शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनएसएलको नयाँ मितिको विषयमा छलफल हुने

शुक्रबार, १८ चैत २०७८, १९ : ३९
शुक्रबार, १८ चैत २०७८

नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो । 

खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लिगका क्लबहरुले एक आपसमा खेलाडी विवादको कुरा मिलाउने बताएका थिए । 

विवादले निचोड निसकेपछि एन्फाले चैत २५ गते एनएसएल गर्न स्वीकृत दिएको थियो । एन्फाको स्वीकृतिपछि एनएसएलका १० क्लबहरुले छलफल गर्दै एन्फाले दिएको समयमा लिग गर्न नसक्ने बताएका थिए । १० क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)कै पदाधिकारीहरूबाट एनएसएल गोल्डकपको मान्यतामा हुन्छ भन्नु दुःखद भएको बताउँदै आएका छन् । एन्फाको असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिने नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्ट कम्पनीले बताएको थियो । 

नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले नयाँ मितिका लागि एन्फासँग छलफल गर्ने बताएका छन् । एनएसएलले हाल कायम रहेको सम्झौता स्वतः नवीकरण हुने र आगामी दिनमा वार्षिक क्यालेन्डरमा राखेर अन्य प्रतियोगितासँग नजुध्ने गरि पर्याप्त तयारीको समय दिएर भाद्र र असोज महिनाका लागि प्रतियोगिता सञ्चालनको समय उपलब्ध गराउन एन्फासँग माग गरेको छ ।  ‘हामीले नयाँ मितिका बारेमा छलफल गर्ने निर्णय गरेका छौं । एन्फाले छलफलका लागि बोलाउने कुरा छ । एन्फा अध्यक्ष फिफा कांँग्रेसका लागि कतार गएकाले केही समय लागेको हो । त्यसपछि हामीले छलफललाई निरन्तरता दिनेछौँ,’ शर्माले रातोपाटीसँग भने । 
शर्माले आफूहरु एन्फाले तोकेको समयमा एनएसएल गर्न तयार भएको बताएका छन् । उनले एन्फाको वार्षिक क्यालेन्डरमा खाली भएको समय आफूहरुलाई एन्फाले दिएमा एनएसएल गर्न तयार भएको बताएका छन् । 
यता अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले एनएसएल र एन्फाबीच मितिका विषयमा छलफल हुन बाँकी रहेको बताएका छन् । 

‘हामीले दिएको मितिमा प्रतियोगिता गर्न नसक्ने कुरा आएपछि अन्य छलफल भएको छैन् । एनएसएल आयोजनाका लागि नयाँ मितिको माग भएको छ । अध्यक्ष नेपाल आउने वित्तिके यो विषयमा छलफल हुनेछ,’ महासचिव तुलाधरले रातोपाटीसँगको कुराकानीमा भने । एनएसएल चैत २६ गतेबाट हुने मिति तय थियो । एनएसएलले भने प्रतियोगिताको तयारी गर्न समय कम भएको बताएको छ । त्यस्तै गोल्डकपसँग समय जुधाएर एन्फाले एनएसएललाई झनै असहयोग गरेको बताएको छ । एनएसएल आयोजक र सहभागी टिमले समस्या समाधानका लागि ए डिभिजनका क्लब तयार नहुनु र समस्या समाधानका लागि समिति गठन गरेर अघि बढ्न ढिलाई भएका कारण निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन नसकिने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप