शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुटपिटबाट आँखा फुटाइएका घाइतेले जब अदालत पुगेर दुर्घटना भने ......

झूठा जाहेरी दिएर थुनाएको भन्दै प्रतिवादीलाई क्षतिपूर्ति भराउने फैसला
शनिबार, १९ चैत २०७८, १४ : ४१
शनिबार, १९ चैत २०७८

मानिसहरु आफू अन्यायमा परेको महसुस गरे भने जाने ठाउँ भनेको अदालत नै हो । आफूमाथि कुनै अन्याय हुँदा न्याय माग्न जाने ठाउँ अदालतमा पुगेर कसैले हुँदै नभएको जाहेरीको आधारमा समय बर्वाद गर्दै कुनै व्यक्तिलाई अनाहकमै थुनाए भने के गर्ने ? कास्की जिल्ला अदालतले एउटा यस्तो फैसला गरिदिएको छ, जहाँ अदालतमा होस्टाइल भएर बयान फेर्ने जाहेरवालालाई पाँच हजार रुपैयाँ जरिवाना र प्रतिवादी बनाइएका व्यक्तिलाई जाहेरवालाबाटै २० हजार क्षतिपूर्ति भराउने आदेश गरिएको छ ।

कास्की जिल्ला अदालतमा न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले ज्यान मार्ने उद्योग र अङ्गभङ्गमा झुट्टा जाहेरी दिएको भन्दै जाहेरवाला याम बहादुर गुरुङलाई ५ हजार रुपैयाँ जरिवाना र प्रतिवादीलाई २० हजार रुपैयाँ क्षतिपूीर्त भराउन आदेश दिएको हो ।

झुट्टा जाहेरी दिएर प्रहरी र अदालतको समय बर्वाद गरेको र प्रतिवादीलाई बिनाकारण थुनामा राख्ने अवस्था ल्याएको भन्दै जाहेरवाला गुरुङलाई जरिवाना र पीडित (प्रतिवादी) बिक्की भन्ने बिक्रम भण्डारीलाई जाहेरवाला बाटै २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला दिइएको हो ।

पहिले भएको के थियो त्यो बुझौँ–

२०७८ साल जेठ २१ गते पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वरमा रहेको एक निर्माणाधीन कृषि फर्मभित्र ६÷७ जना युवाहरुबीच कुटपीट भयो । कुटपीटका क्रममा केही व्यक्तिहरु सामान्य घाइते भए भने फर्म सञ्चालनको तयारीमा रहेका विशाल गुरुङको शरीरका विभिन्न भागमा चोटपटक लाग्नुका साथी आँखा समेत फुट्यो ।

मदिराले लठ्ठ भएका समूहको कुटपिटबाट विशाल गम्भीर घाइते बने । अनि त्यही समय कसैले झगडा भइरहेको भन्दै प्रहरीको कन्ट्रोल रुममा खबर गरिदियो र प्रहरी पुगेर झगडा छुट्टाए । सोही क्रममा प्रहरीले केही व्यक्तिलाई पक्राउ ग¥यो भने दुई व्यक्ति त्यहाँबाट भागे ।

प्रहरीले घाइतेलाई तत्काल उद्धार गरेर अस्पताल पुरायो भने कुटपीटमा संलग्न बिक्की भन्ने बिक्रम भण्डारी, सागर भण्डारी लगायतका व्यक्तिहरुलाई नियन्त्रणमा लियो ।

त्यसको भोलिपल्ट नै पीडित अर्थात् घाइते विशाल गुरुङका बुवा याम बहादुर गुरुङले प्रहरीमा जाहेरी दिएर कारवाहीको माग गरे । प्रहरीले घटनाको अनुसन्धान गर्दै साक्षी बुझेर प्रतिवेदन बनायो र प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले ज्यान मार्ने उद्योग र अङ्गभङ्गमा कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्यो ।

जाहेरवाला याम बहादुर गुरुङले प्रहरीमा जाहेरी दिँदा यस्तो लेखाएका थिए–

‘प्रतिवादीहरुले मिति २०७८ जेठ २१ गते आँफैले सञ्चालन गरेको कृषि फार्मका बसेका मेरो छोरा विशाल गुरुङलाई बिक्की भन्ने बिक्रम भण्डारी, स्वीकार भण्डारी, सागर भण्डारी र भुमी भन्ने अमिर गुरुङले मादक पदार्थ सेवन गरी मेरो छोरा विशाल गुरुङसँग बिना कारण विवाद झगडा गरी छोराको ज्यानै मार्ने नियतले छोरालाई खुडाँ, दाउ, लात्ती, मुक्काले प्रहार गरी मरणासन्न अवस्थामा पुर्याई दाहिने आँखा फुटाली नाकको डाँडी समेत भाँची दिएको र कान तथा दाहिने हातमा समेत चोट पु¥याएको तथा छुट्टयाउन गएका नविन आलेलाई समेत कुटपिट गरी घाइते बनाएको हुँदा ज्यान मार्ने उद्योग गर्ने निजहरुलाई कानून बमोजिम हदैसम्मको कारबाही गरी पाउँ ।’

प्रहरीले सोही जाहेरी, घटनास्थल मुचुल्का, झगडा छुट्टाउन जानेहरुको बयान, देख्नेहरुको बयान आदिलाई समेटेर मुद्दा तयार पारेको थियो । पीडित भनिएका विशाल गुरुङले सुरुमा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा पनि आफूमाथि ज्यान मार्ने उद्धेश्यले आक्रमण भएको भन्दै प्रतिवादीहरुलाई कडा कारवाहीको माग गरेका थिए ।

घाइते विशाल गुरुङले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा पनि आफूमाथि बिक्रम भण्डारी लगायतका व्यक्तिहरुले आक्रमण गरेको बयान दिएका थिए । बयानमा उनले भनेका थिए–

‘म र गणेश भण्डारी भई निजको चार रोपनी जती जग्गामा संयुक्त लगानी गरी कृषि फार्म दर्ता गरी ह्याचरी राखेर चल्ला उत्पादन गर्ने, माछापालन गर्ने र टनेल हालेर तरकारी खेती गर्नको लागि अस्थायी कम्पाउण्ड कन्स्ट्रक्सन काम गर्दै थियौँ । मिति २०७८ जेठ २१ गते बेलुका काम सोही टहरोमा बसेर लोकल रक्सी खाँदै गर्दा बिक्की भन्ने बिक्रम भण्डारी र आशिष खत्री रक्सी सेवन गरी मातेको अवस्थामा उक्त ठाउँमा आई हामीहरुसँगै बसेर रक्सी खाएका हुन् ।

गत सालको असार महिनामा बिक्की भन्ने बिक्रम भण्डारीले लकडाउनको बेलामा स्कूटर माग्दा मैले नदिएको विषयलाई लिएर निजले म सँग विवाद गरे, निज र म बीच विवाद चर्किएपछि सागर भण्डारी र छिमेकी भुमी भन्ने अमिर गुरुङ एक्कासी उक्त ठाउँमा आएर सागर भण्डारीले मलाई पछाडिबाट हातले समातेका र बिक्की भन्ने बिक्रम भण्डारी, स्वीकार भण्डारी, भुमी भन्ने अमिर गुरुङले मलाई बाँस, धारिलो हतियार समेतले मेरो दायाँ आँखामाथी निधारमा प्रहार गरी गम्भीर घाईते बनाएका हुन् ।

निजहरुको कुटपिटबाट मेरो दाहिने आँखाको देख्ने शक्ति गुमेर हाल दाहिने आँखाले नदेख्ने अवस्थामा पुगेको छ भने मेरो नाकको डाँडीको भाग फ्याक्चर भएको, बायाँ हाताको साहिली औंला फ्याक्चर भएको, दुबै साईडको कञ्चटको भाग लगायत शरीरको अन्य भागहरुमा समेत लछारिएको निल डाम, घाउचोट लागेको छ । निजहरु मध्ये कसैले धारिलो हतियार, कसैले ढुङ्गा, कसैले टनेल बनाउनको लागि काटेको गोलो तथा चिरेको बाँसले मेरो ज्यानै लिने उदेश्यले प्रहार गरेका हुन् । छुट्टाउन खोज्दा निजहरुको प्रहारबाट नविन आलेसमेत घाईते भएका थिए ।

पार्कल्याण्ड अस्पतालमा उपचार हुन नसक्ने भएपछि हिमालय आँखा अस्पताल गई उक्त अस्पतालबाट समेत रिफर भई मणिपाल शिक्षण अस्पताल गई भोलिपल्ट पुन हिमालय आँखा अस्पताल गई आँखाको सर्जरी भएको हो । चिकित्सकसँग सल्लाह लिँदा मेरो दाहिने आँखाको देख्ने शक्ति गुमेको भनेका छन्, उपचारकै क्रममा छु, मेरो ज्यान मार्ने योजना बनाएर मलाई कुटपिट गर्ने निज स्वीकार भण्डारी, सागर भण्डारी, भुमी भन्ने अमिर गुरुङ समेतलाई कानून बमोजिम हदैसम्मको सजाय होस् ।’

आक्रमणबाट घाइते बनाइएका विशाल गुरुङले मात्रै नभई आक्रमण कुन अवस्थामा कसरी भयो भनेर प्रतिवादी बनाइएका बिक्रम भण्डारीले पनि अधिकारप्राप्त अधिकारीसमक्ष साविती बयान दिएका थिए । बयानमा उनले आफूले आक्रमण गरेको स्वीकारसमेत गरेका थिए ।

बिक्रमले आफ्नो बयानमा भनेका थिए–

‘मिति २०७८ जेठ २१ गते बेलुकाको समयमा घरबाट निस्केर दाई गणेश भण्डारी र विशाल गुरुङले संयुक्त लगानीमा सञ्चालन गर्ने गरेको कृषि फार्ममा हेर्न बस्नको लागि गएकोमा उक्त फार्मको कोठा भित्र विशाल गुरुङ, नविल आले र गणेश अधिकारीले रक्सी खाँदै रहेछन् । हामीहरु पनि त्यही बसेर रक्सी खायौँ । गणेश भण्डारी केही बेरमा घरमा जान्छु भनि गएका हुन् । रक्सी खाँदै गर्दा मेरो विशाल गुरुङसँग वादविवाद भएकोमा विशाल गुरुङले सिङ्गल लडौँ भन्दै मलाई हान्न आउँदा म र विशाल गुरुङबीच हानाहान भएको हो ।

नविन आले छुट्याउन आएका र निजले हान्दा मेरो बायाँ हातको हत्केलामा सानो कोतरिएको चोट लागेको थियो । मैले त्यहाँ टनेल बनाउनको लागि काटेर राखेको बाँसले विशाल गुरुङलाई हानेको हुँ भने सोही क्रममा मेरो टोलका साथी सागर भण्डारी र अमिर गुरुङ समेत आएर निज विशाल गुरुङलाई कुटपिट गरेका हुन् । भने मेरो भाइ स्वीकार भण्डारी समेत घटनास्थलमा आएका थिए तर निजले विशाल गुरुङलाई कुटपिट गरे गरेनन् थाहा भएन ।

झगडा छुट्याउन आएका नविन आलेलाई समेत चोटपटक लागेको थियो । मैले विशाल गुरुङलाई बाँसको टुक्रा, ढुङ्गा समेतले हानेको र सागर भण्डारी र अमिर गुरुङ समेतले कुटपिट गर्दा निजको दाहिने आँखामा चोट लागेर हेर्ने शक्ति कमजोर भएको हुनुपर्छ ।’

मौकाको बयान गर्ने सबैजसो प्रतिवादी र साक्षीले दुई पक्षबीच झगडा हुँदा आक्रमण भएको बयान दिएका थिए । सोही आधारमा थुनछेक बहसमा प्रतिवादी बिक्की भन्ने बिक्रम भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने र सागर भण्डारीसँग ८० हजार धरौटी मागी रिहा गर्ने र मुद्दाको पुर्पक्ष गर्ने आदेश दियो ।

जब अदालत पुगेपछि पीडित पक्ष नै होस्टाइल भए ...

त्यसपछि अदालतमा प्रमाण संकलन तथा साक्षी र जाहेरवालासँग बयान लिने काम भयो । अदालतमा मुद्दा दर्ता गर्दासम्म ज्यान मार्नो प्रयास भनिरहेका जाहेरवाला र पीडित व्यक्ति अदालतमा पुगेपछि भने एकाएक होस्टाइल भए । घटनास्थलमा देख्ने व्यक्तिहरु आक्रमणमा संलग्न व्यक्तिहरु र छुट्याउन जाने सबै व्यक्तिहरुले झगडा भई कुटपिट भएको बयान दिएकामा अदालतमा पुगेपछि सबैको बोली फेरियो ।

पीडित आफैंले बिक्रमले आक्रमण गरेको नभई कृषि फार्ममा रहेको हाते ट्याक्टरमा ठोक्किएर घाइते भएको र आँखा फुटेको बयान दिए । जाहेरवाला याम बहादुर गुरुङले पनि छोरा लडेर घाइते भएको बयान दिए भने पहिले आफूले आmत्रमण गरेको भन्ने बिक्रम भण्डारी, सागर भण्डारी लगायत सबैले अदालतमा इन्कारी बयान दिए । उनीहरुले आफूहरु सँगै भएको तर कुटपिट गरेको नभई हाते ट्याक्टरमा लडेर घाइते भएको बयान दिए ।

कास्की जिल्ला अदालतले यी बयान र तथ्यहरुलाई विश्लेषण गर्दै गएको पुष १३ गते फैसला गरिदियो । र, फैसलामा प्रतिवादी बिक्की भन्ने बिक्रम भण्डारी र सागर भण्डारीलाई सफाई दिँदै झुठो जाहेरी दिएर सरकार र अदालतको समय बर्वाद गरेको र प्रतिवादीलाई दुख दिएको भन्दै जाहेरवालाबाटै क्षतिपूर्ति भराउने फैसला गरिदियो ।

जिल्ला अदालतको फैसला

जिल्ला अदालतको फैसलामा यस्तो भनिएको छ– ‘... उल्लेखित तथ्य, प्रमाणहरु विवेचना गरी हेर्दा, पीडितको आँखामा चोट लागी आँखा फुटी उक्त आँखाले देख्न हेर्न नसक्ने भएको देखियो । सो कार्य प्रतिवादीले गरेका भनी दिएको जाहेरी ब्यहोरा नै मेरो होइन भनी उक्त आँखा ट्याक्टरमा ठोकिएर फुटेको हो, प्रतिवादीहरुले कुटपिट गरी फुटेको होइन भनी जाहेरी व्यहोरा नै झुठो भनी जाहेरवालाले बकपत्र गरेका र घाइते स्वयंले मौकाको कागज व्यहोरा खण्डन गर्दै ट्याक्टरमा ठोकिएर आँखामा चोट लागेको हो । प्रतिवादीहरुले चोट पु¥याएका होइनन् भनेको पाइयो । बुझिएका व्यक्तिले पनि प्रतिवादीहरुले कुटपिट गरेका होइनन् भनी बकपत्र गरेको पाइयो ।

.... प्रतिवादीहरुले कुटपिट गरी आँखा फुटालेको र शरीरमा विभिन्न चोट पु¥याई अंगभंग एवं ज्यान मार्ने उद्योग कसूर गरेको भनी दिएको बेहोरालाई खण्डन गरी प्रतिवादीहरुले कुटपिट गरेका होइनन्, ट्याक्टरमा ठोक्किएर आँखा फुटेको भनी जाहेरवाला, पीडित र बुझिएका मानिसहरुले बकपत्र गरेबाट प्रतिवादीहरुकै चोटका कारण पीडितको आँखामा चोट लागी आँखाको देख्ने शक्ति गुमेको अवस्था पुष्टि हुन आएन भने प्रतिवादीहरुले ज्यानै मार्ने नियतले पीडितलाई प्रहार गरेको भन्ने पनि पुष्टि हुन आएन । वादी दावी शंकारहित तवरबाट पुष्टि हुन नआएबाट प्रतिवादीहरुले अभियोग मागदावीबाट सफाइ पाउने ठहर्छ ।’

कास्की जिल्ला अदालतले गरेको फैसलामा प्रतिवादीहरुले कुटपिट नै नगरेको भनेर भनेको छैन । तर, कुटपिटकै कारण आँखा फुटेको पुष्टी हुन नसक्ने भन्दै प्रतिवादीहरुलाई सफाई दिने फैसला भने गरेको छ । फैसलामा स्पष्टरुपमा कुटपिट भएको हो कि होइन पनि भनिएको छैन, तर प्रतिवादीहरुकै चोटका कारण भन्ने शब्दावलीको प्रयोग गर्दै कुटपिट भएको कुरालाई भने एक तहसम्म स्वीकारसमेत गरेको देखिन्छ ।

पहिले सुरुमा जाहेरी दिने क्रममा प्रतिवादीहरुको नाम नै किटन गरी जाहेरी दिने तर पछि अदालत पुगेर होस्टाइल (बयान फेर्ने काम) गरेपछि अदालतले झुटो जाहेरी दिने र ‘बिना कसुर’ थुनाउने व्यक्तिलाई जरिवानासमेतको फैसला गरेको छ ।

जिल्ला अदालतको फैसलामा अगाडि भनिएको छ–

‘जाहेरवाला याम बहादुर गुरुङले प्रतिवादीहरुले छोरा विशाल गुरुङलाई कुटपिट गरी ज्यान मार्ने उद्योगको कसूर गरेको भनी दिएको जाहेरी व्यहोरा नै मेरो होइन भनी बकपत्र गरी आएको हुँदा निजले आफू उपस्थित भै जाहेरी दिई जाहेरी उजुर गरी नेपाल सरकार, प्रहरी कर्मचारीलाई विश्वास गर्ने प्रमाण सिर्जना गरी उजुर गरेकोमा बकपत्र गर्दा सो तथ्य होइन भनी जाहेरी व्यहोरा झुठ्ठा ठहर गरेको देखिन आयो ।

मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) (क) मा झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई ३ महिनासम्म कैद वा पाँच हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेकोले उल्लेखित सजाय हुने कार्य गरेको देखिँदा मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) बमोजिम झुठ्ठा कुरा लेखिदिएको हुँदा सोही दफा ४४ (२) खण्ड (क) बमोजिम जाहेरवाला याम बहादुर गुरुङलाई पाँच हजार रुपैया जरिवाना हुने ठहर्छ ।

मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) (ख) मा पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था रहेकोले जाहेरी प्रतिकुल हुनाको मनासिब कारण जाहेरवालाले दिन नसकेकोले निजलाई सजाय समेत भएको सन्दर्भमा झुठ्ठा जाहेरी दिई प्रतिवादी थुनामा बसेको अवस्था देखिन आएकोले हाल थुनामै रहिरहेका प्रतिवादी मध्येका बिक्की भन्ने बिक्रम भण्डारीलाई पर्न गएको क्षति विचार गरी मुद्दाको प्रकृति र अवस्था अनुरुप तजबिजी रुपमा जाहेरवालाबाट निज प्रतिवादी बिक्की भन्ने बिक्रम भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ (२) खण्ड (ख) बमोजिम (बीस हजार रुपैयाँ) क्षतिपूर्ति भराइ लिन पाउने समेत ठहर्छ ।’

यसरी पोखरामा गत जेठमा भएको कुटपिटको घटना र पीडित भनिएका व्यक्तिको आँखा नै फुटेको घटनामा अदालतमा गएर होस्टाइल भएपछि प्रतिवादीले सफाई पाएका छन् भने झुट्टा जाहेरी र मुद्दा दिएको भन्दै जाहेरवालालाई नै जरिवाना र जाहेरवालाबाटै क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।

मौकामा सबैले कुटपिटकै कारण आँखा फुटेको र घाइते भएको बयान दिएका थिए । यतिसम्म कि झगडा भइरहेकै समयमा प्रहरी पुगेर छुट्याएको घटनामा एकाएक मुद्दा दर्ता भएपछि ट्वीष्ट आयो ।

घटनास्थल मुचुल्कामा भएका र देख्ने सुन्नेको प्रमाणलाई अदालतले स्वीकार गरेन । पीडित र पीडक पक्षबीच के कति कुराको सहमतिमा पीडित पक्ष होस्टाइल भएको हो, त्यसको कारण यहाँ देखिँदैन । तर अदखालत पुगेपछि सबैले एकै मिलानको बयान दिनु कुटपिटबाट आँखा फुट्नेसम्मको अवस्था आउँदा जाहेरवालाले अदालतमा बयान फेरेकै कारण प्रतवादीले सफाई पाएका छन् ।

लडेर घाइते हुँदा आँखा फुटेको अवस्थामा अगाडिको भागमा मात्रै चोट हुनुपर्नेमा अदालतले कञ्चट लगायतका स्थानमा भएको चोटलाई पनि स्वीकार गरेको छ । तर पीडक भनिएका व्यक्तिले आक्रमणबाटै आखा फुटेको पुष्टी भएन भनेर कानुनी फैसला गरिदिएको छ ।

यस मद्दामा एउटा महत्वपूर्ण पक्षचाहिँ के छ भने यदि कुनै व्यक्तिको झुठो जाहेरीका आधारमा नेपाल सरकार, प्रहरी र अदालतको समय बर्वाद गरिन्छ, प्रतिवादीलाई दुख दिइन्छ भनेचाहिँ अदालतले त्यस्ता व्यक्तिलाई सजाय र जरिवाना गर्न सक्छ भन्ने उदाहरण दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप