सिङ्गो एनआरएनए एकै ठाउँमा उभियो : महासचिव पौडेल
गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.केशव पौडेलले एनआरएनएमा तीन जना अध्यक्षको सहकार्यमा नेतृत्व सुचारु हुन लागेकोप्रति कतिपयले पदको लागि सहकार्य गरेको भन्ने आरोप लगाएको भनेपनि त्यो सत्य नभएको बताए । संस्थाले गैरआवासीय नेपालीहरूका समस्या समाधानका लागि सामूहिक सहमतिको नेतृत्व चयन गरेको महासचिव पौडेलले दाबी गरेका हुन् ।
महासचिव पौडेलले भने, ‘हामी बीचमा समस्या थिए । यो पदकै लागि हो कि भन्ने पनि देखिन्छ । समस्या अझै पनि छन् । त्यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ र स्वीकार गरेका पनि छौँ । समस्यालाई स्वीकार गरेपछि समाधान कसरी गर्ने भन्ने कुरामा पनि छलफल भयो । हामीलाई धेरै बाधा अड्चन आएको बेलामा समस्या समाधानका लागि सामूहिक सहमतिमा समस्या समाधान हुन्छ भने हामीले गरौँ भनेर गरेको हो । हामीले राजनीतिक दलहरूमा यो कुरा देखिसकेका छौँ । तर हाम्रो प्रयास यो संस्थालाई एकताबद्ध बनाएर संस्थालाई संस्थागत बनाउने र पारदर्शी बनाउने हाम्रो मुख्य योजना छ । नेतृत्वमा को बस्यो भन्दा पनि सिङ्गो एनआरएन एकै ठाउँमा उभियो भन्ने कुरा देखाउनका लागि महत्त्वपूर्ण थियो । अहिले भएको सामूहिक समझदारीले आउने दिनमा यसको भविष्य उज्ज्वल बनाउनेछ ।’
एनआरएनएको सामूहिक नेतृत्वले गैरआवासीय नेपालीका समस्या समाधान गर्ने दाबी गरे । महासचिव पौडेलले संघमा केही समस्या समाधान भइसके पनि अहिले धेरै समस्या रहेको भन्दै त्यसलाई छलफलबाट टुङ्ग्याएर अघि बढ्नुपर्ने पनि जिकिर गरे ।
पौडेलले संघमा राजनीतिक चलखेल नभएको पनि दाबी गरेका छन् । महासचिव पौडेलले राजनीतिक दल वा संघ–संस्थासँग छलफल गर्दैमा संघमा राजनीति छिरेको भन्न नमिल्ने बताएका हुन् । उनले सबै राजनीतिक दल, सरकार र संघ–संस्थाहरुसँग छलफल गरेर आगामी दिनमा गैर आवासीय नेपाली संघलाई अघि बढाउने पनि बताए ।
महासचिव पौडेलले गैरआवासीय नेपालीहरूले नेपालमा धेरै क्षेत्रमा लगानी गरिरहे पनि त्यसको आवश्यक प्रचारप्रसार हुन नसकेको बताउँदै आवश्यक क्षेत्रमा अझै पनि गर्नुपर्ने जति लगानी गर्न नसकेको पनि स्पष्ट पारे ।