शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

जितपुर सिमरा उपमहानगरका माओवादी नेता भन्छन्– एक्लै जितिन्छ !

एमाले असफल भयो, काँग्रेस सुस्त छ : राजन पौडेल
शनिबार, १९ चैत २०७८, १० : ०४
शनिबार, १९ चैत २०७८

अगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिकामा पनि अन्य स्थानीय तहमा जस्तै चुनावी सरगर्मी सुरु भएको छ । यसअघि नेकपा एमालेले एक्लै जितेको यो उपमहानगरपालिकामा माओवादीले एक्लै जित्ने दाबी गरेको छ । यसअघि दोस्रो भएको नेपाली काँग्रेसले कलैया उपमहानगर आफूले लिएर जितपुर सिमरा माओवादीलाई छाड्नुपर्ने स्थानीय नेताहरूले लबिङ थालेका छन् ।

यस उपमहानगरपालिकामा ०७४ को निर्वाचनमा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको थियो । मेयरमा माओवादीको स्थान तेस्रो देखिए पनि काँग्रेसकै हाराहारीमा माओवादीका मेयरले मत पाएका थिए ।

एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेलले १४ हजार ८६५ मत ल्याएर मेयरमा जित्दा काँग्रेसका उम्मेदवार कृष्णवर्त सिंहले ११ हजार ९९५ मत पाएका थिए । माओवादीका उम्मेदवार ११ हजार २५१ मत पाएका थिए ।

बारा जिल्लाका दुई उपमहानगरपालिकामध्ये जितपुर सिमरा उपमहानगरपालिका जिल्लाको कान्छो उपमहानर हो । पथलैया—वीरगञ्ज औद्योगिक करिडोर यही उपमहानगरपालिकाभित्र पर्छ । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), नेपाल आयल निगमको प्रादेशिक डिपो, काठमाडौँ र मधेसको छोटो दुरीमा चल्ने सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज एवं राष्ट्रिय वनको ठूलो भूभाग पनि यसै उपमहानगरपालिका भित्र समेटिएका छन् ।

आर्थिक करिडोर, राष्ट्रिय गौरवका आयोजना एवं प्राकृतिक स्रोत र साधनले सम्पन्न भएका कारण जितपुर सीमरा उपमहानगरको नेतृत्व लिनका लागि दलहरुबीच ठूलै प्रतिस्पर्धा र होडबाजी चलिरहेको छ ।

नेकपा एमालेका नेताहरु जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नो पुरानो वर्चस्व गुम्न नदिने बताउँछन् । अघिल्लो चुनावमा दोस्रो स्थान हासिल गरेको नेपाली काँग्रेस यसपटक जित निकाल्ने दाउमा छ । उता, काँग्रेसकै हाराहारीमा मत ल्याएको माओवादीले पनि एक्लै जित्ने दाबी गरेको छ ।

विगतको निर्वाचनमा नगरप्रमुखमा तेस्रो मत ल्याएका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राजन पौडेल यसपटक  गठबन्धन नै नगरे पनि माओवादीले उपमहानगर जित्ने दाबी गर्छन् ।

यसै सन्दर्भमा उपमहानगरको मेयरका दाबेदार एवं माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य पौडेलसँग रातोपाटीले जितपुर सिमराको स्थितिबारे  संक्षिप्त कुराकानी गरेको छ–

विगतको निर्वाचनमा बाराका १६ वटै पालिकाहरूमध्ये माओवादी केन्द्रले एउटै पनि प्रमुख पद जित्न सकेन । यसपालि समग्र बारा जिल्लामा माओवादीको अवस्था कस्तो छ ?  

माओवादी केन्द्रले २०७४ को स्थानीय तहको निर्वाचनमा बाराका  १६ वटा पालिकामा करिब ४४ हजार मत प्राप्त गर्‍यो । हामीले  एउटै पालिकामा नेतृत्व गर्न भने सकेनौँ, यो सही हो ।

जितपुर सिमरा उपमहानगरमा हामीले ११ हजार २ सय ५१ मत प्राप्त गरेका थियौँ । नगरप्रमुख पदमा एमाले र नेपाली काङ्ग्रेसपछि तेस्रो भयौँ । २४ वडाहरू मध्ये १० वटामा माओवादीका वडाध्यक्ष विजयी भएका थिए । ७ वटामा एमाले, ५ वटामा काँग्रेस र २ वटा वडाहरू तत्कालीन राजपाले जितेको थियो ।

वडाको सङ्ख्यात्मक अवस्था र आनुपातिक भोटलाई हेर्दा माओवादी दोस्रो स्थानमा छ । जितपुर सिमरामा सङ्ख्यात्मक ढङ्गले खसेको मतमा माओवादी १२ हजार, नेकपा एमाले १४ हजार, काँग्रेस १० हजारको हाराहारीमा छन् ।

विगतको निर्वाचनमा जितपुर सिमरामा माओवादी कमजोर छैन है भन्ने प्रमाणित गर्न पनि हामीलाई चुनौती थियो । त्यो चुनौतीलाई हामीले गत चुनावबाट पुष्टि गर्‍यौँ । माओवादी एकदमै शक्तिशाली छ है, कमजोर छैन है भन्ने वडाहरूको मतपरिणाम र जनप्रतिनिधिको संख्याले प्रमाणित गरेका छौ ।

दोस्रो कुरा, माओवादीको महाधिवेशनहरूसम्म पुग्दा पार्टीको सदस्यता अभियान चल्यो । त्यसले जितपुर सिमरा उपमहानगरपालिकाभित्र माओवादी  केन्द्रका ४ हजार ७ सय भन्दा धेरै पार्टी सदस्य थपिए । प्रत्येक वडामा वडा सम्मेलन गरेर कमिटीहरू गठन भएका छन् । टोलहरूमा, जनवर्गीय संगठनका कमिटीहरू पनि बनेका छन् । बारा औद्योगिक क्षेत्र भएका कारण करिडोरमा माओवादीको मजदुर संगठन  अन्य पार्टीको तुलनामा सबैभन्दा बलियो छ ।

अहिलेकै अवस्थामा गठबन्धनबिनै माओवादीले चुनाव जित्छ भनेर कसरी पत्याउने ?

हामी सिङ्गल लड्दा पनि जित्न सक्छौँ भन्ने आधार थुप्रै छ । हिजो हामीबिना तालमेल नै लड्दा पनि निर्वाचन त्रिपक्षीय रूपमा कडा प्रतिस्पर्धा भयो । आज त नेतृत्व झनै खारिएको छ, अनुभव पनि हासिल गरेका छौँ । अर्को कुरा, जितपुरसीमरा उपमहानगरमा एमालेको नेतृत्व पूर्णरुपमा असफल देखिन्छ ।

काँग्रेसको हकमा पनि जनप्रतिनिधि बाहेक पार्टीका नेता कार्यकर्ता सुस्त देखिन्छन् । माओवादीको हकमा चुनाव हारे पनि जिते पनि  समाजमा रहेका राजनीतिक तथा सामाजिक समस्याहरूमा माओवादीका नेता कार्यकर्ता सक्रिय लागिरहेका छन् ।

माओवादी केन्द्रको तर्फबाट मेयरमा यसपालि पनि तपाईंकै दाबी हो ?

हिजोको चुनावमा माओवादी केन्द्रको तर्फबाट म उम्मेदवार थिएँ । राम्रो प्रतिस्पर्धात्मक मतका साथ पराजित भए । अहिलेको चुनावका पनि म दाबेदार हुनु स्वाभाविक  नै हो । पार्टीभित्र पनि चर्चा परिचर्चा चलिरहेको छ, निर्णय भनेको पार्टीले गर्ने हो । तर, मेरो दावेदारी छ । जितपुर सिमरामा माओवादीले एक्लै लड्दा पनि जित्ने आधारहरु तयार भएको छ ।

यहाँ देशका अन्य भागमा जस्तै माओवादी छाडेर एमालेमा प्रवेश गर्ने लहर चलेको  छ कि छैन ?

हामीकहाँ वडा नं २३ का वडाध्यक्ष अस्लम देवन एमालेमा प्रवेश गरेका  छन् । विगतको स्थानीय चुनावमा उनी एमालेबाटै माओवादीमा प्रवेश गरेर चुनाव जितेका थिए । खासगरी वडा नं २३ मा सार्वजनिक जग्गा व्यक्तिको नाममा सिफारिस गरेपछि आफ्नै पार्टीका वडा सदस्यहरू र हामीसँग पनि उनको टसल पर्‍यो । उनी सार्वजनिक जग्गा व्यक्तिहरूलाई सिफारिस दिँदै हिँडे त्यसको विरुद्धमा लडाइँ पर्दै पर्दै गएपछि माओवादीभित्र रहँदा आफ्नो खैरियत छैन भनेर उनी एमालेमा प्रवेश गरेका हुन् ।

अहिले पार्टी प्रवेश दोहोरै छ । एमालेमा पार्टी प्रवेश ठूलो ठूलो हल्ला खल्लामा हुन्छ । हाम्रो पार्टीमा तल्लो कमिटी बलियो बनाउँदै गएका छौँ तर, त्यसलाई  पार्टी प्रवेश भनेर हल्लाखल्ला चलाएका छैनौँ ।

पदका लागि माओवादीभित्र अन्तरविरोध कत्तिको छ ?

यहाँ पार्टीभित्र कुनै प्रकारको अन्तरविरोध छैन । जितपुर सिमरामा माओवादी सिङ्गल नै भिडेर पनि  चुनाव जित्नुपर्छ भन्ने नेतृत्व र कार्यकर्ता पङ्क्तिमा छ । त्यसका लागि हामीले जस्तोसुकै त्याग पनि गर्नुपर्छ भन्ने लाइन कार्यकर्ता पङ्क्तिमा छ ।

माथिबाट गठबन्धन बनेर हिसाब–किताब केन्द्रमै मिल्यो यहाँ के हुन्छ ?

हिसाब–किताब उतै हुँदै गर्दा पनि सरसल्लाह त होला नि यो विषयमा । तलको सुझावहरू पनि लिएरै गर्ने निर्णय गर्लान् । नेताहरूले के छ स्थिति भनेर सोधिरहनुभएको छ । हामी सुदृढ छौँ, परिस्थिति आउँदा  सिङ्गल नै भिड्न पनि तयार छौँ भनेर सुझाव दिएका छौँ । काँग्रेसका नेताहरूसँग पनि कुराकानी भइरहेको छ । कलैया काँग्रेसले पाए जितपुर सिमरा माओवादीको पर्ला भन्ने छलफल भएको छ ।

काँग्रेसलाई प्रमुख छोडेर उपप्रमुख माओवादीले लिन तयार हुनुहुन्छ ?

त्यो स्थिति कमजोर छ यहाँ ।  गत चुनावको नतिजालाई हेर्दा देशभरमै उपमहानगरहरूमा राम्रो रिजल्ट आएको उपमहानगर जितपुर सिमरा हो । देशभरिका ११ वटा उपमहानगरमध्ये माओवादीले दाबी गर्ने उपमहानगर यो हो । यहाँ नगरसभा सदस्यहरूमा ४५ जना जनप्रतिनिधि माओवादीका छन् । वडा र आनुपातिक भोटमा माओवादीको भोट बढी छ ।

माथिबाटै गठबन्धन गर्ने अनि बाराका दुई उपमहानगरमध्ये कलैया काँग्रेसलाई दिएर जितपुर सिमरा माओवादीले लिने तयारी भइरहेको सुनिन्छ नि ?

हामी यो विषयमा बोल्न सक्दैनौँ । कलैयामा विगतको निर्वाचनमा मेयर, उपमेयर काँग्रेसले जितेको हो । त्यो कुरो अहिले हामीले बोल्न मिल्दैन । केन्द्रले के निर्णय गर्छ, हेरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप