला फुटबल टोलीमा स्थान बनाउन सफल भएकी छिन् । उनी राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलरक्षक बनेकी थिइन् । एथलेटिक्सकी राजपुराले –भारतको नागाल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक जितेकी थिइन् भने १५औँ र १६औँ संस्करणको पोखरा म्याराथनको उपाधि पनि जितेकी थिइन् । 

विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप