बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाबाट निकाल्ने षडयन्त्र भएपछि बाहिरिएको हुँ : कमल थापा

बिहीबार, १७ चैत २०७८, २१ : ३६
बिहीबार, १७ चैत २०७८

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् । आज गृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरै नै माया गरेको बताए ।

‘मकवानपुरका दाजुभाई तथा दिदीबहिनीहरु । तपाईंहरुले मलाई धेरै माया गर्नुभएको छ । मेरो राजनीतिक जीवनको उकाली ओरालीमा हरेक संकट र चुनौतीको घटनामा तपाईंहरुले मलाई अपार स्नेह माया र स्वभाव दिनुभएको छ’ अध्यक्ष थापाले भने, ‘चुनावमा हारजित आफ्नो ठाउँमा छ । तर मकवानपुरका दाजुभाई तथा दिदी बहिनीहरूको माया मैले जीवनभर बिर्सिन सक्दिन ।’

उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएको संकटबाट राजनीतिक जीवनबाट टाढिन नसकेको बताए । उनले आफु ५० वर्षदेखि राजनीतिक जीवनमा र ४ दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउँदै हालसम्म शिर ठाडो राखेर उभिन सक्नुमा मकवानपुरको अविचलित माया रहेको बताए ।

‘कमल थापालाई राजनीतिक रुपमा प्रहार गरेर घाइते बनाइएको छ । यो अवस्थामा त्यो घाउमा नुनचुक छर्कने हैन, हामीले अलिकति भएपनि मलम लगाइ दिनुपर्छ भन्ने असल मनसाय राखेर तपाईहरु आउनुभएको छ । तपाईंहरु सबैलाई फेरि पनि धन्यावाद दिन चाहान्छु ’ उनले भने ।

उनले मकवानपुरको दाजुभाइ दिदी बहिनीहरूको शिर निहुरिने गरेर कुनै खराब काम नगरेको बताए । अध्यक्ष थापाले आफूले गीताको कसम खाएर राप्रपा पार्टी फोरेर गएको भन्ने आरोप लागिरहेको बताए । उनले आफूले गीताको कसम खाएर कसम नतोडेको दाबी गरे ।

उनले राजेन्द्र लिङ्देनको राप्रपाबाट आफूमात्र अलग्गिएको बताए । ‘केही साथीहरुलाई कमल थापाले पार्टी फुटाउनु भो, नफुटाईदिएको भए बेस हुन्थो भन्ने लागेको रहेछ । कतिपयलाई सायद त्यो पनि लागेको होला । विगतमा पार्टी फुटाउदिन भनेर गिता छोयर कसम खानु भाथो । अहिले पार्टी फुटाइदिनुभयो । गीताको कसम तोड्नुभयो । भन्ने पनि मनमा लागिरहेको मैले पाएँ ।’  

उनले भने, ‘मैले पार्टी फुटाएको छैन् । करिब एक डेड महिना अगाडि यही सभाकक्षमा आएर मैले आफ्नो पीडा,दुःख तपाईहरु समक्ष व्यक्त गरे । र तपाईहरु सामुन्नेमा मैले ३० वर्ष काम गरेको राप्रपाबाट एक्लै एक्लै याद राख्नुस् एक्लै अलग भएको घोषणा गरे । मैले कोहि साथी लिएर पार्टीबाट अलग भएको हैन । मैले चाएको भए विधान बमोजिम राप्रपालाई विभाजन गर्नको निमित्त आवश्यक पर्ने संख्याका केन्द्रीय सदस्यहरु हाम्रो साथमा थिए । गएको महाधिवेशनमा ८० प्रतिशत हामीसँग सम्बन्धित केन्द्रीय सदस्यहरुले चुनाव जितेका छन् । हामीले चाहेको भए कानून बमोजिम नै दुईवटा पार्टीलाई अलग गर्न सक्थ्यौँ । केही साथीहरुले मलाई सल्लाह पनि दिएका थिए । मैले पार्टी फुटाउन सक्दिन, मिल्दैन भनें। मैले गीताको कसम खाएको छु,त्यो कसम म तोड्न सक्दिन ।’

उनले गीतामा भगवान कृष्णले अर्जुनलाई अन्यायसँग सम्झौता नगर, गलत प्रवृत्तिसँग सम्झौता नगर ,युद्ध गर, धनुष वाण उठाउ, म तिम्रो साथमा छु भनेको पटक–पटक स्मरण गर्दै त्यसको पालना गर्दै राप्रपाबाट अलग भएको बताए । उनले पार्टीको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो नाङ्गो हस्तक्षेप गरेको र पार्टीलाई त्यसबारे छानबिन गर्न पटक–पटक निवेदन गर्दा पनि सुनुवाई नभएपछि आफु राप्रपाबाट अलग हुनुपरेको दुःखेसो पोखे ।

उनले महाधिवेशनमा निर्मल निवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले लोकतन्त्र माथिनै खतराको संकेत देखिएको भन्दै अबको राप्रपा नेपालले राजतन्त्र पुनः स्थापनाको मुद्दा नबाक्ने बताए । उनले अबको राप्रपा नेपालले सबै धर्मलाई समेट्दै हिन्दु राष्ट्र पुनः स्थापनाको लागि अभियान सुरु गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप