शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा ५ दलीय गठबन्धन हुने

शुक्रबार, १८ चैत २०७८, १८ : ४८
शुक्रबार, १८ चैत २०७८

आगामी निर्वाचनमा मकवानपुरमा सत्तारुढ दलहरुबीच वडा तहसम्म गठबन्धन हुने भएको छ । नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा शुक्रबार बसेको जिल्ला नेतृत्व तहको बैठकले आगामी वैशाख ३० गते हुने निर्वाचनमा मकवानपुरमा वडा तहबाटै गठबन्धन गर्ने निर्णय भएको हो ।

बैठकले मकवानपुरका १० स्थानीय तहको १०२ वटै वडाहरूमा गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेको काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । ‘वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा मकवानपुरमा वडा तहसम्म नै केन्द्रीय तहमा बनेको गठबन्धनलाई कायम राख्ने निर्णय भएको छ । जिल्लाको १० वटा स्थानीय तहका १०२ वटै वडामा गठबन्धन हुनेछ ।’ उनले भने ।

निर्वाचनमा वडा तहमा सोही निर्णयका अनुसार उम्मेदवारहरू उठाउने योजना रहेको उनले बताए । ‘हामी सोही अनुसार उम्मेदवार उठाउने योजनामा छौं ।’ सभापति लामाले भने । केन्द्रको निर्देशन अनुसार जिल्ला, स्थानीय तह र वडा तहस्तरमा नै बैठक बसेर गठबन्धनको संयन्त्र तयार पार्ने उनले बताए ।

‘उम्मेदवारको विषय अहिले टुंगो लागेको छैन । प्रारम्भिक छलफल भएको छ । केन्द्रीय निर्देशन अनुसार हामी अगाडि बढ्नेछौँ । उम्मेदवार छनौटका लागि वडा–वडामा नै गठबन्धनको बैठक बसेर एउटा संयन्त्र बनाउने छौं ।’ उनले भने । बैठकले निर्वाचनमा गठबन्धनका लागि सभापति लामाको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय बनाउने समेत निर्णय गरेको छ । सचिवालयमा नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा (एकीकृत समाजवादी) श्रीधर पाखरेल, जनता समाजवादी पार्टीका सोनामसिं स्याङ्तान र राष्ट्रिय जनमोर्चाका सदस्य रहने छन् ।

बैठकले भोलिदेखि नै स्थानीय पालिका र वडा तहमा गठबन्धनको बैठक बसेर सोही प्रकृतिको सचिवालय गठन गरेर अघि बढ्ने निर्णय गरेको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप