शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कुर्था-जयनगर रेल सेवाको आज उद्घाटन हुँदै

शनिबार, १९ चैत २०७८, ०३ : ००
शनिबार, १९ चैत २०७८

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएपछि आज उद्घाटन गरिने भएको छ । आज (शनिबार) नयाँ दिल्लीबाट भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी रेल सेवाको उद्घाटन गरिने भएको हो । 

शनिबार रेलगाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । अन्तरदेशीय रेल सेवाका रुपमा सञ्चालन हुने रेलमार्गमा जकनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ । उनी कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनेछन् भने रेल पुनः जयनगर जाने उनले जानकारी दिए । उनले भने, “रेलगाडीले स्वागत गरेर कुर्थासम्म जानेछ ।”

शनिबार उद्घाटन भएपछि आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समयतालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उनले जानकारी दिए । उनले भने, “आइतबारबाट नै नियमित रुपमा रेल चलाउन हाम्रो तयारी पूरा भइसकेको छ ।”

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हो । यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप