बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आदर्श समाजको खोजी ‘मालामा नउनिएका फूलहरू’

शनिबार, १९ चैत २०७८, १२ : ४८
शनिबार, १९ चैत २०७८

मालामा नउनिएका फूलहरू आत्मपरक निबन्धको सङ्ग्रह हो । डा. खगराज बरालद्वारा लिखित यस कृतिमा लेखकले समाजमा देखेभोगेका विषयवस्तुलाई कलात्मक ढङ्गले आफ्ना विचार प्रस्तुत गरेका छन् । २० वटा निबन्धमा लेखकले बाल्यकाल, स्कुले जीवन, जागिरे जीवनमा भेट भएका पात्र र तिनका प्रवृत्तिलाई चित्रात्मक रूपमा उतारेका छन् । 

आमाबुवाका कुरा शीर्षकको निबन्धमा सरकारी कर्मचारीहरू पायक पर्ने ठाउँमा सरुवा गर्नका लागि वृद्ध आमाबाबुको दयनीय अवस्था देखाएर मन्त्रालयमा निवेदन दिन आउनेहरूको खराब मनोवृत्तिको चित्रण छ । आमाबुबालाई मैले पालेको छु भनेर गर्व महसुस गर्ने, पाल्न कठिन भयो भनेर दुःख मान्ने र आमाबुबासँगै बस्न पाउँदा गर्व गर्ने तीन प्रवृत्तिका मानिसका व्यावहार यसमा देखाइएको छ । आमाबुबाले हुर्काउँदा, पढाउँदाका दुःख नसम्झने अनि उनीहरूकै सम्पत्तिका आधारले धेरै कमाउने अनि आमाबुबालाई पालेको छु भन्दै हिँड्नेहरू हाम्रो समाजमा धेरै छन् । आमाबाबुलाई पालेको होइन, सँगै बसेको छु भनेर गर्व गर्न आम मानिसमा आग्रह गरिएको छ । 

यस्तै हिजो र भोलि शीर्षकको निबन्धमा लेखकको बाल्यकालका अनुभव बालबालिकाहरूसँग बाँडेका छन् । लेखकका घरपरिवार, विद्यालय जाँदाका परिवेशको चित्रण, मानापाथीको चलन, घाँस, दाउरा गरेका, गाईवस्तुलाई घाँस काट्न गएका, ऐँसेलु, चुत्रो खाएका अनुभवहरू यसमा छन् । हजुरबा हजुरआमाहरूबाट पञ्चतन्त्रका कथा, नीतिकथा, अकबर वीरबलका कथा सुनेको र त्यो पनि शिक्षाको एउटा पक्ष हो । अहिले पनि गाउँको परिवेश उस्तै होला तर सहरी परिवेशमा त्यो पूरै फरक भएको अवस्था छ । 

बिहेको कुरा शीर्षकको निबन्धमा बिहेलाई वंश परम्परा धान्ने एक प्रक्रिया भनिएको छ । पहिला पहिला १६ वर्ष पुगेपछि छोरीको र २० वर्ष पुगेपछि छोराको बिहेको कुरा चल्ने गरेको प्रसङ्ग यसमा छ । बिहेको अनिवार्यताबारे चर्चा गर्दै श्रीमान्–श्रीमतीको संयुक्त प्रयत्नले मात्र दाम्पत्य जीवन सुखमय र सफल बन्न सक्छ भन्ने आशय छ । 

साथै यसमा भागी विवाह गर्ने छोराछोरीहरु अलि गम्भीर हुनुपर्ने भनिएको छ । हर्मोनल प्रेमले गर्दा बीसौँ वर्ष लगाएर शिक्षादीक्षा दिएका छोराछोरी कुनै प्रेमीप्रमिकाको लहलहैमा लागेर बीस मिनेटमा परिवर्तन भएर आफ्ना आमाबुबाको प्रेमलाई लत्याउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिएको छ । 

खाना सबैका लागि शीर्षकको निबन्धमा स्कुले जीवनमा खाइने मकै भटमास जस्ता खाजाबारे चर्चा छ । खाजा खान पैसाको अभाव भएको, स्कुलमा खाजा कार्यक्रमले ल्याएका सकारात्मक परिवर्तन बारेमा समेटिएको छ । लोकसेवा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्दा शिक्षातर्फ नियुक्ति पाएको र विद्यालय अनुगमनमा जाँदा बाल्यकालमा आफूले खाने गरेका खाजा, दसैँका परिकार लगायतको स्मरण यसमा छ ।                   वर, पीपल, सिमी र सुगामा घरमाथि आमाले बनाएको चौतारीमा बर पीपल हुर्काएर बिहे गरिदिएको प्रसङ्ग छ । पीपल सबैतिर पाइने तर बरको रुख नपाइएका प्रसंग यसमा छन् । 

कृष्णसारका कष्ट शीर्षकको निवन्धमा लेखकले एक जना प्राविधिकको सहयोगमा बर्दियाको संरक्षण क्षेत्रमा कृष्णसारको अवलोकन गर्दा देखिएका क्षण र अनुभूति समेटेका छन् । कृष्णसार सङ्कटापन्न जनावर भएको र त्यसको संरक्षणमा आएका कठिनाइ, खानपान, स्वाभाव आदिबारे सूक्ष्म चर्चा छ । 

कुकुरका कुरा शीर्षकको लेखमा युधिष्ठिरले जिउँदै कुकुर स्वर्ग लगेको मिथकको वर्णन छ । यसका साथै कार्यालयको कामको सिलसिलामा एक अफिस पुग्दा कुकुर देख्दाका अनुभूति छ । त्यहाँ दुःख पाएका कुकुरलाई उद्धार गरी राखिएका हुन्छन् । कतिपय कुकुर मालिकले जतासुकै फोहोर गराएर विवाद भएका कुरा अनि ती कुकुरका आनिबानी, स्वाभावका बारेमा चर्चा छ । एक प्रोफेसरको कुकुर मोहबारे पनि राम्रै चर्चा छ । लेखक मर्निङवाकमा हिँडिरहेको बेला काट्न लागेको खसी देख्छन् र त्यसलाई बचाउन उनी असफल भएपछि खिन्न भएका छन् । 

मृगसँग बातचित शीर्षकको लेखमा लेखक केन्याको नेसनल पार्कको भ्रमणका अनुभव संगालेका छन् ।  लेखक र मृगबीचको संवाद छ । यसमा जङ्गलमा आइपर्ने समस्यादेखि मानिस र जनावरबीचको संवादका माध्यमबाट मानिसको कृत्रिम ज्ञान, गर्भपतन, मातृमृत्युदर, बाल मृत्युदर लगायतका विषयमा चर्चा गरिएको छ । 

अतिथि आशनमा अलमल शीर्षकको निवन्धमा बुटवल औद्योगिक मेला, संविधान दिवसलगायतका कार्यक्रममा प्रमुख अतिथि बनाउँदा भएका अलमल र समाधानका विषयमा लेखकको अनुभव समेटिएको छ । यस्ता औपचारिक कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारको मर्यादाक्रमलाई प्राथमिकता दिँदा समस्या नआउने उनको सुझाव छ ।  

विद्वान् र बुद्धिजीवी होमियोप्याथी डाक्टर गाङ्गुलीसँग गरेको वार्तालाप र उनको कथाले विद्वान् र बुद्धिजीवीबीच देखाएको फरक बारेमा चर्चा छ । के राम्रो के नराम्रोमा देहान्त हुँदाका विविध संस्कारहरू बारेमा चर्चा छ । मान्छे मर्न लाग्दा गरिने विविध कार्य, एकोहोरो शङ्ख फुक्नुको कारण, मलामीलाई पैसा दिनुको कारण, मृत्यु संस्कार र कर्मचारीका हकमा बिदा दिनुपर्ने जस्ता विषयको चर्चा छ । 

अपरिचित परिचित भएपछि शीर्षकको निवन्धमा डीबी सरको चर्चा छ । जो गीत सङ्गीतका प्रतिभावान् व्यक्ति हुन् र नारायण गोपाल लगायतका गीतहरू सुरिलो भाकामा गाएको प्रसंग छ । 

तीनओटा पोर्टको रहरमा शीर्षकको निवन्धमा कर्मचारीको विदेश मोहका बारेमा चर्चा छ । कुनै कर्मचारी एयपोर्ट नै मात्र धाउने, कुनै कर्मचारी एयरपोर्ट देख्नै नपाउने अवस्थाको चित्रण गरिएको छ । लेखक भन्छन्– विदेश भ्रमणका सम्बन्धमा कर्मचारीहरूले बढी आशक्ति नै देखाउँथे तर फर्केपछि अधिकांशले प्रतिवेदन बुझाउँदैनथे । 

अमेरिकी प्रोफेसरको सरल मन्तव्य शीर्षकको निवन्धमा रातो बङ्गला स्कुल पाटनढोकामा आयोजित अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनका बारेमा लेखकका अनुभव र प्रमुख वक्ताका रूपमा रहेका अमेरिकी प्रोफेसर जोन डेभिड स्निडरको मन्तव्य छ । शिक्षाको आधारभूत उद्देश्य भनेको विद्यार्थीले आधारभूत तह उत्तीर्ण गर्दा आफ्नो रोजाइको भविष्य बनाउन आवश्यक सीप हासिल गर्न सकोस् भन्ने हो । 

बालीको बास लेखमा इन्डोनेसियाको राजधानी बाली भ्रमणका अनुभव समेटिएको छ । यात्रा वर्णन तथा त्यहाँको जाति व्यवस्था, अन्तरजातीय विवाहका सन्दर्भ यसमा छन् । फिलिपिन्सको सङ्घीयतामा  यस देशको सङ्घीयता बुझ्न गएको नेपाली टोलीले त्यहाँको भौगोलिक तथा राजनीतिक इतिहासको खोजी गरेको प्रसङ्ग यसमा छ । त्यहाँको शासन व्यवस्था र स्थानीय शासन प्रणालीका बारेमा चर्चा छ । 

संसद् विघटनदेखि संसद विघटनसम्म लेखमा नेपालको राजनीतिक परिवर्तन र त्यसको कर्मचारी संरचना परेको असरका बारेमा चर्चा छ । नेपालको शिक्षामा मेकालेको मनोमानीमा आधुनिक शिक्षाको थालनीबाट नै श्रमप्रति विमुख छ, यो शिक्षा प्राप्त गरेपछि विदेशका लागि मात्र भएको जिकिर छ । नेपालको शिक्षा पद्धतिले व्यक्तिलाई नोकरी गर्न सक्ने तर आफैँ रोजगारी सिर्जना गर्न नसक्ने बनाएको अवस्था छ । यहाँको पढाइ नै त्यस्तै छ, पढाइ सकिएपछि जागिर चाहिने र नपाए विदेशिन बाध्य पार्नेछ । त्यसरी विदेशिँदा कोभिड महामारीमा बाआमामा बढेको चिन्ता प्रकट गरिएको छ ।  

वैदिक दर्शन र गुरुकुलीय शिक्षाको आधारमा हजुरबाले गुरुकुलमा रहेर शिक्षा प्राप्त गरेका, संस्कृत साहित्य परम्परामा चारवेद, रामायण, महाभारत कथा सिर्जना बारेका जिज्ञासा समेटिएका छन् । साथै वैदिक, पौराणिक र आर्ष कालमा सिर्जना भएको ज्ञान र शास्त्रका बारेका जिज्ञासा र गुरुकुल शिक्षा र आधुनिक शिक्षाबीचका भेदलाई यसमा केलाइएको छ । 

आदवी निबन्धमा सत्कार्यका लागि त्यागी मिथकीय पात्रहरू र तिनीहरु वचनका पक्का थिए भन्ने प्रसङ्गको चर्चा छ । दधीचि, रामायणका भरत, महाभारतका राजा शिवि, कर्ण, बलिराजा, युधिष्ठिर, सत्य हरिश्चन्द्र, बुद्ध लगायतले सत्कार्यका लागि आफ्नो प्राणसमेत अर्पण गरेका थिए भनी चर्चा गरिएको छ । 

यसका अतिरिक्त जनक शिक्षा सामग्री केन्द्रमा सञ्चालक समितिको सदस्य हुँदा, समाज कल्याण परिषद्, शैक्षिक तालिम केन्द्र पोखरा, शिक्षा विभाग आदि कार्यालयमा रहँदा भए गरेका प्रसङ्गहरूको चर्चा पनि यस संग्रहमा समेटिएको छ । अन्त्यमा लेखकले पुस्तकका सम्बन्धमा आफ्ना भनाइहरू राखेका छन् ।

यसमा सङ्कलित अधिकांश निबन्धले आदर्श समाजको कल्पना गरेका छन् । खास गरी पूर्वीय साहित्य परम्परा, संस्कार र संस्कृति अवलम्बन गर्न प्रेरित गर्ने निबन्ध यसमा सङ्कलित छन् । सबै निबन्ध सरल भाषामा रसिलो शैलीमा रचना गरिएकाले यो कृति पठनीय तथा सङ्ग्रहणीय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप