आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा पार्टी प्रवेशमार्फत अन्य दललाई मनोवैज्ञानिक दबाब दिँदै एमाले

कुन दलको अवस्था कस्तो ?
शुक्रबार, १८ चैत २०७८, ०७ : २९
शुक्रबार, १८ चैत २०७८

संघीय सांसददेखि प्रदेशका पूर्वमन्त्रीहरुलाई समेत पार्टीमा प्रवेश गराउँदै एमाले अध्यक्ष केपी शर्माले केही दिनअघि कपिलवस्तु जिल्ला एमालेको किल्ला भएको घोषणा गरे । त्यो घोषणाले एमालेका कार्यकर्ताहरु हौसिएका छन् भने अन्य दललाई सतर्क बनाएको छ ।

नेपाली काँग्रेस, मधेसवादी र एमालेको समान खालको जनाधार रहेको कपिलवस्तुमा माओवादी केन्द्रको पनि पकड देखिन्छ । तर पछिल्लो समय एकपछि अर्को ठुला नेता सयौंको संख्यामा समर्थकसहित एमालेमा प्रवेश गरेपछि अन्य दलको शक्ति कमजोर बन्दै गएको अनुमान गर्नेहरु धेरै छन् ।

दुई महिना अगाडि समाजसेवी मंगलप्रसाद थारुलाई एमालेमा प्रवेश गराएका ओलीले पछिल्लो समय संघीय सांसद वृजेशकुमार गुप्ता, अन्य दलका नेता तथा जनप्रतिनिधिलाई पार्टी प्रवेश गराएका हुन् । त्यसैले एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कस्तो नतिजा ल्याउला र अन्य पार्टीको कस्तो अवस्था रहला भन्नेमा धेरैले चासो राखेका छन् ।

विगतमा यो जिल्लाबाट २ प्रदेशसभा सदस्य र २ स्थानीय तहमा जितेको एमाले पछिल्लो समय विभाजित भइसकेको छ । माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट बाहिरिएको समूहले नयाँ दलका रुपमा नेकपा एकीकृत समाजवादी गठन गरेको छ । त्यसैले अघिल्लो निर्वाचनको तुलनामा पार्टी विभाजनका कारण पनि एमालेको शक्तिमा केही ह्रास आएको जानकारहरु बताउँछन् ।

एमालेको शक्तिमा आएको सोही ह्रास मेट्नका लागि चुनावको मुखमा एमालेले पार्टी प्रवेशको लहर देखाउन विभिन्न जिल्लामा गतिविधि बढाएको उनीहरुको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ता तथा काँग्रेसका प्रभावशाली स्थानीय नेता कुनाल प्रताप शाह, प्रदेशसभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव सहित क्षेत्र नम्बर १ र २ बाट विभिन्न दलका धेरै अगुवा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । समाजसेवी मंगलप्रसाद गुप्तासहित चार हजारभन्दा बढीलाई पार्टीमा प्रवेश गराउन तीन महिना अघि ओली कपिलवस्तु आएका थिए ।

दल फेर्नेहरुको स्थायित्वमै शंका

कपिलबस्तुमा एउटा दल छाडेर अर्को दलमा प्रवेश गर्ने नेता–कार्यकर्ताको संख्या अन्य जिल्लाको तुलनामा बढी नै हुने गरेको छ । संघीय समाजवादी फोरमबाट संघीय सांसदमा निर्वाचित अभिषेक प्रताप शाह दुई वर्षअघि नेपाली काँग्रेसमा प्रवेश गरे । सूर्य चिन्ह लिएर चुनावी मैदानमा गएर जित हासिल गरेका बृजेश कुमार गुप्ता अहिले एमालेमा प्रवेश गरे ।

लामो समय नेपाली काँग्रेसमा आवद्ध रहेर राजनीति गरेका दृगनारायाण पाण्डेले अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट नपाएपछि एमालेमा प्रवेश गरी चुनाव जितेका थिए । तर दुई वर्षपछि फेरि पार्टी फेरेर उनी लुम्बिनी प्रदेशसभा सदस्यबाट समेत राजीनामा दिँदै नेपाली काँग्रेसमै प्रवेश गरे । उनलाई नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य बनाएको छ ।

यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह हालै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यसरी आफ्नो राजनीतिक स्वार्थका लागि दल बदल्ने नेता–कार्यकर्ताको संख्या धेरै देखिन्छ । उनीहरु एउटै पार्टीमा टिकिरहन्छन् भन्ने भर नहुने राजनीतिक विश्लेषक मनिकर कार्की बताउँछन् ।

विगतलाई फर्केर हेर्दा

अघिल्लो निर्वाचनमा कपिलवस्तुमा ३ वटा संघीय संसदीय क्षेत्रमध्ये एमालेले एउटामा पनि जित हासिल गरेको छैन । ६ वटा प्रदेशसभा सिटमध्ये २ वटामा एमालेले जितेको छ । स्थानीय तहमा नेपाली काँग्रेस ६, एमाले दुई र संघीय समाजवादीले दुई पालिकामा जित हासिल गरेका थिए ।

अघिल्लो निर्वाचनमा कुन पालिकामा कसको मत कति ?

१. कपिलवस्तु नगरपालिका– काँग्रेस (९,२५४), स्वतन्त्र (५,६३१), संघीय समाजवादी (४,०५४)

२. कृष्णनगर नगरपालिका– स्वतन्त्र (७,१७८), माओवादी (३,०८०), राप्रपा (२,४३०)

३. बाणगंगा नगरपालिका– काँग्रेस (१५,७३८), एमाले (१५,२७८), जनमोर्चा (४०४)

४. बुद्धभूमि नगरपालिका– काँग्रेस (१०,०६३), एमाले (९,९२६), संघीय समाजवादी (१,७८२), माओवादी (१,५६३)

५. महाराजगंज नगरपालिका– काँग्रेस (७,७२४), स्वतन्त्र (६,७४५), राप्रपा (७४९)

६. मायादेवी गाउँपालिका– संघीय समाजवादी (४,७११), काँग्रेस (३,३५२), मधेसी जनअधिकार फोरम (१,९५८)

७. यसोधरा गाउँपालिका– काँग्रेस (३,२७५), स्वतन्त्र (३,१५५), नयाँ शक्ति (२,२०३)

८. विजयनगर गाउँपालिका– एमाले (३,५१२), स्वतन्त्र (३,२८४), स्वतन्त्र (१,६०५)

९. शिवराज नगरपालिका– एमाले (६,१५५), संघीय समाजवादी (४,७६२), राप्रपा (२,६७१)

१०. शुद्धोधन गाउँपालिका– स्वतन्त्र (१,८३७), स्वतन्त्र (१,७६३), मधेसी जनअधिकार (१,७३८)

एमालेको दाबी

कपिलवस्तुमा एमालेको पकड बढ्दै गएको कपिलबस्तु क्षेत्र नं. १ का सांसद विष्णु पन्थीले रातोपाटीलाई बताए । पछिल्ला दिनमा एमाले प्रवेशमा देखिएको लहरले पनि त्यसलाई पुष्टि गरेको उनको भनाइ छ ।

स्थानीय तहमा एमालेको जित दरलाई बढाउन पार्टीपंक्तिले ध्यान केन्द्रित गरेको उनले बताए । एमाले संगठित पार्टी भएकाले यसका गतिविधिहरु तीव्र पार्दै निर्वाचन लक्षित काम गर्ने उनको भनाइ छ ।

उनले कपिलबस्तुमा विजय नगर र शिवराज नगरपालिकामा एमाले बलियो देखिएको भन्दै यसअघि जितेका स्थानीय तहलाई कायम राख्दै मायादेवी, कृष्णनगर, वाणगंगा, बुद्धभूमिमा पनि जित्ने गरी गतिविधि बढाएको बताए ।

स्थानीय तहमात्रै होइन, अब कपिलबस्तुमा प्रदेश र संघीय निर्वाचनमा पनि धेरै सिट आउने गरी पार्टी बलियो भएको उनको दाबी छ । ‘जहाँ कमजोर थियो, त्यहाँ अहिले बलियो बनाउन थालेका छौँ,’ उनले भने, ‘हालै पार्टीमा आएका साथीहरु एकसे एक हस्ती हुनुहुन्छ, त्यस कारण कपिलबस्तु एमाले किल्ला बन्ने छ ।’

अन्य दलहरुको यस्तो रणनीति

जिल्लाका अधिकांश स्थानीय तह जितेको नेपाली काँग्रेसलाई आफ्नो वर्चश्व जोगाउन चुनौती बढेको छ । १० वटा स्थानीय तहमध्ये ६ वटा जितेको काँग्रेसलाई पछिल्ला दिनमा एमाले प्रवेशमा देखिएको जनलहरले मनोवैज्ञानिक दबाब स्वाभाविक रुपमा थपेको छ ।

कपिलबस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा चुनाव जितेका रजत प्रताप शाह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनको प्रवेशले काँग्रेसलाई राहत मिल्न सक्छ तर अन्य पालिकामा के हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।

अघिल्लो निर्वाचनमा कपिलवस्तुका पालिकामध्ये एमालेले शिवराज र विजयनगरमा, फोरमले मायादेवी र शुद्धोधनमा जितेका थिए भने बाँकी सबैमा नेपाली काँग्रेसले जितेको थियो ।

नेपाली काँग्रेसशअ लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज अर्यालले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण सुनेर नेपाली काँग्रेसका कार्यकर्ताहरु नतर्सिने बताए । उनले विगतमा अन्य पार्टीबाट नेपाली काँग्रेसमा पटक पटक प्रवेश गराएको स्मरण गर्दै नेपाली काँग्रेसलाई कुनै अप्ठ्यारो नरहेको दाबी गरे ।

सूर्य चुनाव चिह्न लिएरै चुनाव लडेका संघीय सांसद वृजेशकुमार गुप्तालाई एमालेमा प्रवेश गराउनु काँग्रेसका लागि कुनै चुनौती नभएको उनको भनाइ छ । ‘उहाँ (गुप्ता)ले एमालेकै चुनाव चिह्न लिएर जित्नुभएको हो, एमालेकै कार्यकर्ताको मतबाट जित्नुभएको हो,’ उनले भने, ‘उहाँ एमालेकै हुनुहुन्थ्यो, एमालेमा अहिले औपचारिक रुपमा प्रवेश गरेको मात्र हो ।’

विगतमा नेपाली काँग्रेसले जितेका स्थानीय तह सुरक्षित राख्ने र थप स्थानीय तहमा जित हासिल गर्न अन्य दलसँग गठबन्धनका लागि छलफल चलाएको उनले बताए ।

कपिलवस्तुमा जसपा नेपालको पनि राम्रै प्रभाव छ । जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जिल्लाका ७ वटा स्थानीय तहमा एक्लै चुनावमा गए पनि आफ्नो पार्टीले कडा प्रतिस्पर्धा गर्नसक्ने बताए । उनले विगतमा जितेका शुद्धोधन र मायादेवी गाउँपालिकामा पकड कायम राख्दै अन्य ५ वटा स्थानीय तहमा जसपा नेपालले कडा टक्कर दिन सक्ने बताए ।

एमालेकै मतबाट जितेका र एमालेकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका जनप्रतिनिधिलाई एमालेमा प्रवेश गराउनु नौलो कुरा नभएको उनको भनाइ छ ।

कपिलवस्तुका स्थानीय तहमा माओवादी केन्द्र तुलनात्मक रुपमा कमजोर छ । क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय नेता समेत रहेका चक्रपाणी खनालले संघीय निर्वाचन जिते पनि अन्य स्थानीय तहमा माओवादी केन्द्रको अवस्था कमजोर पाइएको छ । माओवादी केन्द्रका नेताहरु संगठन बलियो बनाउने पक्षमा आफूले निरन्तर काम गरिहेको दाबी गर्दछन् ।

माओवादी केन्द्रका कपिलवस्तु जिल्ला अध्यक्ष रामचन्द्र शाह (विष्णु)ले एमालेमा अहिले प्रवेश गरेका जनप्रतिनिधिको कुनै अर्थ नरहेको बताए । उनले माओवादी केन्द्र अघिल्लो निर्वाचनको तुलनामा बलियो भइसकेको भन्दै पुरानो जनमतका आधारमा मूल्यांकन गर्न कठिन हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप