शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सरकारले सार्वजनिक यातायात भाडा १३ प्रतिशतसम्म बढायो, काठमाडौंमा नबढ्ने

बिहीबार, १७ चैत २०७८, १९ : २८
बिहीबार, १७ चैत २०७८

सरकारले सार्वजनिक यातायात भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो । इन्धन मूल्य बढेकाले सार्वजनिक यातायात भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिइरहेका थिए ।

एक प्रदेशबाट अर्को प्रदेशसम्म सवारी भर्ने यातायात भाडामात्रै बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भने यातायात भाडा बढाइएको छैन । विभागले आइतबारमात्रै विभिन्न रुटमा बढेको भाडादर सार्वजनिक गर्ने भएको छ ।

अब उप्रान्त इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढ्ने वा घट्ने भए स्वचालिन प्रणालीबमोजिम नै मूल्य समायोजन गर्ने पनि विभागले जनाएको छ । बढेको भाडा चैत २० गतेदेखि लागू हुनेछ ।

प्रदेश र जिल्लाभित्र चल्ने सवारीसाधनको भाडा भने सम्बन्धित सरकारले नै निर्णय गरेपछि मात्रै बढ्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार यातायात व्यवसायी र सरकारबीच आज भएको छलफलमा भाडा बढाउने सैद्धान्तिक सहमति भएको हो । यातायात व्यवस्था विभागले आइतबारमात्रै बढेको भाडादरबारे सूचना सार्वजनिक गर्ने भएको सिटौलाले बताए ।

यसअघि विभागले असार ३० गते यात्रुवाहक सवारी भाडा २८ प्रतिशतले बढाएको थियो । त्यसपछि प्रदेश सरकार र स्थानीय सरकारहरूले पनि सम्बन्धित क्षेत्रमा लागू हुनेगरी सार्वजनिक यातायात भाडा वृद्धि गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप