देशको लागि ज्यान हाजिर छ, तर यस्तो गुण्डागर्दी ठिक छैन : अरविन्द केजरीवाल
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो घरमा भएको हमलापछि पहिलो पटक प्रतिक्रिया जनाएका छन् । उनले यस किसिमको हमलालाई ‘गुण्डागर्दी’ भनेका छन् । केजरीवालले एक कार्यक्रममा भने, ‘केजरीवाल महत्वपूर्ण होइन । म अत्यन्त सानो व्यक्ति हुँ । यस देशको सामान्य नागरिक हुँ । देशका लागि मेरो ज्यान पनि हाजिर छ । तर मलाई यस्तो लागेको छ कि यस किसिमको गुण्डागर्दीबाट देश अगाडि बढ्ने छैन ।’
यदि देशलाई अगाडि लैजानुछ र २१ औ शताब्दीको भारत बनाउनु छ भने आपसमा प्रेमका साथ मिलेर काम गर्नुपर्ने उनले बताए । तबमात्र देश अगाडि बढ्ने उनको भनाइ थियो । उनले भने, ‘७५ वर्ष हामीले देशलाई खराब बनायौं, फोहोरी राजनीति गर्यौं, आपसमा लड्यौँ, झगडा गर्यौं, मारपिट गर्यौं, गुण्डागर्दी गर्यौं । अब विश्वकै ठूलो पार्टी र देशको सत्ताधारी पार्टी राजधानी भित्रै गुण्डागर्दी गर्छ भने युवामाझ के सन्देश जान्छ ? एक सामान्य युवाले यही सही हो भन्ने सोच्छ । यसले फोहोरी सन्देश जान्छ । यस किसिमबाट देशको विकास हुँदैन ।’
बुधबार भारतीय जनता युवा मोर्चाले मुख्यमन्त्री केजरीवालको घर अगाडि कथित रुपमा विरोध प्रदर्शन गरेर तोडफोड गरेको थियो । युवा मोर्चाका प्रमुख र सांसद तेजस्वी सूर्याले द कश्मीर फाइल्स फिल्मको विषयमा अरविन्द केजरीवालको बयानका कारण यो विरोध प्रदर्शन गरिएको बताएका छन् ।
यो घटनापछि भारतीय जनता पार्टी र आम आदमी पार्टीबीच आरोप–प्रत्यारोप सुरु भएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भाजपामाथि मुख्यमन्त्री केजरीवाललाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए ।
यसैगरी तेजस्वी सूर्याले अरविन्द केजरीवालले कश्मिरी पण्डितको दुःखलाई मजाकमा उडाएको बताएका थिए । त्यसैले केजरीवालले माफी माग्नुपर्ने उनको भनाइ छ । प्रहरीले यो मामिलामा ८ जनालाई गिरफ्तार समेत गरेको छ ।