जनकपुरधाम-ढल्केवर ६ लेन सडकमा प्रहरी चौकी तगारो !
धनुषाको जटही–जनकपुरधाम–ढल्केवरसम्म ६ लेन व्यापारिक मार्ग सडकखण्डको विस्तार करिब करिब टुंगिए पनि ठाउँठाउँमा सडक विस्तारकै अनुभूति गर्न नसकिने अवस्था छ । सवारी चाप बढेपछि सरकारले व्यापारिक मार्गको रुपमा सडक विस्तारको आयोजना अघि बढाएको थियो । तर ठाउँठाउँमा सडक विस्तारले पूर्णता पाउन सकेको छैन ।
४० मिलोमिटर लामो सडकमध्ये ३२.५ किलोमिटर कालोपत्रे भइसकेको छ । केही पुल पुलेसा र जनकपुरधाम नगरभित्रको सडक निर्माण हुँदैछ । यस आयोजनाले भारतको पिपरौन नाकादेखि जटही हुँदै पूर्व–पश्चिम राजमार्ग जोडेको छ । यो सडक व्यापारिक क्षेत्रमा ५० र गाउँघरमा ३७.५ मिटर चौडा छ ।
तर जनकपुरधामको प्रवेश नाकाको रुपमा रहेको मुजेलियास्थित प्रहरी कार्यालय अगाडि सडक विस्तार हुन सकेको छैन । परिणामस्वरुप ढल्केवरतर्फबाट जनकपुर जाने सवारी साधनका लागि प्रहरी कार्यालय अगाडि एक लेनमात्र सडक छ ।
दुई लेन सडकलाई ६ लेनमा विस्तार गरिए पनि मुजेलिया प्रहरी चौकी अगाडि ढल्केवरतर्फबाट जनकपुर जाने सवारी साधनका लागि एक लेनमात्र उपलब्ध भएपछि सडक विस्तारको अनुभूति नै गर्न नसकिएको चालकहरु बताउँछन् । त्यहाँ सडकमै जोडिएर प्रहरी कार्यालय भवन रहेकाले सडक विस्तार हुन नसकेको हो ।
सो स्थानमा दिउँसो सवारी साधनको चाप हुने गर्दछ । अर्कोतिर पैदल यात्रीका लागिसमेत बाटो नहुँदा थप समस्या देखिन्छ । सो रुटमा दैनिक मोटरसाइकल चलाउने स्थानीय जागेश्वर यादवले अन्यत्र सडक विस्तार भए पनि मुजेलियास्थित प्रहरी चौकी अगाडि साँघुरो र कच्ची सडक प्रयोग गर्नुपर्दा सडक विस्तारकै अनुभूति गर्न नपाएको बताए । उनले भने, ‘प्रहरी चौकी रहेकै कारणले सो स्थानमा सडक विस्तार हुन नसकेको हो ।’
जनकपुरधाम–ढल्केवर सडक निर्माण तथा विस्तारको क्रममा मुजेलिया प्रहरी चौकी स्थानान्तरण हुन नसक्दा सडक विस्तारमा अवरोध भएको स्थानीयवासी बताउँछन् । तर जिल्ला प्रशासन कार्यालय धनुषा भने सडक निर्माण तथा विस्तारका लागि प्रहरी चौकी बाधक नभएको बताउँछ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रहरी चौकी सडक विस्तारमा बाधक नरहेको बताए । उनले प्रदेश प्रहरी कार्यालय मार्फत मुजेलियामै प्रहरी चौकीको भवन निर्माण भइसकेको भन्दै प्रहरीबाट कुनै पनि किसिमको समस्या नरहेको बताए । यद्यपि, प्रहरी चौकीकै अगाडि सडक विस्तार किन हुन सकेन भनेर न त ठेकेदार कम्पनीले औपचारिक रुपमा केही बताएको छ, न त सरकारी निकायले नै चित्तबुझ्दो जवाफ दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार ठेकेदारलाई सो प्रहरी चौकी हटाउन भनिसकेको अवस्था छ र जतिसक्दो चाँडो सडक विस्तार गर्न पनि निर्देशन दिइसकिएको छ । उनले प्रहरी कार्यालय सडक विस्तारका लागि बाधक नभएको बताए पनि प्रहरी चौकीभन्दा उत्तरतर्फ र दक्षिणतर्फ ६ लेन सडक विस्तार हुँदा प्रहरी चौकीकै सामुन्ने किन विस्तार हुन सकेन भन्ने प्रश्न अनुत्तरित छ ।
सडक विस्तारको क्रम करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको सडक विभागले जनाएको छ । जनकपुर परिक्रमा सडक, व्यापारिक मार्ग (सिक्स लेन) को जनकपुर कार्यालयका प्रमुख रामटहल यादवले पनि सडक निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । उनले जटही–जनकपुरधाम–ढल्केवर सडकखण्डमा पुलपुलेसा निर्माणको काम ६० प्रतिशत सम्पन्न भईसकेको बताए । जनकपुरधाम नगरभित्रको राजमार्ग र केही छिटफुट सडक मात्रै निर्माण गर्न बाँकी रहेको बताए ।
जनकपुरधाम नगरभित्रको सडकपनि निर्माण कार्य अघि बढेको बताउँदै छिट्टै सम्पन्न हुने उनले जानकारी दिए । ६ लेन सडक निर्माणको कार्य २०७२ मा सुरु भएको हो । ५ वर्षसम्ममा सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारण देखाउँदै यसको म्याद एक वर्ष थपियो । यही असार मसान्तसम्ममा सो सडकखण्ड निर्माणको कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।
४० प्रतिशत पुलको काम बाँकी रहेकाले सडक विभागले संघीय सरकारको भौतिक तथा यातायात व्यवस्था मन्त्रालयमा म्याद थपका लागि लविङ गर्न थालेको छ । यता ठेकेदारले थप रकम नपाउँदा सडक विस्तारलगायतका कार्यमा प्राविधिक समस्या उत्पन्न हुन आएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सो सडक निर्माण भएपछि जटहीदेखि ढल्केवरबीच तीव्र औद्योगिक विकास हुने उद्योग वाणिज्य संघ मधेस प्रदेशका संस्थापक अध्यक्ष शिवशंकर साहले बताए । भारतको विहार प्रान्तको मधुुवनी जिल्लास्थित पिपरौन नाकादेखि सीमावर्ती जटही हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने जटही–जनकपुरधाम–ढल्केवर ४० किलोमिटर ६ लेनको सडक पूर्ण रुपमा तयार भएपछि यो रुटमा सवारी जामको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३२ केभीए प्रसारण लाइन : ३ वटा टावर निर्माणको विवाद अझै सुल्झिएन
-
‘रंगी’ फागुन २ गतेबाट प्रदर्शनमा आउने
-
वनकट्टा शान्ति सङ्ग्रहालय पालिकालाई हस्तान्तरण
-
आँधीखोला तर्न फट्केको भर
-
भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
-
फाइनलमा पुग्ने भिडन्त : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर आमनेसामने