बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरबाट रेल चढेर भारत जान परिचयपत्र अनिवार्य

नेपाल–भारतका प्रधानमन्त्रीले उद्घाटन गर्ने रेल्वेको यस्तो छ सञ्चालन तयारी
शुक्रबार, १८ चैत २०७८, १२ : ५७
शुक्रबार, १८ चैत २०७८

औपचारिक रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भएपछि यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने भएको छ । नेपाल र भारतका प्रधानमन्त्री शनिबार दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने  कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट शनिबार गर्न लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

रेल उद्घाटन भएर सञ्चालनमा आएपछि रेलमा भारतसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राख्नुपर्ने गरी नियम बनाइएको छ ।  सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने हुन्छ ।

नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भएपनि हुने झाले जानकारी दिए ।  यस्तै आकस्मिक प्रवेशका महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटो सहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।  त्यस्तै १० देखि १८ वर्ष उमेर मुनिका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने झाले बताए ।

उद्घाटनको सबै तयारी पुरा

शनिवार १२ बजेदेखि १२ : ३० बजेसम्म रेल्वे उद्घाटनको समय तालिका रहेको छ । त्यसका लागि आवश्यक तयारी लगभग पुरा भएको छ ।  झाका अनुसार जनकपुर रेल्वे स्टेशनमा मञ्च निर्माण गरिँदैछ । जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ । दुबै देशका प्रधानमन्त्रीले रेल्वे उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ ।

प्रत्येक स्टेशनमा बालबालिका तथा छात्रछात्राले नेपाल–भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन् ।  यस्तै हल्ट स्टेसनमा स्वागत तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । स्वागतका लागि बसेकालाई समेत सो रेलमा चढाएर कुर्थासम्म लगिने छ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसमेत रेलमा चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम हुने कार्यतालिका रहेको छ ।

मन्त्री यादवले रेल संचालन भएपछि धनुषालगायत सो क्षेत्रका स्थानीयवासीको जीवनस्तरमा सहजता आउनुका साथै यातायातमा पनि सहजता हुने बताइन् ।  गत फागुन १ देखि नै जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रु बिनाको) रेल दैनिक एक पटक सञ्चालन हुँदै आएको थियो ।

रेल स्टेशन सजाउँदै

झाका अनुसार रेल्वे स्टेशन सजाउने कार्य अन्तिम चरणमा छ । उद्घाटनस्थल जयनगरदेखि जनकपुरमा समेत भब्यरुपमा पण्डाल तथा मञ्च निर्माणलगायतका कार्य भईरहेको छ । भारतको जय नगरदेखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल साढे १२ बजे जयनगरबाट चल्ने महाप्रबन्धक झाले बताए ।

झाका अनुसार आइतबारदेखि नियमित दिनको दुई पटक रेल ओहोरदोहोर गर्ने बताए । रेल हरेक दिन बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्ने छ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि निस्कने छ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए ।

जयनगर गएको रेल पुन ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी तालिका निर्धारण गरिएको महाप्रबन्धक झाले बताए । उनले यसरी नै रेल्वे नियमित रुपमा सञ्चालन हुने बताए । नेपाल सरकारले खरिद गरेको दुई सेट रेल फागुन १ गते देखि ‘ड्राई रन’ गर्दै आएको थियो ।  सुरुमा दिनहुँ एक पटक चलाए पनि चैतदेखि एकदिन छाडेर यात्रु विना सञ्चालन हुँदै आएको थियो ।

१९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लग्नका लागि रेल्वे लाइन विस्तार गरेको थियो। त्योबेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । पछि भारत सरकारले १८ वटा बगी सहित वाष्प इन्जिन सहयोग गरेको थियो । २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल संचालनमा आएको थियो । २०६१ माघदेखि भने रेल बन्द भएको थियो।

अहिले रेल नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । त्यसअनुसार, तयारी गरिएको छ। पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप