हेटौंडामा सम्पादक भण्डारीसहित ६ जना पुरस्कृत
हेटौंडाबाट सञ्चालित तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा ५ जना पत्रकार र एकजना छापाखानामा कार्यरत कर्मचारी पुरस्कृत भएका छन् । स्टेट भिजन प्रालिको आयोजनामा शनिवार हेटौंडामा आयोजित वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नगद र प्रमाणपत्रसहित पत्रकारहरुलाई पुरस्कृत गरेका हुन् ।
कार्यक्रममा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानी डेल्ली डटकमका सम्पादक धु्रव लम्साल, नेपाल समाचार पत्रका मकवानपुर संवाददाता रोशन पराजुली, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज), धादिङ् पोष्ट डटकमका सम्पादक नारायण शिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर विष्टलाई नगदसहित पुरस्कृत गरिएको हो ।
सम्पादक भण्डारीलाई नगद १५ हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार –२०७८’, सम्पादक लम्साललाई नगद १२ हजार १ राशीको ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार–२०७८’, संवाददाता पराजुलीलाई नगद १० हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर समकालीन पत्रकार पुरस्कार–२०७८’, समाचार प्रमुख दाहाल र सम्पादक शिलवाललाई क्रमश नगद १० हजार १ राशीको ‘तु खबर रेडियो पत्रकारिता पुरस्कार–२०७८’ र तु खबर अनलाइन पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको हो । त्यस्तै विष्टलाई नगद ५ हजार रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।
२०५१ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर आम नागरिकको सूचित हुने अधिकारको निम्ति पुर्याएको योगदानको कदर गर्दै सम्पादक भण्डारीलाई मकवानपुर जागरण अभियानसँगको सहकार्यमा तु खबरले स्थापना गरेको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार २०७८’ प्रदान गरिएको हो ।
त्यस्तै २०५७ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील सम्पादक लम्साललाई ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार २०७८’, २०६२ सालदेखि पत्रकारितामा क्रियाशील भई हाल अनलाइन पत्रकारको रुपमा स्थापित सम्पादक शिलवाललाई ‘तु खबर अनलाइन पत्रकारिता पुरस्कार २०७८’, २०४८ सालदेखि पत्रकारितामा निरन्तर रुपमा काम गर्दै आएका र हाल रेडियोकर्मीको रुपमा स्थापित दाहाललाई ‘तु खबर रेडियो पत्रकारिता पुरस्कार–२०७८’ र २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पराजुलीलाई ‘जागरण तु खबर समकालीन पत्रकार पुरस्कार–२०७८’ प्रदान गरिएको हो । त्यस्तै हेटौंडाका विभिन्न छापाखानामा २०४० सालदेखि कार्यरत रहेका विष्टलाई नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रममा तु खबरले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको तु खबर स्मारिकाको पाँचौँ संस्करण विमोचन गरिएको थियो । प्रदेश प्रमुख शर्मा, बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देललगायतले पुस्तक विमोचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको पासपोर्ट झनै कमजोर बन्दै
-
पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा एकीन गरिँदै
-
पश्चिमी वायुको सामान्य प्रभाव : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
-
काठमाडौंका यी स्थानमा कतिबेर जाँदैछ विजुली ?
-
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
-
अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, अन्य विदेशी मुद्रा कसको भाउ कति ?