पोखरीको विषयलाई लिएर विवाद, प्रहरीले मुद्दा दर्ता गर्न नमानेको आरोप
धनुषामा पोखरीको विषयलाई लिएर दुई पक्षबीच कुटपिट हुँदा एक जना घाइते भएको विषय चर्किँदै गएको छ । सो घटनालाई लिएर प्रहरीमा ज्यान मार्ने प्रयासको मुद्दा दर्ता गराउन जाँदा जिल्ला प्रहरी कार्यालय धनुषाले दर्ता गर्न नमानेको आरोप एउटा पक्षले लगाएको छ ।
धनुषाको विदेह नगरपालिका–९ स्थित ईटहर्वाका विन्देश्वर सिंहले आफूलाई ज्यानै मार्ने गरी कुटपिट गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले विपक्षीसँग मिलेर मुद्दा दर्ता गर्न नमानेको आरोप लगाएका हुन् ।
पीडित भनिएका विन्देश्वर सिंहले स्थानीय केही व्यक्तिले आफ्नो जग्गा कब्जा गर्न खोजेपछि रोक्न जाने क्रममा आफूमाथि साङ्घातिक आक्रमण भएको बताए । ती व्यक्तिलाई मेयर बेचन दासले संरक्षण गरेको उनको आरोप छ ।
स्थानीय एक पोखरी र सो पोखरीको डिलमा मन्दिर तथा घर बनाउने क्रममा भएको विवादमा फागुन ७ गते दुई पक्षबीच कुटाकुट भएको थियो । सो क्रममा विन्देश्वर सिंह घाइते भएका थिए । घाइतेपछि दुवै पक्षबीच सहमति भए पनि चित्त नबुझेपछि सिंह पक्षकाले ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता गर्न धनुषा प्रहरीलाई दबाब दिँदै आएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले घटनाको प्रकृति र अस्पतालको रिपोर्ट अनुसार घाउखत देखिएकाले घाउखतको मुद्दा दर्ता हुनुपर्ने हो, तर ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्न खोजेपछि कानुन बमोजिम नमिल्ने भएकाले हालसम्म दर्ता नगरिएको बताए ।
उनले घाउखत सम्बन्धी निवेदन लिएर आएमा जिप्रका धनुषाले कानुन बमोजिम दर्ता गर्ने जानकारी दिए । प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘यो विवाद आजको होइन, वर्षौदेखि चल्दै आएको र पटक पटक दुवै पक्षबीच सहमति भएको हो । अदालतमा मुद्दा समेत चलिरहेको छ । कुटपिट घटनाको अघि र दुई÷तीन दिनपछि समेत दुवै पक्षबीच सहमति भएको थियो ।’
सिंह पक्षले सहमति भएको चार÷पाँच दिनपछि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्न निवेदन लिएर आएको तर आफूहरुले घाउखतको निवेदन लिएर आउन भनेको उनको भनाइ छ ।
उनले भने, ‘साविकदेखि सार्वजनिक जग्गामा रहेका ती पोखरी र त्यसको डिल सिंह परिवारले आफ्नो पुर्वजको रहेको भनी उपभोग गर्दै आएको थियो । तर स्थानीय तह गठन भएपछि नगरपालिकाले सो पोखरीलाई सार्वजनिक कायम गरी आफ्नो मातहतमा लिएर ठेक्का पट्टा लगाउन थाल्यो ।’
पोखरीको डिलमा नगरपालिकाको सहयोगमा स्थानीय केही व्यक्तिले एक मन्दिर निर्माण गरिरहेका छन् । सो मन्दिर सिंह परिवारले भत्काउन खोज्दा धनुषा अदालतले मन्दिर नभत्काउन अन्तरिम आदेश समेत जारी गरिसकेको छ । तर सिंह परिवारले मन्दिरको निर्माण कार्य रोक्न खोज्दा पटक पटक उपभोक्ता समितिका व्यक्ति सहित स्थानीयसँग विवाद हुँदै आएको छ । सोही क्रममा फागुन ७ गतेका दिन कुटपिट पनि भएको प्रहरीको भनाइ छ ।
स्थानीयका अनुसार उक्त पोखरी सार्वजनिक सम्पत्ति हो । केही दशक अघि सिंह परिवारले सो पोखरी आफ्नो पूर्वजको रहेको भन्दै त्यसको डिलमा संरचना निर्माण गरी उपभोग गर्न थालेको स्थानीयवासीको भनाइ छ ।
तर सिंह परिवारले २०२५÷२६ सालको सर्भे नापी अनुसार सो पोखरीको जग्गा आफ्ना हजुरबुबा बच्चा सिंहको नाममा कायम भएको र आफ्नो उपभोगका लागि पोखरी बनाएको दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस