शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मधेशको राजनीतिक मुद्दाका लागि होइन, सत्ताका लागि’

शुक्रबार, १८ चैत २०७८, १८ : ०८
शुक्रबार, १८ चैत २०७८

मधेश केन्द्रीत दलहरुले मुद्दाको भन्दा सत्ताको राजनीति गरिरहेको आरोप सरोकारवालाले लगाएका छन् । विगतमा एउटा मुद्दाका लागि आन्दोलन भएपनि अहिले राजनीति स्वार्थ पूरा गर्नेतर्फ मधेश केन्द्रीत दलहरु लागिपरेको उनीहरुको टिप्पणी छ ।

नागरिक आन्दोलनका अगुवा एवं पत्रकार नारायण वाग्लेले मधेशी दलहरुले मधेसको एजेण्डामा आन्दोलन गरेपनि सत्तासँग सम्झौता गरेको टिप्पणी गरे । मधेशी दलले संविधान संशोधनको कुरा उठाए पनि त्यसमा बल नपुगि रहेको बताउँदै उनले संविधान संशोधनको विषयमा कता कता मधेश केन्द्रीत दलहरु अलमलिएको जस्तो देखिएको हुनाले त्यसका लागि आवाज उठाउने एउटा छुट्टै बलियो नागरिक समाज चाहिएको बताए ।

तराई  मधेश राष्ट्रिय परिषद्को राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै वाग्लेले देशमा एउटा वृहत आन्दोलनको आवश्यकता छ, नागरिक अभियानको नेतृत्वमा हुने वृहत आन्दोलनले मात्र परिवर्तन हासिल गर्न सकिने बताए । उनले राजनीतिक दलले गर्ने आन्दोलनले मात्र परिवर्तन सम्भव नदेखिएकाले नागरिक समाजकै तहबाट आन्दोलन हुनुपर्ने कुरामा जोड दिँदै मधेसमा नागरिक समाज तथा अगुवाको अभाव रहेको बताए ।

‘सत्तासँग सम्झौता नगर्ने खालको एउटा बलियो नागरिक समाजमा चाहिन्छ’, उनले भने, ‘नागरिक समाजले आन्दोलन गर्दा पनि उसलाई कुनै नकुनै पार्टीको बिल्ला भिराई दिने गरेका छन् ।’

अर्का समाजिक अभियन्ता राकेश मिश्रले अहिलेका  मधेशवादी दलमा विचारको अभाव देखिएको बताए ।  मधेशवादी दलको मुद्दा पहिचानमा समस्या देखिएको बताउँदै उनले यतिका आन्दोलन गर्दा पनि मुद्दामा अझै अस्पष्ट नदेखिएको टिप्पणी गरे । उनले भने, ‘ मधेश मुक्तिका लागि सयौं​ युवाले सहादत दिए तर त्यो मुक्ति के हो, के को लागि मुक्ति हो त्यो अझै स्पष्ट भएको छैन ।’ मधेशमा उपनिवेशवाद रहेको बताउँदै उनले भने, हामी मधेसी कोलोनाइज भएका छौं, मधेसको समस्या क्लासिक कलोनाइजेसन हो ।’

नेपालका शासकले सेना र प्रशासनको बलमा मधेसको भूमी कब्जा गरेर मधेसीमाथि शासन गरिरहेको दावी गर्दै उनले राज्यलाई असहयोग गर्ने खालको आन्दोलन गर्नुपर्ने बताए । उनले मधेसी जनताले चुनाव बहिष्कारदेखि कर नतिर्नेसम्मको आन्दोलन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘गत वर्ष मधेशमा ७५ प्रतिशत मत खसेको थियो, अब त्यसलाई १५ प्रतिशतमा झर्दिनुपर्छ, विस्तारै शून्यमा झार दिएपछि शासकहरुले आफै मधेशको माग पुरा गर्न आउँछन् ।’ जबसम्म यो राज्यलाई चुनौती दिने काम मधेसबाट हुँदैन तबसम्म मधेशीको कुनै पनि माग पुरा नहुने उनले धारणा राखे ।

अर्का राजनीतिक अभियन्ता रीता साहले पनि मधेस केन्द्रीत दलहरुले मधेस मुद्दाको राजनीति छाडेर सत्ताको राजनीतिमा लागेपछि सबै कुरा बिग्रेको बताइन् ।  मधेशको बारेमा बोल्ने संगठनको अभाव रहेको हुनाले तराई मधेस राष्ट्रिय परिषद् जस्ता संगठन अझ बलियो भएर आउनुपर्ने धारणा राखिन् । राजनीतिक दलको आन्दोलनले मात्र परिवर्तन नहुने उल्लेख गर्दै उनले राज्यलाई दवाव दिनका लागि नागरिक आन्दोलन गर्नुपर्ने बताइन् ।  मधेशमा नागरिक समाजको निकै आवश्यकता रहेको बताउँदै उनले परिषद्लाई मधेस जनताको पक्षमा उभ्याउन सुझाव दिइन् । राजनीतिक दल थुप्रै छन्, तर मधेसी जनताको पक्षमा बोल्ने संगठनको अभाव रहेको बताइन् ।

दुई दिनसम्म चल्ने सो राष्ट्रिय भेलमा परिषद्को तर्फबाट राजनीतिक एवं समाजिक प्रतिवेदन प्रस्तुत हुनुको साथै अभियानको अवधारणा पनि प्रस्तुत हुने उनले परिषद्का संयोजक विकास ठाकुरले बताए । यही भेलाले परिषद्को विधान पारित गर्नुको साथै नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ । अहिले अभियानमा एकजना संयोजक र बाँकी सबैजना केन्द्रीय सदस्य रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप