शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

शुक्रबार, १८ चैत २०७८, १८ : ३९
शुक्रबार, १८ चैत २०७८

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार विभागीय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा छन् ।

दुवै टोलीका लागि यो उपाधि महत्वपूर्ण छ । जारी सिजनमा एपीएफले दोस्रो उपाधि उचाल्न खोज्दा एनआरटी पहिलो उपाधि आफ्नो नाममा लेखाउने रणनीतिमा छ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाईब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधि जितेको थियो । आहा राराबाहेक एपिएफको यो चौथो प्रतियोगिता हो । झापा र बागमतीमा भएको प्रतियोगितामा पराजित हुँदै एपीएफ जीतपुरसिमरा गोल्डकपसम्म आइपुगेको हो । एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो ।  सिमरा आउनु अघि एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग लिएको थियो । 

दुवै प्रतियोगितामा एनआरटीका लागि बाग्मती बाधक बनेको थियो । बागमतीसँग दुई वटा प्रतियोगितामा पराजित हुँदै सिमरा आइपुगेको एनआरटी पहिलो खेलमा विजय युथ क्लब हेटौडा र दोस्रो खेलमा आयोजक जनजागृति युवा क्लबलाई पन्छाउँदै उपाधि होडमा उभिएको हो । एपीएफले भने फाइनलको यात्रा तय गर्ने क्रममा हिमालयन शेर्पा क्लब र बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । जीतपुरसिमरा गोल्डकप १२औं सँस्करणसम्म आइपुग्दा ११ वटा संस्करणमा भाग लिएको एपीएफले उपाधि उचाल्न सकेको छैन् । दोस्रो संस्करणमा फाइलनमा पुगेको एपीएफ हिमालयन शेर्पासँग पराजित हुँदै उपविजेता बनेको थियो । 

एक सँस्करणबाहेक अन्य ११ संस्करणमा निरन्तर सहभागी हुँदै आएको एपीएफका लागि जीतपुरसिमरा गोल्डकपको उपाधि आफैमा महत्वपूर्ण छ । त्यसैले पनि एनआरटीलाई हराएर एपीएफ पहिलो पटक गोल्डकपको उपाधि उचाल्न चाहन्छ । एपीएफका प्रशिक्षक कुमार थापाले यसपटक जीतपुरसिमरा गोल्डकपमा आफ्नो नाम लेखाएर फर्किने बताए । लामो समयसम्मको सहभागितामा पनि उपाधि जित्न नसक्दा निराश रहेको भन्दै थापाले यसपटक उक्त अवसर प्राप्त भएकाले १२औं संस्करणको विजेता बन्नेमा ढुक्क रहेको थापाको भनाइ थियो । 

थापाले उपाधि उचाल्ने बताइरहँदा एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भने आफ्नै टिमले जित्ने दावी गरे । एपीएफ बलियो टोली भएपनि एनआरटी कमजोर नरहेको शाक्यको भनाइ थियो । शाक्यले यो सिजनको उपाधि जीतपुरसिमरा गोल्डकप उचालेर घर फर्कने बताए । उनले एनआरटीका लागि यो उपाधि निकै महत्वपूर्ण रहेको बताएका छन् । ए डिभिजन लिग बाहेक जारी सिजनमा एपीएफ र एनआरटीको यो पहिलो भेट हो । काठमाण्डौंमा सम्पन्न लिगमा दुवै टिमले ३-३ को बराबरी खेलेका थिए । लिगपछि मोफसलको प्रतियोगितामा पहिलो पटक भेटन लागेका दुई टिमबीचको खेलमा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

आयोजक दुवै टिमका प्रशिक्षक पनि फाइनल भिडन्त रोमाञ्चक हुने बताउछन् । उपाधि जित्न चाहने ए डिभिजनका दुईबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेमा आफू विश्वस्त रहेको एपीएफका प्रशिक्षक कुमार थापाले बताए । 
एनआरटीका प्रशिक्षक शाक्यले अन्तिम लडाई दर्शकले हेर्न चाहेअनुसारको हुनेमा आफूपनि आशावादी रहेको बताउछन् । टिममा कुनै परिवर्तन नभएको र नियमित खेलाडी नै रहेकाले एपीएफलाई चुनौती दिन आफ्नो टिम तयार रहेको शाक्यको भनाइ छ । 

एनआरटीका कप्तान रन्जन बिष्ट पनि उपाधि जित्नैपर्ने अवस्थामा रहेकाले एपिएफको चुनौती सामना गर्न तयार रहेको बताउछन् । एपीएफ सशक्त टिम भएपनि आफ्नो टिमका खेलाडी विपक्षी टिमअनुसारको रणनीति बनाएर मैदानमा उत्रने बिष्टले बताए । यता एपीएफका कप्तान नविन लामा अब उपाधिका लागि धेरै बेर पर्खन नसक्ने बताउछन् । धेरै वर्षको सहभागितामा पनि उपाधि जित्न नसक्दा दुःख लागेको भन्दै लामाले टिम र आफ्नो लागी उपाधि महत्वपूर्ण रहेको बताए । एपीएफले पनि आफ्नो नियमित खेलाडीलाई निरन्तरता दिने कप्तान लामाले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप